बुटवल -रुपन्देहीमा पछिल्लो ४ दिनमा प्रहरीले ५ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ। पक्राउ परेकाहरुमा जबरजस्ती करणी, बैंकिङ कशुर र लागूऔषध मुद्दाका रहेका छन्। जिल्ला अदालतबाट जबरजस्ती करणीको मुद्दामा १० वर्ष कैद फैसला भएका बुटवल ४ घर भइ नवलपरासी पूर्वको मध्यविन्दु १४ बस्ने ५८ वर्षिय पूर्णबहादुर पाण्डेलाई पक्राउ गरेको छ। उनलाई ११ वर्ष अघि अदालतले कैद फैसला सुनाएको थियो।
त्यस्तै बैंकिङ कशुर मुद्दाका बुटवल ८ का अशोककुमार शर्मा, तिलोत्तमा ५ का एक नारायण अर्याल र बुटवल १३ का शिवकुमार रणलाई प्रहरीले पक्राउ गरेको हो। शर्मालाई अदालतले ५ दिन कैद र १२ लाख रुपैया जरिवाना, अर्याललाई १५ दिन कैद र १४ लाख रुपैया जरिवाना र रणलाई १० दिन कैद र ३६ लाख रुपैया जरिवाना सुनाएको थियो।
यसैगरी ११ वर्ष अघि लागूऔषध मुद्दामा ५ वर्ष कैद र ५ हजार रुपैया जरिवाना तोकिएका फरार प्रतिवादी बुटवल १३ का विसन रानालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई जिल्ला अदालत रुपन्देहीमा कैद तथा जरिवाना भुक्तानको लागि बुझाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी सत्यनारायण थापाले जानकारी दिए ।