बुटवल - कोरोना संक्रमण र निषेधाज्ञाका कारण रोकिएका लामो दुरीका सार्वजनिक सवारी साधन चल्न सुरु गरेका छन् । नेपाल सरकारले लामो तथा मध्यम दुरीका सवारी पनि सञ्चालन गर्ने निर्णय गरेसँगै आइतबार तालिका निकालेरै बुटवलबाट विभिन्न ठाउँका लागि बसहरु छुटेका छन् । तर यात्रुहरु नहुँदा सडकमा गुड्ने गाडीको संख्या निकै कम छ।
बस व्यवसायी प्रालिहरुले सामान्य अवस्था भन्दा कम गाडीको तालिका बनाएर सार्वजनिक यातायातलाई नियमितता दिएका छन् । कोरोना महामारी अघिको सामान्य अवस्थामा पश्चिम नेपाल बस व्यवसायी प्राली अन्तर्गत बुटवल काठमाण्डौ रुटमा दैनिक २५ वटा दिवा सेवा र ३६ वटा रात्री सेवाका बसहरु चल्ने गर्दथे । तर आइतबार दिवा सेवामा १५ र रात्री सेवाका लागि २५ वटा बसको मात्र तालिका निकालिएको छ ।
यात्रुको अभावका कारण तालिका अनुसारका सबै गाडी चल्ने सम्भावना नभएको पश्चिम नेपाल बस व्यवसायी प्रालिका सञ्चालक तथा काठमाडौँ रुट संयोजक कृष्णप्रसाद पाण्डेले बताए। ‘पहिले प्रत्येक १० मिनेट जसोमा काठमाडौँको लागि गाडी छुट्थ्यो । अहिले १ घण्टाको अन्तर हुँदा पनि गाडीले यात्रु पाएका छैनन्।’ उनले भने ‘क्यु निस्केका मध्ये कति गाडी यात्रु नपाएर यहीँबाट हिड्दैनन्। थोरै यात्रु लिएर कतिपय गाडी काठमाडौँ पुग्दैनन्।’ काठमाडौँ हिडेका गाडीमा कावासोती, नारायणगढ लगायतका ठाउँका मध्यम दुरीका यात्रुहरु पनि हुन्छन्। ति यात्रु झरेपछि बाँकी रहेका काठमाडौँका यात्रुलाई अर्को गाडीमा सिफ्ट गरेर धेरै बसहरु फर्कने पाण्डेले बताए।‘डिलक्स र एसीका सबै गाडी काठमाडौँ नै पुग्छन्। त्यस बाहेकका सामान्य बस मिनिबस सबै नपुग्न सक्छन्।’ उनले भने ।
पहाडी जिल्लाहरुमा पनि बुटवलबाट नियमित भन्दा कम गाडी चलेका छन् । गुल्मी, अर्घाखाँची र पाल्पामा कोरोना अघिको सामान्य समयको तुलनामा ३० प्रतिसत मात्र गाडी चलेको पश्चिम नेपाल बस व्यवसायी प्रालिका अर्का सञ्चालक सुरेन्द्र श्रेष्ठले जानकारी दिए। ‘गुल्मीमा जोर विजोर कायमै रहेकाले क्यु निकालेका छैनौ। अर्घाखाँची र पाल्पाको रामपुरको लागि आजबाट क्यु निकालेर गाडी चलाएका छौं । उनले भने ‘नियमितको ३० प्रतिसत गाडी मात्र चलेका छन्।’ बुटवल पोखराको लागि भने तालिका निकालिएको छैन ।
पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधि खरेलले सबै तिर गरेर २५ देखी ३० प्रतिशत मात्र गाडीहरु चलेको बताए । बर्खा याम र संक्रमणको त्रास अझै भएकाले बसमा यात्रुहरु कम भएको उनले बताए । ‘मध्यबर्खाको समय यात्रु कम हुने बेला नै हो । त्यस बाहेक जरुरी काम परेमा मान्छे हिडेका छन्। साना तिना काम टेलिफोन र भर्चुअल माध्यमबाट गरिरहेका छन्’ खरेलले भने ‘सबै जनतामा खोपको पहुँच नहुँदासम्म यात्रुहरु बढ्न गाह्रै छ।’