वालिङ : वालिङ नगरपालिकामा फोहरमैला व्यवस्थापनका लागि हरित पुनःउत्थान प्रवद्र्धन परियोजना(पिजीआरपी) शुरु भएको छ ।
संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युनएडिपी) र वालिङ नगरपालिकाको आर्थिक सहयोग तथा दियालो संस्थाको सहजीकरणमा वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थामार्फत सो परियोजना शुरु भएको हो ।
विशेष गरी कोभिड– १९ बाट प्रभावित भई रोजगारी गुमाएकालाई ‘पोष्ट कोभिड’ कार्यक्रमअन्तर्गत सहजीकरण गर्ने, उद्यमशीलता, व्यवसाय प्रवद्र्धन तथा नवप्रवर्तन केन्द्रमार्फत नवउद्यमी एवं परियोजनाका लाभग्राहीलाई दीगो रुपमा उद्यमशीलताका क्षेत्रमा टिकाइ राख्नका लागि दीर्घकालीन योजना निर्माण गर्ने परियोजनाको उद्देश्य रहेको सहकारी संस्थाका अध्यक्ष यामबहादुर गुरुङले जानकारी दिए ।
यसैगरी फोहरमैला व्यवस्थापन केन्द्रमा प्लाष्टिक पुनःप्रयोग गर्ने, प्लाष्टिकका दाना बनाउने मेसिनद्वारा कार्य गर्ने, बायोग्यास प्लान्ट बनाउने, प्राङ्गारिक बिन एक हजार व्यक्तिलाई वितरण गर्ने, ग्रिनपार्क निर्माण गर्ने, सडकका छेउछाउ तथा बीच भागमा वृक्षरोपण गर्ने परियोजनाको उद्देश्य रहेको उनकाे भनाइ छ ।
परियोजनाले व्यावसायिक योजना निर्माणदेखि आर्थिक वचत तथा लगानीको संरक्षण गरी आर्थिक वृद्धि गर्ने कार्यमा सहजीकरण गर्ने लक्ष्य लिएको अध्यक्ष गुरुङले बताए ।
उनका अनुसार उत्पादित वस्तुको बजारीकरण, हाटबजार सञ्चालन, बीउबिजन वितरण, अर्गानिक खेती र यसको उत्पादन तथा बजारीकरणको काम गर्ने, वडा तहमा कलेक्सन सेन्टर सञ्चालन गर्ने, कुहिने र नकुहिने फोहरलाई सोहीअनुरुप सङ्कलन गरी त्यसको प्रभावकारी व्यवस्थापन गर्ने, आर्थिक उपार्जनमा सहयोग गर्ने तथा माग र आवश्यकताका आधारमा तालीम, प्रशिक्षण र अनुगमन गरिने छ ।
झण्डै १० महिना सञ्चालन हुने परियोजनाले लक्षित वर्गलाई रोजगारीको अवसर सिर्जना गर्नुका साथै फोहोरको व्यवस्थापन श्रोतबाट नै शुरु गर्नुपर्ने अवधारणालाई प्रवद्र्धन गर्ने नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।
यसका लागि घर, उद्योग, व्यवसाय तथा सङ्घ संस्थामा फोहोरको वर्गीकरण गर्ने प्रणालीको विकास गर्दै सङ्कलन, वर्गीकरण तथा विसर्जनमा लक्षित वर्गलाई सहभागी गराई रोजगारी सिर्जना गरिने उनकाे भनाइ छ ।
“परियोजनामार्फत १२५० जनालाई प्रत्यक्ष रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्य रहेको छ” नगर प्रमुख खाँणले भने, “यसका लागि कोभिड– १९ बाट प्रभावित भई रोजगारी गुमाएका व्यक्ति तथा उनका परिवार, जोखिममा रहेका समूह र विशेष गरी महिलालाई प्राथमिकतामा राखिएको छ ।”
यसका साथै २६० जनालाई गडयाैला मल बनाउने तालीम, २६० जनालाई गड्यौला मल बनाउने बिन वितरण र २६० जनालाई अर्गानिक फर्ममा तालीम प्रदान गर्ने परियोजनाको लक्ष्य रहेको उनले जानकारी दिए ।
वालिङ नगरपालिकाको रु तीन करोड १५ लाख ५६ हजार ६५ तथा युनडिपीको रु एक करोड ६३ लाख ७४ हजार गरी कूल रु चार करोड ९२ लाख १३ हजार १०७ लागत रहेको सो परियोजनाले पहिलो वर्षमा फोहरमैला व्यवस्थापनको जोखिमपूर्ण कार्यमा संलग्न करीब एक हजारलाई लक्षित गरेको उल्लेख गर्दै दियालो संस्थाका अध्यक्ष कविता तिवारीले सुरक्षित तथा व्यवस्थित तरिकाले फोहर सङ्कलन, वर्गीकरण, पुनःप्रयोग र विसर्जन गर्ने सीप सिकाइ प्रदान गरी उनीहरुलाई रोजगारीको अवसर प्रदान गर्ने जानकारी दिइन् ।
परियोजनाले व्यवस्थित फोहोर सङ्कलन तथा फोहर प्रशोधन केन्द्र स्थापनार्थ नगरपालिकालाई आर्थिक एवं प्राविधिक सहयोग प्रदान गर्ने अध्यक्ष तिवारीको भनाइ छ ।
युएनडिपीले नगरपालिकालाई कोभिड– १९ पश्चात हरित पुनःस्थापनसम्बन्धी योजनाको निर्माण र कार्यान्वयन गर्न टेवा पुर्याउने छ । “यस परियोजनाको सफल कार्यान्वयनका लागि स्थानीय सङ्घ संस्था, समुदाय र निजी क्षेत्रसँग सहकार्य गर्दै अगाडि बढ्छौं”, दियालोका अध्यक्ष तिवारीले भनिन्, “ यसले गर्दा स्थानीय स्वामित्वमा फोहरमैलाको व्यवस्थापन भई थप व्यवस्थित र दीगो हुनेछ ।”रासस