जाजरकाेट : सवारीसाधन चोरी, निकासी गरेर चलाउनेदेखि चालक अनुमतिपत्र नभएकाको मनोमानी गर्ने कार्य बन्द गर्न प्रहरीले आक्रमक रणनीति लिएको छ ।
छिमेकी जिल्ला डोल्पा, रुकुम पश्चिम, सुर्खेत र दैलेखमा जाजरकोट भएर सवारीसाधन आवतजावत् गर्ने भएपछि बदमासी गरेर सुरक्षित हुने स्थान बनाउँदा प्रहरीले नियन्त्रण गर्न रणनीति बनाएको नायब प्रहरी उपरीक्षक मधुकुमार थापाले जानकारी दिए ।
भेरी करिडोर भएर बाहिरी जिल्लाबाट सवारीसाधन चोरी निकासी गरेर जाजरकोट ल्याइ गाउँ–गाउँमा चलाउने क्रम बढेपछि प्रहरीले सो बदमासी नियन्त्रण गर्न अभियान चलाएको जिल्ला टा«फिक कार्यालयका प्रमुख लक्ष्मण विश्वकर्माले बताए ।
जिल्लाका नलगाड, छेडागाड, भेरी र शिवालय गाउँपालिकाभित्र पर्ने सडकमा गुड्ने यातायातका साधनमा कडा निगरानी बढाइएको विश्वकर्माले जानकारी दिए । मोटरसाइकलदेखि ठूला सवारीसाधनसम्म चोरी, पैठारी गरेर ल्याइ चलाइरहेको पाइएको उनले बताए ।
बदमासी रोकेपछि राजस्व दोब्बर
जिल्ला ट्राफिक प्रहरी कार्यालयले अघिल्लो वर्षको तुलनामा गत आवमा दोब्बर राजस्व सङ्कलन गरेको छ । ट्राफिक प्रहरीले मादकपदार्थ सेवन गरी सवारी चलाउने, सवारी चालन अनुमतिपत्र नभएका, आवश्यक कागजात नबोकेका, जथाभावी सवारी पार्किङ गर्ने र तोकिएको भन्दा बढी भाडा लिनेलाई कारवाही गरी राजस्व सङ्कलन गरेको हो ।
प्रहरीले आव २०७६/७७ मा रु १८ लाख ६९ हजार राजस्व सङ्कलन गरेको थियो । कार्यालयले आव २०७७/७८ मा रु ४० लाख ४० हजार राजस्व सङ्कलन गरेको छ । राजस्व उठाउने निकाय नभए पनि सवारी कारवाहीबापत सो रकम सङ्कलन भएको बताइएको छ ।
“सवारी नियम उलङ्घन गर्नेमाथि कारवाही गर्दा उक्त राजस्व सङ्कलन भएको हो”, टा«फिक कार्यालयका प्रमुख विश्वकर्माले भने, “कार्यालयले गत आवमा चार हजार ७५० सवारी साधनलाई कारवाही गरेको छ ।” रासस