भैरहवा - रुपन्देहीमा पछिल्लो ५ आर्थिक वर्षमा एक हजार ७२ जनाले आत्महत्या गरेका छन। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिएको तथ्याङक अनुसार वर्षेनी आत्महत्याको दर बढेको छ।
गत ५ आर्थिक वर्षको तथ्याङ्क हेर्दा आर्थिक वर्ष ०७६/०७७ मा सबैभन्दा बढी ३६५ जनाले आत्महत्या गरेका छन । त्यस्तै ०७३/०७४ मा १८१ जनाले, ०७४/०७५ मा २२७ जना, ०७५/०७६ मा ९५ जनाले आत्महत्या गरेको तथ्याङमा उल्लेख छ । पछिल्लो आर्थिक वर्ष २०७७/०७८ मा भने आत्महत्या गर्नेको संख्या कम भएको छ । यस वर्ष २०४ जनाले आत्महत्या गरेका छन।
आत्महत्या गर्ने मध्ये विवाहित ७११, अविवाहित ३५५, नखुलेको ६ जना रहेका छन। ती मध्ये सबैभन्दा बढी ६७ प्रतिशत झुन्डिएर, ३१ प्रतिशत विषादी प्रयोग गरि आत्महत्या गरेका छन । केहीले भने आगो लगाई, नदी पोखरी इत्यादि मा हामफाली, अन्य औजारको प्रयोग गरी तथा विधुतिय माध्यमबाट आत्महत्या गर्ने गरेको छन ।
आत्महत्या गर्ने धेरै १६ वर्षदेखि २५ वर्षसम्मका धेरै हुने गरेका छन् । यो उमेर समूहका ३६ प्रतिसत रहेका छन्। त्यस बाहेक १६ वर्ष भन्दा कम ६ प्रतिशत, २५ वर्षदेखि ४० वर्ष सम्म २७ प्रतिशत, ४० वर्ष देखि ६५ वर्ष सम्म २५ प्रतिशत र ६५ वर्ष वा सो भन्दा माथि ६ प्रतिशत रहेको देखिन्छ ।
आत्महत्या सँगसँगै रुपन्देहीमा घरेलु हिंसाको अवस्था पनि उस्तै छ । गत ५ वर्षमा घरेलु १ हजार ४५१ वटा घरेलु हिंसा भएको छ। आर्थिक वर्ष २०७५/०७६ मा सबैभन्दा बढी ४२९ हिंसाका घटनाहरू भएको छ । त्यस्तै ०७३/०७४ मा १९४, ०७४/०७५ मा २२५, ०७६/०७७ मा ३७८ वटा घरेलु हिंसा घटनाहरू भएको छ । यस्तै पछिल्लो अर्थिक वर्ष २०७७÷०७८ मा भने २२५ वटा मात्र घरेलु हिंसाको घटना भएको छ जुन अघिल्लो वर्ष भन्दा १ सय ५३ ले कम हो ।
कार्यालयले बढ्दो आत्महत्या तथा घरेलु हिंसा रोकथाम तथा नियन्त्रण गर्न तीनवृत अवधारण ल्याएको छ। बिहीबार जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्ला प्रशासन कार्यालय रुपन्देहीको सहजिकरणमा प्रमुख जिल्ला अधिकारी आस्मान तामाङग, कार्यालय प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार के.सी., रुपन्देही जिल्ला स्थित स्थानिय तहका प्रमुख, मनोचिकित्सक र पत्रकारहरुसँग आत्महत्या न्यूनिकरण कार्य योजनाबारे छलफल तथा अन्तरक्रिया गरेको थियो ।
कार्यक्रममा प्रहरी प्रमुख केसीले रुपन्देही जिल्लामा बिगत ५ बर्ष देखिको आत्महत्या सम्बन्धी तथ्याङक, अवस्था, आत्महत्या रोकथाम सम्बन्धी अल्पकालिन र दिर्घकालिन योजना प्रस्तुतिकरण गर्दै आत्महत्या न्यूनिकरण कार्ययोजना आइतारबाट कार्यान्वयन गरिने जानकारी दिएका छन ।
के हो तीनवृत अवधारणा
जिल्ला प्रहरी कार्यालय र मातहत रहेका निकायले कार्यान्वयन गर्ने गरी विभिन्न समयमा ८ बुदे कार्यक्रमको योजना नै ३ वृत्त अवधारणा हो। यसमा सुरुवात जिल्ला प्रहरी कार्यालयबाट आइतबारबाट हुदैछ, जसमा आत्महत्या तथा घरेलु हिंसा रोकथाम तथा नियन्त्रण कार्य योजना तीनवृत अनुशिक्षण हुनेछ ।
सर्वप्रथम कार्यालयले मातहत रहेका प्रहरी कार्यालयका ईन्चार्जहरुलाई अनुशिक्षण गरी सम्बन्धित प्रहरी कार्यालयका प्रहरी कर्मचारीहरुलाई तीनवृत म्याट्रिक्स भर्ने अनुशिक्षण संचालन गर्ने छन । त्यस्तै आत्महत्या प्रयासको विवरण र किट नाशक विष विक्रीको अभिलेखीकरण भदौ सम्म गरिने छ भने आत्महत्या तथा घरेलु हिंसा जोखिम मापन, आत्महत्या न्यूनीकरण पालिका समूह गठन र आत्महत्या जोखिम मापनको आधारमा सर्कल निर्माण असोज सम्मगर्ने योजना रहेको कार्यालयले जानकारी दिएको छ ।
यस पश्चात जोखिम समूह लाक्षित कार्यक्रम हुने छ जसमा स्थानीय पालिका, मानसिक स्वास्थ्यसँग सम्बन्धित विशेषज्ञ तथा अन्य सरोकारवालासँग परामर्श तथा छलफल गर्ने, ‘रातो वृत्त’ (रेड सर्कल)लाई पालिका, मानसिक स्वास्थ्यसँग सम्बन्धित विशेषज्ञ र प्रहरी सहितको टोलीबाट मासिक परामर्श सेवा सञ्चालन गर्ने र पहेँलो वृत्त’( पहेलो सर्कल )लाई प्रहरी र अन्य सरोकारवाला टोलीबाट मासिक छलफल, अन्तरक्रिया सञ्चालन गर्ने छन ।
आत्महत्या न्यूनिकरणसर्कलका मुख्य गतिविधि
रेड सर्कलमा हुने गतिविधिहरू
– प्रत्येक महिनाको पहिलो हप्ताको शनिवार कार्यक्रम हुने ।
– मासिक कार्यक्रममा मनोबलसम्बन्धीप्रस्तुतीकरण हुने (श्रव्यदृष्य सामाग्री) ।
– सहभागी रातो सर्कलका व्यक्तिहरूको हालको अवस्थाको बारेमा विवरण अद्यावधिक गरिने ।
– मानसिक स्वास्थ्य सम्बन्धी सामाग्री प्रस्तुत गरिने ।
– सहभागीहरूको सबै भन्दा दुखः लागेको समय बारेमा छोटो प्रस्तुति गरिने ।
पहेँलो सर्कलका गतिविधिहरूः–
– पहेँलो वृत्तमा निम्नानुसारका गतिविधिहरूहुनेछन् ।
– प्रत्येक २ महिनाको अन्तिम शनिवार कार्यक्रम हुने ।
– लागूऔषध विभिन्न रोगहरू र सामाजिक विकृतिविषयमाप्रस्तुतीकरण हुने (श्रव्यदृष्य सामाग्री) ।
– सामाजिक विकृति बिषयमासहभागिहरूबाटै आफ्नो बिचार व्यक्त गरिने ।
– पालिका स्तरमा भएको सामाजिक विकाससम्बन्धी कार्यक्रमको जानकारी गराइने ।
हरिया सर्कलको गतिबिधिमा समुदाय प्रहरी साझेदारीको बिभिन्न कार्यक्रमहरू संचालन गरिने ।
आत्महत्या न्यूनीकरण कार्ययोजना तीन वृत्त अवधारणाको कार्यान्वयनबाट रूपन्देही जिल्लाको आत्महत्याको बढ्दो क्रमलाई नियन्त्रण गरी आत्महत्या न्यूनीकरण गर्न सहयोग हुने अपेक्षा गरिएको छ । यस कार्य योजनाको कार्यान्वयनबाट दीर्घकालीन लक्ष्य सहितको योजना तयार गर्न विविध विषयवस्तुको पहिचान भई दिगो रूपमा आत्महत्या समस्या न्यूनीकरण हुने लक्ष्य राखिएको छ।