गोरखा :उत्तरी गोरखाको छेकम्पार र चुम्चेत पुग्ने झोलुङ्गे पुलमा पहिराले पूर्ण क्षति पुर्याएको छ । चुमनुबी गाउँपालिकाको वडा नं ६ चुम्चेतस्थित डुयुखोलामाथिको झोलुङ्गे पुल मङ्गलबार राति गएको पहिराले चुँडाएर क्षति पुर्याएको स्थानीयवासी सरोज लामाले जानकारी दिए ।
“झोलुङ्गे पुलमाथिबाट पहिरो खस्दा पुल पूरै चुँडिएको छ”, उनले भने, “अहिले पुलबाट मानिस आवाजजावत पूर्णरूपमा ठप्प भएको छ ।” झोलुङ्गे पुल पहिराले चुँडाएपछि खच्चडबाट सामान ढुवानीमा समस्या भएको लामाले बताए ।
उक्त पुल हुँदै चुमभ्यालीमा पर्ने छेकेम्पार र चुम्चेतका नागरिक आवतजावत गर्नुपर्ने हुन्छ । “मूलबाटोमा पर्ने डुयुखोलाको पुलको लठ्ठा पहिराले चुँडाएको छ”, उनले भने “मानिस घुमाउरो बाटो प्रयोग गरेर हिँडडुल गर्नसक्ने अवस्था रहेपछि साँघुरो बाटो भएकाले खच्चड ओहोरदोहोर गर्न सक्ने अवस्था छैन ।”
पुल चुँडिदा खाद्य सामग्री बोकेर गएका चार/पाँच समूह खच्चडबीच बाटोमा अलपत्र परेको लामाले बताए । “विभिन्न गु्रपमा खाद्य सामग्री बोकेर जाँदै गरेका करिब ४० भन्दा बढी खच्चडसमेत पुल पहिराले चुडाएपछि बीच बाटोमै रोकिएका छन्, सडक सञ्जाल नपुगेको यो क्षेत्रमा खच्चडबाहेक ढुवानीको अर्को विकल्प छैन ।”
पहिराले पुलमा क्षति पुर्याएपछि त्यस क्षेत्रका करिब १८ भन्दा बढी गाउँका मानिसलाई आवतजावतमा समस्या भएको बताइएको छ । उनीहरुले पुलको तत्काल मर्मतका लागि पहल गरिदिन समेत माग गरेका छन् । उक्त पुल कादुरी नेपाल नामक संस्थाको सहयोगमा सन् २०१२ मा निर्माण गरिएको थियो ।रासस