चितवन : विकसित मुलुकको सुरक्षा अवस्थाका बारेमा जानकारी राखेका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारी भरतपुर महानगरभित्रको सुरक्षा अवस्था नमूना बनाउने योजनामा छन् ।
प्रहरीको दरबन्दी थपलाई भन्दा प्रविधिको उच्चतम उपयोग गर्ने उनको तयारी छ । ठाउँठाउँमा प्रहरी राख्नुभन्दा सिसी क्यामेरा जडानमा उनको जोड छ ।
विदेशमा जस्तै चोकचोकमा प्रहरी उभ्याएर होइन सिसी क्यामेराबाट अनुगमन गर्ने गरी भरतपुर महानगरको सुरक्षा योजना तयार गरिएको छ ।
घटना भएको दुई–चार मिनेटमा नै प्रहरी पुग्ने गरी अधिकारीले अवधारणा तयार गरेका छन् । महानगर क्षेत्रमा हुने अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धानका साथै जिउ, धन र सार्वजनिक सम्पत्तिको रक्षाका लागि अवधारण तयार गरिएको अधिकारी बताउछन् ।
चुस्तदुरुस्त सुरक्षा योजनामा सिसीटिभी जडान, सिआरभी र क्यूआरटी टोली परिचालन रहेका छन् । अधिकारीका अनुसार महानगरका विभिन्न ९१ स्थानमा १६० वटा सिसीटिभी जडान गर्ने योजना अवधारणमा रहेको छ ।
तीमध्ये मर्मत गरेर ३७ वटा सञ्चालनमा ल्याइँदै छ । अन्य १२६ वटा नयाँ थप गर्नुपर्ने हुन्छ । थप गर्नुपर्नेमध्ये १०८ वटा सामान्य र १५ वटा अत्याधुनिक प्रविधिका रहेका छन् । सिसीटिभी जडानले महानगर क्षेत्रभित्र हुने अपराध नियन्त्रणसँगै अनुसन्धानमा सहयोग पुग्ने उनले बताए ।
यससँगै शहरी क्षेत्रमा निजी क्षेत्रले आफ्नो प्रयोजनका लागि जडान गरेका सिसी क्यामेरामा एउटा क्यामेरा सडकतर्फ फर्काएर राख्न अनुरोध गर्ने योजना रहेको छ ।
यसबाट पुलचोकबाट गोन्द्राङसम्मको पूर्वपश्चिम राजमार्ग र बाइपास सडकमा ३०० भन्दा बढी क्यामेरा सडकतर्फ फर्काउन सकिने छ । यसबाट अपराध नियन्त्रणमा महत्वपूर्ण सहयोग पुग्ने अधिकारी बताउछन् ।
प्रहरीको कन्ट्रोल कक्षबाट सञ्चालनमा आउने गरी महानगरका नौ स्थानमा सिआरभी टोली परिचालन गरिने छ । टोलीलाई २४सै घण्टा परिचालन गर्न सकिने छ ।
यसका लागि आवश्यकतानुसार जनशक्ति र स्थान परिवर्तन गर्न सकिने उनले जानकारी दिए । यसले उच्छृङ्खल तथा कानूनविपरीतका गतिविधि नियन्त्रण र विपद् उद्धार कार्यमा सहयोग पुग्ने विश्वास कार्यालयले लिएको छ ।
महानगरभित्रका साँघुरा सडकमा हुने भीडभाड नियन्त्रण र छिटो प्रहरी पहुँच तथा गोप्य सूचना प्राप्तिका लागि महानगर क्षेत्रभित्र रहेका १२ वटा प्रहरी चौकी तथा पोष्टमा क्यूआरटी टोली परिचालन गर्ने योजनामा कार्यालय रहेको छ ।
सो कार्यका लागि १४ वटा मोटरसाइकल आवश्यक रहेको अवधारणापत्रमा उल्लेख छ । यसका लागि आवश्यक जनशक्ति प्रदेश कार्यालय र प्रहरी प्रधान कार्यालयसँग अनुरोध गर्ने अधिकारीले बताए ।
कार्यालयले तयार गरेको अवधारणापत्रमा सिसीटिभी जडानका लागि रु ५२ लाख ४० हजार, सिआरभी परिचालनका लागि नौवटा गाडी खरिद गर्न रु चार करोड पाँच लाख तथा क्यूआरटी परिचालनका लागि १४ वटा मोटरसाइकल खरिद गर्न रु ३६ लाख ४० हजार बराबरको बजेट महानगरमा प्रस्ताव गरिएको छ । अधिकारीले भने, “यी स्रोतसाधन प्राप्त हुनसकेमा विकसित मुलुकको झैँ सुरक्षा व्यवस्था गर्न हामी सक्छौँ ।”
भरतपुर महानगर प्रमुख रेनु दाहालले महानगरभित्रको सुरक्षा व्यवस्था राम्रो बनाउन महानगर प्रतिबद्ध रहेको बताइन् । यस योजनामा प्रस्ताव गरिएका अवधारणालाई क्रमशः पूर्णता दिँदै लगिने उनको भनाइ छ ।
सुरुमा बिग्रिएका सिसी क्यामेरा मर्मत गर्नुपर्ने भन्दै उनले नपुग भएका ठाउँमा थप गर्दै लगिने बताए । रासस