तुलसीपुर : कुनै समय राजाले राज्य गरेको ठाउँ हो, खुमखानी । बाइसे–चौबिसे राज्य भुरेटाकुरे राजाले राज्य गरेको इतिहास खुमखानीको छ ।
स्थानीयवासी ओपबहादुर थापाका अनुसार वारि खुमखानी राजा र पारी छिल्लीकोटे राजा बस्थे । ती दुई राजाबीच वारिपारि लडाईं हुन्थ्यो ।
वारिबाट खुमखानी राजाका सिपाहीले गोली बर्साउथे भने पारिबाट छिल्लीकोटे राजाले गोली बर्साउने गरेको इतिहास छ । त्यसका केही केही अवशेष अहिले पनि भेटिने गरेको ६५ वर्षीय थापाले बताए ।
त्यहाँ केही आकर्षक ढुङ्गा भएको स्थान भेटिन्छ, जसलाई ‘हनुमान ढोका’ भन्ने गरिएको उनको भनाइ छ । हनुमान ढोकाभन्दा तल ठूलो वन छ । त्यो बनलाई ‘टुँडीखेल’ भनिन्छ ।
जहाँ राजाका सिपाहीहरुले कवाज खेल्ने ठाउँका रुपमा थियो । तुलसीपुर उपमहानगरपालिका– ४ मा पर्ने त्यो ठाउँ ऐतिहासिक मात्रै होइन, पर्यटनका हिसाबले पनि महत्वपूर्ण ठाउँ हो ।
अग्ला डाँडाकाँडा भएकाले जिल्लाका सबै भूभागसहित रुकुम, रोल्पा, सल्यान, प्यूठानसहित भारतका केही ठाउँहरु पनि देखिन्छ ।
त्यो ठाउँका नागरिकले आफूहरु दाङवासी भएको महसुस भने गर्न नपाएको गुनासो गरेका छन् । “हामी दाङवासी हौँ, जस्तो पनि लाग्दैन”, स्थानीयवासी फत्तबहादुर थापाले भने, “दाङ भनेको घोराही, तुलसीपुर नै हुन की जस्तो लाग्छ ।”
तुलसीपुर बजारबाट खुमखानी हेर्दा आकर्षक पनि देखिन्छ । त्यहाँको बास्तविकता भने फरक छ । त्यो गाउँ, जहाँ टिनको घर कस्तो हुन्छ भन्ने कुराको अनुभूति गर्न पाएका छैनन् ।
सबैका घर खरले छाएका छन् । अहिले करिब त्यहाँ ३७ घर छन् । आर्थिक अवस्था कमजोर हुनुका साथै घरलाई छाउने टिन ल्याउनका लागि सडक सञ्जाल विस्तार नभएकाले पनि खरले छाउने गरेको स्थानीयवासीको भनाइ छ ।
पहिले त्यहाँ ६०/६५ घर थिए । अलिकति जीवनस्तर सुध्रियो भने त्यहाँबाट बजारतिर बसाइँ सरिहाल्ने गरेको स्थानीय अमरबहादुर घर्तीले बताए ।
“पहिले यहाँ ६०/६५ घर थियो”, उलले भने “यहाँको दुःख देखेर अहिले अलिकति हुनेखाने भएपछि बजारतिर झरिहाल्छन्, अहिले हामी त्यहाँ ३७ घरको हाराहारीमा छौँ ।”
उपमहानगरपालिका भए पनि त्यहाँ सडक सञ्जाल अझै जोडिन सकेको अवस्था छैन । सडक सञ्जालले नजोडिँदा त्यहाँका नागरिक बजार आउनुपरेमा करिब तीन घण्टा हिँड्नुपर्छ । सडक सञ्जाल कहिले जोडिन्छ, भन्ने पनि टुङ्गो नभएको स्थानीय फत्तबहादुर थापाले बताए ।
“हामीले सडक विस्तारका लागि पटकपटक सरकारलाई झक्झक्याएका छौँ, तर सुनुवाइ भएको छैन्”, उनले भने, “यो एउटा यस्तो बस्ती हो, अहिलेसम्म राष्ट्रियस्तरका जनप्रतिनिधि त, के स्थानीय सरकारका प्रतिनिधि पनि पुग्नुभएको छैन । राष्ट्रियस्तरका नेताको पहुँच नभएकाले पनि होला, अहिले त्यहाँ सडक सञ्जाल मात्रै होइन्, अन्य विकास निर्माणका हिसाबले पनि निकै पछि परेको छ ।”
गएको वर्ष त्यहाँ सडकको ट्रयाक खोल्नका लागि रु ५० लाख बजेट परेको भए पनि त्यो बजेट अन्तै सारिएकोसमेत उनको गुनासो थियो । सल्यानको सिमानामा पर्ने त्यो ठाउँमा कपुरकोटबाट सडक आउछ कि भन्ने अपेक्षा रहेको थापाले बताए ।
सडक सञ्जाल आएपछि त्यहाँको जीवनस्तर सुधार हुने उनको भनाइ छ । अहिले प्रत्येक घरमा ५० देखि १०० सम्म बाख्रा पालन गरिएको भन्दै त्यसलाई बजारमा लैजान पनि सडक अपरिहार्य रहेको उनले बताए ।
खुमखानीमा अझै विद्युत् पनि पुग्न सकेको छैन् । अहिले सोलार प्रयोग गर्ने गरिएको स्थानीय छबि बिकले बताए । खानेपानीको भने सहज पहुँच पुगेको छ ।
सोलारको प्रयोग गरी खानेपानीको लिफ्टिङ गरेर खोलाबाट पानी ल्याएपछि सहज भएको उनले बताए । यसअघि घण्टौँ हिँडेर पानी ल्याउनुपर्ने बाध्यता रहेको थियो ।
अहिले त्यहाँ शिक्षाका हिसाबले भने नाजुक छ । कक्षा ५ सम्म मात्रै पढाइ हुन्छ । त्यसपछि कक्षा ६ देखिमाथि पढ्नका लागि तीन घण्टा हिँडेर बजार पुग्नुपर्ने अवस्था रहेको विकको भनाइ छ ।
“कि त बजार कोठा भाडामा लिएर पढ्नुपर्यो, हाम्रो जवनस्तर पनि नाजुक भएकाले त्यो पनि सम्भव छैन”, उनले भने, “घरबाट हिँडेर पनि त्यहाँ पढाई भ्याउने अवस्था छैन ।”
यसले गर्दा पनि विद्यार्थीले पढाइलाई निरन्तरता दिन सकिरहेको अवस्था नभएको उनको भनाइ छ । अहिलेसम्म त्यो गाउँका छ जनाले मात्रै कक्षा १० सम्म पढेका छन् । उनीहरु त्योभन्दा माथिल्लो कक्षा पढ्नसमेत सकेका छैनन् । खुमखानी गाउँ स्वास्थ्यका हिसाबलेसमेत पछाडि परेको छ ।
“गाउँमा सामान्य उपचार पनि हुँदैन । सिटामोल किन्नुपर्यो भने पनि बजार नै झर्नुपर्छ”, स्थानीय कुलवीर विकले भने, “सामान्य घाउ चोटपटक लाग्यो भने बजार नै पुग्नुपर्छ ।
सडक सञ्जाल पनि प्रभावकारी नभएकाले बिरामी पनि बोक्न पनि समस्या छ । अहिले बिरामीलाई डोकामा बोकेर बजार पुर्याउनुपर्ने अवस्था रहेको छ ।” कतिको त उपचारका लागि ल्याउने क्रममा बाटोमै मृत्यु हुने अवस्था रहेकोसमेत उनको भनाइ छ ।
त्यहाँ मगर र दलित बस्ती छ । त्यो गाउँमा तीन वटा टोल छन् । त्यहाँको मुख्य पेशा भनेको बाख्रा पाल्ने, घाँस, दाउरा गर्ने, डोको बुन्ने नै छ ।
युवा भने प्रायः विदेश जाने गरेका छन् । खुमखानीको अवस्था सुधार गर्न सरकारले विशेष योजना ल्याउनुपर्ने त्यहाँका बासिन्दाको माग रहँदै आएको छ ।
पारि छिल्लीकोट पर्यटकीय तथा अन्य विकासका हिसाबले पनि धेरै फड्को मारेको भए पनि वारि खुमखानी भने विकासका हिसाबले निकै पछि परेको छ । यसको विकासका लागि सरकार गम्भीर बन्नुपर्ने विकको भनाइ छ ।
“छिल्लीकोट र हाम्रो खुमखानी हरेक हिसाबले समान हुन् । पर्यटकीय हिसाबले पनि उत्तम स्थान हो”, उनले भने, “खुमखानी विकासका हिसाबले निकै अगाडि पुगिसकेको छ, हाम्रो ठाउँ भने अहिले धेरै पछि परेको छ, दाङ जिल्लाका विकटमध्येको ठाउँ भएकाले यहाँको विकासका लागि निकै ध्यान दिनुपर्छ ।”
अहिलेसम्म त्यो गाउँमा कुनै नेताले पनि चुनावमा भोट माग्नसमेत नपुगेको उनको गुनासो छ । स्थानीय तहको निर्वाचन जितेपछि तुलसीपुर उपमहानगरपालिका–४ का वडाध्यक्ष एकपटक पुगेका थिए । त्यस क्रममा उनले त्यहाँका विकासका लागि हरेक क्षण साथमै रहने प्रतिबद्धता जनाएका थिए ।
जनप्रतिनिधि पहिलो पटक पुगेको त्यतिबेलै हो । त्यसपछि कोही जनप्रतिनिधि पनि त्यहाँ पुग्ने गरेका छैनन् । त्यहाँका नगारिकले आफ्ना आधारभूत आवश्यकता पूरा हुने व्यवस्था मिलाइदिनुपर्ने माग राख्दै आएका छन् । सरकारको अनुभूति गर्ने गरी काम गरेमा आफूहरु पनि सन्तुष्ट हुने स्थानीय ओपबहादुर थापाको भनाइ छ ।
“हामीलाई राज्यले उपेक्षा नगरोस्”, उनले भने, “हामीले पनि उपमहानगरवासी भएको अनुभूति गर्न पाउँ, सरकार भएको अनुभूति गर्न पाउँ ।” राज्यले हरेक क्षेत्रमा बसोबास गर्ने नागरिकलाई समानरुपमा हेर्नुपर्ने भन्दै उनले आफूहरुलाई पनि बजारका नागरिकसरह सेवासुविधा पुर्याउनतर्फ ध्यान दिनुपर्ने बताए ।
दाङलाई सुगम जिल्लाका रुपमा लिइए पनि यस्ता धेरै बस्तीले विकासको अनुभूति गर्न पाएका छैनन् । आफूहरु विकसित जिल्लाको बासिन्दा भएको अनुभूति गर्न नपाएको उनीहरुको गुनासो छ । यस्ता विकट बस्तीको विकासका लागि सरकारले विशेष ध्यान पुर्याउनुपर्ने उनको भनाइ छ । रासस