राँझा: नेपालगञ्जस्थित भेरी अस्पतालमा भर्ना भएका दुई कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।
त्रिवेणी गाउँपालिका–६ सल्यान निवासी ६६ वर्षीया महिला र गढवा गाउँपालिका–६ दाङ निवासी ९५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।
उनका अनुसार त्रिवेणी–६ सल्यान निवासी ६६ वर्षीया महिलाको गए राति मृत्यु भएको हो भने गढवा–६ दाङ निवासी ९५ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो ।
यो सँगै बाँकेका अस्पतालमा उपचारका लागि आएका बाहिरी जिल्लाका नागरिकको कोरोनाबाट मृत्यु हुने सङ्ख्या ४०० पुगेको छ । बाँकेका अस्पतालमा १६४ सङ्क्रमित बिरामीको उपचार भइरहेको छ ।
तीमध्ये सिकिस्त बिरामी १८, मध्यम बिरामी ३१ र चार जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्दका स्रोत व्यक्ति वलीले बताए ।रासस