विराटनगर: मोरङ व्यापार सङ्घले हाटखोलास्थित सिङ्घीया पुलको तत्काल मरमत गर्न सरकारको विभिन्न निकायलाई आग्रह गरेको छ ।
विराटनगर महानगरपालिका र कटहरी गाउँपालिका जोड्ने रङ्गेली सडक खण्डमा अवस्थित सो पुल विगतका बाढीका कारण जीर्ण बनेको बताइएको छ ।
सङ्घका अध्यक्ष प्रकाश मुन्दडाले उक्त पुल जर्जर अवस्थामा पुगेकाले समयमै मरमत गर्न सरकारका सम्बन्धित निकायलाई ध्यानाकर्षित गराएका छन् ।
सो सडक खण्डमा मालबाहक र सार्वजनिक सवारीसाधनको आवागमनको चापसमेत दिनानुदिन बढ्दै गइरहेको जनाउँदै उनले उक्त पुलको जीर्ण अवस्थाका कारण दुर्घटना निम्तिन सक्ने जोखिमलाई मध्यनजर गरीे समयमै मरमत गर्न माग गरे ।
उनले यसका लागि सङ्घीय भौतिक पूर्वाधार तथा यातायातमन्त्री, प्रदेश नं १ सरकारका भौतिक पूर्वाधार विकासमन्त्री, सडक विभागका महानिर्देशक र सडक डिभिजन विराटनगरका प्रमुखलाई पत्राचार समेत गरेका छन् ।
सङ्घले व्यावसायिक एवं व्यापारिक महत्व राख्ने पुलको समयमै सुधार एवं मर्मत भएमा यस प्रदेशकै आर्थिक क्रियाकलापमा वृद्धि हुने जनाएको छ । रासस