बुटवल–प्रदेश ५ मा बाढी पहिरोबाट एक वर्षको अवधिमा ४६ जनाले ज्यान गुमाएका छन्। २०७६ साउनदेखि असार दोश्रो सातासम्म प्रदेशका १२ जिल्लामा ४६ जनाको मृत्यु हुनुका साथै २९ जना घाइते भएका प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।
बाढी पहिरोबाट सबैभन्दा बढी गुल्मीका २० जनाले ज्यान गुमाएका छन्। रोल्पाका ८ जना, पाल्पाका ६ जना, पश्चिम नवलपरासीका ५ जना, दाङका ३ जना र प्युठानका २ जना र रुकुम पूर्वका एक–एक जनाको मृत्यु प्रदेश प्रहरी कार्यालय प्रदेश ५ का प्रवक्ता एसपी राजकुमार वैदवारले जानकारी दिए।
प्रहरी कार्यालयको तथ्यांकअनुसार यही असार महिनामा मात्र प्रदेश ५ मा बाढी पहिरोमा परी १० जनाले ज्यान गुमाएका छन्। असार १८ गते सम्ममा १० जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्। असारमा गएको बाढी पहिरोबाट पाल्पामा ५ जना, गुल्मीमा ३ जना, पश्चिम नवलपरासी र अर्घाखाँचीमा एक–एक जनाको मृत्यु भएको हो।
त्यस्तै गुल्मीमा ४ जना र पाल्पामा एक जना घाइते भएका छन्। त्यसैगरी बाढी पहिरोमा परी गुल्मीमा २० र अर्घाखाँचीमा ८ वटा गरी २८ वटा चौपाया मरेका छन्। ३० वटा घर गोठमा क्षति पुगेको छ। असार महिनामा मात्र बाढी पहिरोबाट ५४ लाख ७० हजार बराबरको क्षति भएको अनुमान गरिएको छ।
तथ्यांकअनुसार २०७६ साउनमा १७ जनाले ज्यान गुमाएका थिए भने ७ जना घाइते भएका थिए। गत भदौमा १२ जना, असोजमा २ जना, कात्र्तिकमा, माघ, चैत्र, वैशाख र जेठमा एक एक जनाको ज्यान गएको प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ।
बाढी पहिरो बाहेक अन्य विपतबाट दर्जनौको संख्यामा मानवीय क्षति भएको छ। जस अनुसार एक वर्षको अवधिमा चट्याङबाट १० जना, आगलागीबाट १० जना, र हावाहुरीबाट ५ जनाको ज्यान जाने गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। चट्याङबाट दाङ र रोल्पामा ३–३ जना, रुपन्देही र प्युठानमा २–२ जनाको मृत्यु भएको थियो । चट्याङबाट ४९ जना घाइते भएका छन्।
आगलागीबाट गुल्मीका ४ जना, नवलपरासी पश्चिममा २ जना, रुपन्देही, रोल्पा, कपिलवस्तु र दाङमा १–१ जनाको मृत्यु भएको छ। आगलागीमा परी ३८ जना घाइते भएका थिए। हावाहुरीका कारण बाँकेमा ४ जना र रुपन्देहीमा १ जनाको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।