बुटवल–गत बुधबार (असार १९) गते दाङ तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाकी एलिसा गौतमले फेसबुक लाइभ गरेर आत्महत्या गरिन्। जुन घटना नेपालमा हुने गरेका ‘सुसाइडन केस’ मा नौलो थियो। प्रहरीले घर खोजेर घटनास्थल पुगिसक्दा कोठाको पङ्खामा झुण्डिएकी २३ वर्षिया गौतमको मृत्यु भइसकेको थियो।
कोरोना कहरले रोजगारी गुमेर नेपाल फर्किएका अर्घाखाँचीको शितगंगा नगरपालिका–५ का देवबहादुर बिकले असार ५ गते क्वारेन्टिनमै बसेको अवस्थामा आत्महत्या गरे। जेठ २५ गते भारतबाट आएका बिकको मृत्युपछि कोरोना संक्रमण समेत पुष्टि भयो।
त्यस्तै असार १७ गते रोल्पाको गंगादेव गाउँपालिका–३१ वर्षिय एभान सार्कीले पनि क्वारेन्टिनमै झुण्डिएर आत्महत्या गरे। मृत्युपछि स्वाब परीक्षण गर्दा उनको पनि संक्रमण पुष्टि भयो। युएईबाट आएर क्वारेन्टिनमा बसेको उनको पनि आत्महत्याको कारण खुल्न सकेको छैन। यी त असार लागेपछि प्रदेश ५ मा बढी चर्चामा रहेका आत्महत्याका ‘केस’ हुन्।
पछिल्लो समय आत्महत्याको दर बढदै गएको छ। लामो समयको कोभिड–१९ (कोरोना भाइरस) को महामारीसँगै भएको ‘लकडाउन’ परेको मानसिक बिचलनको कारण मानिसले बढी आत्महत्या गरेको देखिन्छ।
प्रदेश ५ मा लकडाउन (चैत ११) सुरु भएदेखि जेठ मसान्तसम्म ३१३ जनाले आत्महत्या गरेका छन्। असारमा भएका आत्महत्याले यो संख्या अझै बढेर जान्छ। प्रदेश ५ प्रहरी कार्यालय, दाङका अनुसार चैतमा ६९, वैशाखमा ११७, र जेठमा १२७ वटा आत्महत्याका घटना भएका छन्।
प्रदेश ५ प्रहरी कार्यालय, दाङका प्रवक्ता तथा प्रहरी उपरीक्षक राजकुमार बैदवारले पारिवारिक कलह, गरिबी र मनोसामाजिक समस्याले मानिसहरू आत्महत्या गरेको देखिने बताए। बैदवारले भने, ‘आत्महत्या गर्नेमा बढी युवा छन्। उनीहरु १६ देखि २५ वर्ष उमेर समूहका छन्।’
तीन महिनामा १६ देखि २५ वर्ष उमेर समूहका ९१ जनाले युवाले आफ्नो ज्यान आफै लिएका छन्। १६ वर्ष मुनिका २६ जना, २६ देखि ३५ वर्ष उमेर समूहका ८९ जना, ३६ देखि ४५ वर्ष उमेर समूहका ५२ जना, ४६ देखि ६० वर्ष उमेर समूहका २८ जना र उमेर नखुलेको १ जना छन्।
आत्महत्या गर्नेमा किसान बढी
गरिबी र अभावको कारण आत्महत्या गर्ने बढी किसान छन्। तीन महिनामा १४४ जना किसानले आत्महत्या गरेका हुन्। जसमध्ये चैतमा ३९, वैशाखमा ४४ र जेठमा ६१ जना छन्। त्यस्तै गृहिणी ४३ जना, मजदुर ४३, विद्यार्थी २९, वैदेशिक रोजगारबाट आएका ६ जनाले पनि आत्महत्या गरेको प्रहरीको तथ्याङमा उल्लेख छ।
आत्महत्या गर्नेले बिहीबार रोजे
प्रहरीको तथ्यांकअनुसार आत्महत्या गर्नेले बिहीबार बढी रोजेको देखिन्छ। तीन महिनाको अवधिमा बिहीबारको दिन ५५ जनाले आत्महत्या गरेका छन्। त्यस्तै सोमबार ५१, बुधबार र शुक्रबार ५०÷५०, शनिबार ४३, आइतबार ४१ र मंगलबार २३ जनाले आत्महत्या गरेका छन्। लकडाउनले धेरै मजदुरको रोजीरोटी गुमेको छ। जसले मानिसको दैनिकी बिथोलिदा मानिस आत्महत्या गर्ने बाटो रोज्ने गरेको देखिन्छ।