बुटवल–रुपन्देहीको तिलोत्तमामा एक महिलाको आत्महत्या नभई हत्या गरेको माइतीले आरोप लगाएका छन् ।
तिलोत्तमा ५की सिता भण्डारी पौडेलको मृत्यु आत्महत्याका कारण नभई हत्या नै भएको माईती पक्षले आरोप लगाएका हुन् ।
गत भदौ २० गते बिहान सिता भण्डारीको शव पासो काटेको अवस्थामा फेला परेको थियो ।
मृतक सिता भण्डारी पौडेलका बुवा हरि प्रसाद भण्डारीले ज्वाई टिका पौडेलले योजनाबद्ध रुपमा छोरीको हत्या गरी घटना लुकाउन आत्महत्याको प्रपन्च रचेको बताए ।
उनले छोरीको शरीरमा निलडाम देखिएको, झुण्डीएको भनिएको स्थानको उचाई, छोरीको घाटीको दायाँतर्फ मात्र चुन्नीको गाठो कसिएको अवस्थामा घोप्टो पारी भुईमा पल्टाई राखेको अवस्थामा भेटिएकाले भने छोरीको कुटपिट गरी बेहोस बनाएर हत्या गरेको दाबी गरे ।
‘छोरीको हत्या गरेपछि ज्वाई टिकाले आफै फोन गरी घर बोलाए । घर पुग्दा उनी फरार थिए । हामीलाई खबर गरेलगत्तै उनले फेसबुकमा यसको मुल्य कसले चुकाउँछ भन्दै पोष्ट गरेका छन् । घटनाको यही शिलशिलागत र परिस्थितिगत प्रमाणले पनि यो आत्महत्या नभई हत्या हो’–उनले भने ।
४३ बर्षिय टिका पौडेल र २७ बर्षिय सिता भण्डारी पौडेलको २ वर्ष अघि मागी विवाह भएको थियो । विवाह पछि उनीहरु पाल्पा तानसेनमा दि दरबार रिसोर्ट नामको होटल सञ्चालन गर्दै आएका थिए ।
उनीहरु दुवै जना तीजलाई भन्दै ६ गते पाल्पाबाट घर तिलोत्तमामा आएका थिए । घर एक दिन बसेपछि सिता ७ भदौमा तिलोत्तमा ४ नं. मा रहेको माईती गएकी थिईन । हत्या हुनुभन्दा १ दिन अघि १९ भदौमा ज्वाई टिकाले भतिजको जन्मदिन छ भनेर सितालाई घर बोलाएको माईती पक्षको भनाई छ ।
‘भतिजको जन्मदिन छ भनेर फोन गरेपछि १९ गते दिउँसो छोरी घर आईन । घर पुगेपछि के खटपट भएछ हामीलाई पनि थाहा भएन’–सिताका बुवा हरि प्रसाद भण्डारीले भने–‘त्यहि साँझ साढे ६ बजे एक्कासी ज्वाई आएर तपाईकी छोरी अब बितारा पर्ने भई मैले त आनन्दको जिन्दगी जिउँछु भनी धम्कीपुर्ण कुरा गरेर घर गए । यो कुराले पनि हत्या हुनु एक दिन अघि छोरी ज्वाई बीच खटपट देखिन्छ ।’
ज्वाई टिका र उनकी दिदी विष्णु पौडेलले योजनाबद्ध ढंगले सीताको हत्या गरेपनि पैसा र पावरको भरमा केटा पक्षका परिवारले पोष्टमार्टम रिपोर्टमा भने सिताको हत्या नभई आत्महत्या हो भन्ने बनाएको आरोप उनले लगाए । शरिरभरी निलडाम र केही चोटहरु भएपनि पैसा र पावर देखाएर हत्यालाई आत्महत्या बनाई रिपोर्ट बनाएको उनको भनाई छ ।
‘हामीलाई घरमा बोलाएर घर जाँदा समेत ज्वाई टिकाले दिदी विष्णुलाई देखाउँदै तपाईकी छोरीलाई मार्नमा प्रमुख हात यसैको छ भनेका थिए । यो सुन्नासाथ म त्यहीँ बेहोस भएँ, यो कुरा मसँग भएका सालाहरु पदम पोखरेल र लक्ष्मण पोखरेलले समेत सुनेका छन्’–उनले भने–‘यति भइसकेको घटना कसरी आत्महत्या हुन सक्छ ?’
उनले छोरीको पोष्र्टमार्टम रिपोर्टमा आत्महत्या उल्लेख भएकै कारण प्रहरीले जाहेरी दर्ता समेत गर्न नमानेको बताए ।
‘हामीले घटनाको यथार्थ बाहिर ल्याउन माग गरेका छौ । सत्यतथ्य के हो ? प्रहरीले नै उजुरी दर्ता नगरेपछि हामी कहाँ जाने ?’ उनले भने ।