कपिलवस्तु-जिल्लाका शिक्षकहरु कोभिडका लक्षण देखिने विरामी खोज्न समुदायमा पुगेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले कोभिडको तेस्रो लहरबाट जोगाइ विद्यालय सञ्चालन गर्ने वातावरण तयार गर्न समुदायसँग पुगेको हो ।
हरेक विद्यालयले आफ्नो सेवा क्षेत्रका घरदैलोमा पुगेर तथ्यांक लिने कार्य सुरु भएको छ । शिक्षक शिक्षिकाको सहयोग लिई घरमुली र परिवारका सदस्यको रेकर्ड लिने, ज्वरो आएको, रुघा खोकी अवस्था बुझेर शंकास्पद व्यक्तिको विवरण स्वास्थ्य चौकीमा दिनेगरी काम सञ्चालनमा आएको छ ।
शंकास्पद व्यक्तिको स्वास्थ्य चौकीले एन्टीजिन विधिबाट कोरोनाको परीक्षण गर्ने व्यवस्था मिलाएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेले बताए ।
कोभिडसँगै विद्यालयमा कक्षा संचालन गर्न चुनौती भइरहेको बेला जिल्लामा पढाइ संचालन गर्न नमूना अभ्यास सुरु भएको उनको दाबी छ । शैक्षिक सत्र सुरु अगावै बन्द भएको पठनपाठन सञ्चालनका लागि यसले मार्ग निर्देशन गर्नसक्ने र जोखिमसमेत कम हुने बताइएको छ ।
'विद्यालयका सबै शिक्षकलाई सेवा क्षेत्रमा पठाई अवस्था बुझेर तथ्यांक लिने काम सम्पन्न भएको छ । केही घरमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका छन् । फारम भरेर स्वास्थ्य चौकीलाई बुझाउने तयारीसमेत भएको छ । केही अभिभावक कोरोना देखिए पछि प्रहरीले समाएर लान्छ की भन्ने त्रासले नाम हटाउन अनुरोध गर्नु भएको थियो । हामीले सम्झाए पछि सकारात्मक हुनु भयो । समुदायमा कोरोना प्रति अफवाह रहेको बुझियो,' बुद्धभूमि नगरपालिका ६ सरस्वती आधारभूत विद्यालय लक्ष्मणपुर की प्रधानाध्यापक मिना गिरीले बताइन् ।
हाल सम्म बुद्धभूमी नगरपालिका, विजयनगर गाउँपालिका, शिवराज नगरपालिकाका शिक्षक समुदायमा पुगेर तथ्यांक संकलन गर्ने काम सुरु गरेका छन् । बाणगंगा नगरपालिकाको सङ्कलन सम्पन्न पछि समुदायमा पुगेका शिक्षकको एन्टीजिन परीक्षण गर्दा १२ जनामा शिक्षकमा संक्रमण देखिएको बाणगंगाका विद्यालय निरीक्षक खिम बहादुर जिसीले बताए ।
अभियानको रुपमा सञ्चालन गर्न जिल्ला स्वास्थ्य कार्यालयले १० पालिकालाई अभिमुखीकरण कार्यक्रम संचालन गरेको थियो । ति मध्ये महाराजगन्ज नगरपालिका र कृष्णनगर नगरपालिकाले छलफलमा उपस्थीत नभएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोभिड फोकल पर्सन उमेशचन्द्र घिमिरेले बताए ।