बुटवल । बुटवल ११ की मजुवाकी मञ्जु परियारलाई डेढ बर्षअघिको लकडाउनमा काममा नआउन भनियो । औद्योगिक क्षेत्रमा मसला भरेर दैनिक सात सय रुपैयाँ कमाउँथिन् उनी ।
महामारीले काम खोसेपछि ३३ बर्षकी मञ्जुलाई आफ्ना तीन छोरा-छोरी र सासुलाई साँझ बिहान कसरी खुवाउने भन्ने समस्या पर्यो । पतिको तीन बर्षअघि नै मृत्यु भएकाले घरको सबै जिम्मेवारी मञ्जुको थाप्लो थियो । "काम गर्न नपाएपछि त खानै समस्या पर्यो । हुर्कन लागेका छोराछोरी छन् । आमा हुनुहुन्छ । आफ्नो भन्दा पनि उनीहरुको पेट कसरी भर्ने भन्ने समस्या आयो," त्यसबेलाका कुरा सुनाउँछिन् उनी ।
केही दिन छिमेकीसँग सापटी मागिन् । केही दिन बुटवल उपमहानगरपालिकाल् ल्याइदिएको चामल र दालले छाक टारिन् । तर त्यो पनि सकिएपछि उनीसँग उपाय भएन । त्यसपछि उनी खोला झरिन् । दिन भर तिनाउमा बालुवा खन्ने, बोरामा भर्ने र त्यसलाई बेच्ने उनको दैनिकी हुन थाल्यो । "खान त पर्यो । छिमेकका दिदीहरु त पहिलेदेखि नै जाने गर्नुहुन्थ्यो । म भने कोरोना शुरु भएदेखि जान लागेकी हुँ," उनी भन्छिन्,"दिनमा ४/५ सय भएपनि खान त पुगिहाल्छ ।"
तिनाउको पश्चिमी तटमा रहेको मजुवा बुटवलको ठूला सुकुम्वासीमध्येको एक हो । हरेक सुकुम्बासी बस्तीहरुमा जस्तै यहाँ पनि दलित तथा श्रमजीवि बर्गहरुको बाहुल्य छ । दिनभर काम गरेर साँझमात्रै खान पाउनु यहाँका अधिकांश वासिन्दाहरुको दैनिकी हो । तर महामारीले यस्ता दैनिक ज्यालादारी श्रमिकहरुको जीविकालाई विथोलिदिएको छ ।
मञ्जुै छिमेकी हुन्, ४५ बर्षीय सरस्वती माझी । महामारी अघि उनका पति आशाराम ठेकेदारसँग लागेर सडक बनाउने काममा जान्थे । दैनिक श्रमिकले कमाउने ज्याला बोकेर साँझ घर फर्कन्थे । त्यसले घरका ५ जना सदस्यको पेट भरिन्थ्यो ।

मञ्जु र सरस्वती जस्तै महामारीका कारण काम खोसिएका बुटवलका सुकुम्बासीका कयौं परिवारहरु पूर्ण या आंशिक रुपमा तिनाउ खोलामा आश्रित भएका छन् । बिहान-साँझ बालुवा बोक्ने र त्यसलाई बेचेर छाक टार्ने नयाँ दैनिकीमा अभ्यस्त भएका छन् ।
बुटवल-११ का मनबहादुर दर्जी भन्छन्,"६०/७० रुपैयाँ बोरा बिक्री हुन्छ । घर बनाउनेहरुले लिएर जान्छन् । केही नहुनभन्दा त्यती भएपनि खान त पाइन्छ ।"
बुटवललाई दुई किनारमा राखेर बीचबाट बग्ने तिनाउ खोलाको पश्चिमी तटमा ठूलो सुकुमबासी क्षेत्र छ। बुटवल उपमहानगरपालिका वडा नं. ११ मा पर्ने यो क्षेत्र मजुवा, बुद्धनगर, तिलोत्तमा नगर, सिर्जना नगर जस्ता ठूला बस्ती र ससाना अन्य बस्तीमा रहेका निरपेक्ष गरिबहरुको दैनिकी अहिले यसरी नै चलिरहेको छ ।
मजुवामा २०१७ सालदेखि नै बस्ती बसिसकेको भए पनि बुद्धनगरमा २०५९ सालमा बस्ती बसेको थियो। त्यसपछि विस्तार हुँदै बुद्धनगर, तिलोत्तमा नगर, सिर्जना नगरलगायत साना ठूला बस्ती बनेका हुन्। यहाँ ६० वटा टोल छन्।
बुटवलको यो सुकुमबासी बस्तीमा २०६७ को तथ्यांकअनुसार ४३ हजार जना मानिसहरूको बसोबास छ। तर, त्यसपछिको बढ्दो बसाइसराइँका कारण यहाँ १७ हजार मानिसहरू थपिएको नगरपालिकाको आकलन छ।
बसाई खर्च कम भएका कारण यस्ता बस्ती गाउँको अतिरिक्त श्रमशक्ति बेच्ने हिसाबले बुटवल छिरेका मजदुरहरूको पहिलो रोजाइमा पर्छन्। यसैले यहाँको ठूलो समूदाय दिनभर काम गरेर मात्रै साँझमा खान पाउने वर्गमा पर्छन्। अधिकांश सुकुमबासी बस्तीले भरिएको वडा नं ११ नेपालकै सबैभन्दा धेरै जनसंख्या भएको वडामध्येको एक हो।

महामारीको सुरुताका यहाँका २० हजार ६ सय जनालाई तत्काल राहत जरूरत रहेको तथ्याङ्क वडा कार्यालयले संकलन गरेको थियो । तर तिमध्ये आधाले पनि राहत पाएनन् । बाँकी आधाले एक पटक मात्रै पाए ।
महामारीले यी सबै किसिमका श्रमिकलाई असर त गर्यो तर सबैभन्दा बढी प्रभावित हुनेमा यस्ता सुकुम्बासी बस्तीमा बस्ने दैनिक ज्यालादारी श्रमिक परे ।
अर्को ठूलो सुकुम्बासी बस्ती बिनापातेका विपन्नहरुलाई पनि महामारीले बिजोग बनाएको छ । महामारी शुरू भएदेखि बुटवल उपमहानगरपालिका जम्मा एक पटक राहत लिएर यो बस्तीमा पुगेको छ। २५ भन्दा बढि परिवारलाई तत्तकाल राज्यको सहयोग आवश्यक रहेको बताउँदै सत्यवती टोल बिकास संस्थाका सचिव श्याम तुलाचन भन्छन्," त्यसपछि सरकारी तवरबाट कुनै पनि सहयोग आएका छैनन्। निकै दयनीय अवस्था देखेपछि बस्तीबाटै उठाएर दुई पटकसम्म विपन्न परिवारलाई सहयोग गरेका थियौं । त्यति मात्रै हो।"