बुटवल-प्रदेश ५ मा विभिन्न घटनामा ८ जनाको मृत्यु भएको छ। प्रदेश ५ प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता राजकुमार वैदवारका अनुसार असार २२ गते दाङ, कपिलवस्तु, नवलपरासी, बर्दिया, रोल्पा र पाल्पामा भएका घटनामा ८ जनाको मृत्यु भएको हो।
प्रहरीका अनुसार दाङको कारागारमा रहेका कपिलवस्तु मायादेवी गाउँपालिका कपिलवस्तुका ६४ वर्षका अमिरुल्ला मुसलमानको मृत्यु भएको हो। ठगी मुद्दामा कारागारमा रहेका उनको पेट दुखेर अस्पताल लगिएकोमा त्यहीँ मृत्यु भएको हो।
नवलपरासीको प्रतापपुर गाउँपालिका ९ प्रतापपुरको गण्डक नहरमा एकजनाको शव फेला परेको हो। करीब ४०-४५ वर्षका व्यक्तिको सनाखत हुन सकेको छैन। यस्तै बर्दियाको ठाकुरद्वारा नगरपालिका ८ तितकैयाका एकजनाको ससुरालीबाट फर्किदै गर्दा कर्णाली नदीले बगाएर मृत्यु भएको छ। नदी तर्ने क्रममा बगाएर मृत्यु भएका २८ वर्षका देवबहादुर थारुको शव २-३ दिन पछि फेला परेको थियो।
रोल्पामा बाटो मर्मतको काम गर्ने कैलाली टीकापुर ६४ वर्षीय पुरुषको मृत्यु भएको छ। रोल्पाको माडी घर्तीगाउँमा सडकबाट १० मिटर तल खसेर मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
यस्तै कपिलवस्तुमा एकजनाले आत्महत्या गरेका छन्। कपिलवस्तु नगरपालिका ६ का ३५ वर्षीय पुरुषले आत्महत्या गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
नवलपरासीको सुनवलमा १३ वर्षकी एक किशोरीले घरमा कोही नभएको समयमा आत्महत्या गरेकी छिन्। पाल्पाको रम्भा गाउँपालिका ४ का २० वर्षीय किशोरले आत्महत्या गरेका छन्। जेठ १७ गते भारतबाट आएर स्थानीय जनहित भगवती माविको क्वारेन्टिनमा बसेका उनको पीसीआर रिपोर्ट पोजेटिभ आएर आइसोलेशनमा बसेका थिए।
आइसोलेशनमै पुन:परीक्षणका क्रममा पीसीआर रिपोर्ट नेगेटिभ आएपछि सोमबार घर गएका उनले घरमै आत्महत्या गरेका हुन्। यस्तै गुल्मी मुसिकोट नगरपालिका ८ वामी मैदानकी १८ वर्षीया विवाहित युवतीले आत्महत्या गरेकी छिन्।