सुर्खेत: कर्णालीका १० जिल्लामध्ये सबैभन्दा बढी वैदेशिक रोजगारमा सल्यानका छन् । सबैभन्दा कम भने हुम्लाका रहेका छन् ।
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार कर्णाली प्रदेशबाट ११ हजार ६ सय २३ जना वैदेशिक रोजगारीमा गएका छन् । त्यसमध्ये सबैभन्दा बढी तीन हजार सात सय ८४ जना सल्यानका र सबैभन्दा कम ५० जना हुम्लाबाट छन् ।
दैलेखबाट एक हजार दुई सय ३७ पुरुष र ३५ जना महिला गरेर एक हजार दुई सय ३७ जना, डोल्पाबाट ४९ जना पुरुष, १४ जना महिला गरेर ६३ जना, हुम्लाबाट ४७ पुरुष र तीन महिला गरेर ५० जना र जाजरकोटबाट आठ सय ८४ पुरुष र १८ महिला वैदेशिक रोजगारीमा छन् ।
त्यस्तै, जुम्लाबाट दुई सय ५३ पुरुष र पाँच महिला गरेर दुई सय ५८, कालीकोट दुई सय ९० पुरुष र १० महिला गरेर तीन सय, मुगु एक सय १५ पुरुष र तीन महिला गरेर एक सय १८, रुकुमपश्चिम दुई हजार तीन सय ६४ पुरुष र एक सय आठ महिला गरेर दुई हजार चार सय ७२, सल्यानबाट तीन हजार ६ सय ८१ पुरुष र एक सय तीन महिला गरेर तीन हजार सात सय ८४ र सुर्खेतबाट दुई हजार दुई सय ९१ पुरुष र एक सय १३ महिला गरेर दुई हजार चार सय चारजना वैदेशिक रोजगारीमा गएका छन् ।
वैदेशिक रोजगार विभागले खुला सिमानाका कारण यस प्रदेशका विभिन्न क्षेत्रबाट मौसमी कामका लागि उल्लेख्य संख्यामा छिमेकी देश भारत जाने गरेका भए पनि त्यसकाे आधिकारिक तथ्यां उपलब्ध हुन नसकेको उल्लेख गरेकाे छ ।