जाजरकोट: जाजरकोटका स्थानीय तहलाई आएको बर्थिङ सेन्टरका सामग्री जिल्ला सदरमुकाममा धन्किएको छ । सातैवटा स्थानीय तहलाई उपलब्ध गराउने भन्दै आर्थिक वर्ष २०७७/७८ मा खरिद गरिएका बर्थिङ सेन्टरमा प्रयोग हुने सामग्री अहिलेसम्म सदरमुकाममै थन्किएका हुन् ।
जिल्ला स्वास्थ्य सेवा कार्यालयले बोलपत्र आह्वान गरी खरिद गरेका बर्थिङ सेन्टरका सामग्रीहरू गत असारमै सबै स्वास्थ्य संस्थामा पठाइसक्नु पर्ने भएपनि अहिलेसम्म सदरमुकामको निजी घरमा थन्किएको पाइएको छ ।
गत वैशाखमै सदरमुकाम आइपुगेका स्वास्थ्य सामग्रीहरू ६ महिनादेखि सदरमुकाममा थन्क्याएर राखिएको छ । स्थानीय तहले बर्थिङ सेन्टरमा भएको आवश्यक समस्याकाबारेमा लिखित माग गरेअनुसार अघिल्लो वर्ष ति सामग्री खरिद गरिएका थिए ।
खरिद गरिएका सामग्रीहरूको अभाव भएपछि पटक पटक माग गरेपनि स्वास्थ्य सेवा कार्यालयले उपलब्ध नगराएको पालिकाले बताएका छन् ।
वर्षायाममा बाटोहरू अवरुद्ध हुँदा पालिकाले कतैबाट ल्याउन नसकेको र माग गरिएका सामग्रीहरू स्वास्थ्य सेवा कार्यालयले खरिद गरेपनि सदरमुकामै थन्क्याएर राख्दा समस्य थपिँदै गएको जुनिचाँदे गाउँपालिकाको स्वास्थ्य शाखाले बताएको छ ।
भेरी नगरपालिकालेसमेत पटक पटक आफ्नो नाममा आएको बर्थिङ सेन्टरका सामग्री माग गरे पनि स्वास्थ्य सेवा कार्यालय दिन सकेको छैन ।
कुशे गाउँपालिकामा २०, शिवालयमा १९, जुनिचाँदेमा १९, बारेकोटमा २२, भेरी नगरपालिकामा २१ र छेडागाडमा २१ प्रकारका बथिङ सेन्टरमा सुत्केरी हुन आउने महिलालाइ जरुरी पर्ने सामग्रीहरू सदरमुकाममा थन्किएका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कृष्णबहादुर खत्रीले स्वास्थ्य सामग्री पठाउने तयारी भइरहेको जानकारी दिए ।