नेपालीहरूको दोस्रो ठूलो चाड तिहार कार्तिक कृष्ण पक्ष त्रयोदशीका दिन काग तिहारको नामले सुरु भएर कार्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म पाँच दिन मनाइन्छ । हिन्दू धर्मशास्त्रमा उल्लेख भएअनुसार सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई बिताएकाले यी पाँच दिनलाई यमपञ्चक भनिएको हो । यसरी रहँदा–बस्दा यमुनाको सत्कारबाट प्रसन्न भै यमराजले बहिनी यमुनालाई वर मागभन्दा यमुनाले हरेक वर्ष आजकै दिन भेट्न आउनुपर्ने, दिदी–भाइ, दाजु–बहिनीको प्रेम सदा अटल रहोस् र दाजु–भाइको आयु, कीर्ति सदा वृद्धि होस् भन्ने वरदान मागिन् । यमराजले पनि तथास्तु भन्दै मनसा, वाचा, कर्मणा र शुद्ध चित्तले यस प्रकार भ्रातृपूजा गर्ने–गराउनेहरूको सदा उन्नति हुने तथा कीर्ति पनि फिँजिने वर दिई आफ्नी बहिनीसँग बिदा भए । यसरी प्राचीनकालदेखि अहिलेसम्म अविच्छिन्न रूपले यो पर्व मनाइदै आएको छ ।
काग तिहार
कार्तिक कृष्ण त्रयोदशीका दिन कागको पूजा गरिन्छ । काग अत्यन्त चलाख पन्छी हो । काग सर्वभक्षी प्राणी हो । यसको पूजा गर्नुका विभिन्न कारण छन् । कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्नबालीमा लाग्ने कीरा–फट्याङग्राहरू खाइदिन्छ । कागलाई यमराजको सन्देश सुनाउने दूत पनि मानिन्छ ।
कुकुर तिहार
यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरतिहार मनाइन्छ, जसका सम्बन्धमा विभिन्न धार्मिक एवं सामाजिक मान्यता रहँदै आएको छ । यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । कुकुरलाई पनि यमदूत मानिन्छ । कुकुर यमराजको प्रियभक्त हो । कुकुरले घरको रेखदेख गरेर मानिसलाई सहयोग गर्दै आएको छ । कुकुरलाई भैरवको वाहन पनि भनिन्छ । त्यसैले हामी कुकुर तिहारमा कुकुरलाई मन पर्ने खाना ख्वाई पूजा गरी माला लगाइदिन्छौं ।
लक्ष्मी पूजा र गाई तिहार
हिन्दूहरूमा कुनै पनि धार्मिक वा सामाजिक संस्कार गर्नुअघि गाईको गोबरले घर–आँगन लिपपोत गर्ने, गाईको गहुँत सबैतिर छर्केर आफ्नो घर पवित्र तुल्याउने संस्कार छ । गाईलाई पशुधनका रूपमा लिइन्छ । हिन्दूहरू गाईलाई गौमाता वा लक्ष्मीको रूप मान्छन् । लक्ष्मीलाई धन्यधान्यकी देवी एवं ऐश्वर्यकी प्रतीक मानिन्छ । कार्तिक कृष्ण औंसीको रातलाई अत्यन्त अध्यारो रातका रूपमा लिइन्छ । यो अन्धकारमा रातलाई उज्यालो प्रकाशले आलोकित पारेर लक्ष्मीको आह्वान गरिन्छ । यसभित्र कुनै पनि किसिमको अन्धकारलाई आफूमा अन्तर्निहित चेतनाशक्तिको प्रकाशले हटाउनुपर्ने सन्देश पनि पाइन्छ । गाईलाई लक्ष्मीको प्रतीक मानेर त्यसै दिन लक्ष्मीपूजा गरेर दीपावली गरिन्छ । दीपावलीमा तमसोमा ज्योतिर्गमय अर्थात् अन्धकारबाट प्रकाशतर्फ लागि हामीलाई आत्मिक रूपमा सुख–सन्तोष प्रदान गर भन्दै चेलीबेटीहरू भैलो खेलेर रमाइलो गर्छन् । वर्षका चार महत्वपूर्ण रातमध्ये लक्ष्मीपूजाको रातलाई सुखरात्रि भनिन्छ ।
गोवर्धन पूजा (गोरु तिहार)
गोरु तिहार वा गोवर्धन पूजा यमपञ्चकको चौथो दिन मनाइन्छ । पौराणिक कथानुसार गोवर्धन गोकुल नजिकै रहेको एउटा पर्वत हो । भगवान कृष्ण गोकुलमा गोपालहरूसँग बस्थे । गोपालहरू देवताका राजा इन्द्रको पूजा गर्थे तर इन्द्रवाट उनीहरूले केही पाउँदैनथे । कृष्णले एक दिन गोकुलवासीहरूलाई केही नदिने इन्द्रको पूजा गर्नुभन्दा खनिज, घाँस, पानी दाउरा दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो हो भन्ने कुरा बताए, त्यसपछि सबैजनाले गोवर्धन पर्वतको पूजा गर्न थाले । आफ्नो सट्टा गोवर्धन पर्वतको पूजा गरिएपछि रिसाएका इन्द्रले गोकुलमा असिना र पानीको वृष्टि गराए भने भगवान् कृष्णले गोवर्धन पर्वतलाई हातले उचालेर गोकुलवासीलाई आश्रय दिए । अन्त्यमा आफ्नो हार स्वीकार गर्दै इन्द्रले कृष्ण समक्ष क्षमा मागे । भनिन्छ, त्यही बेलादेखि गोवर्धन पूजा प्रारम्भ भएको हो । त्यसदिन घरघरमा गाईको गोवरले गोवर्धन पर्वतको प्रतिमा बनाई त्यसैको पूजा गरिन्छ । यही दिन नेपालीहरू खेतिपातीमा सहयोग गर्ने गोरूको पनि पूजा गर्छन् ।
भाइ टीका
तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीया तिथिमा विशेष उत्साहका साथ भाइटिका मनाइन्छ । यो पर्व दिदीले भाइलाइ र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मान–सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा–मिष्ठान्न ख्वाउने, दिदीबहिनीलाई दान–दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ । यो दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र दाजुभाइको सुख–समृद्धि, अरोग्य एवं दीर्घायुको कामना अन्तर्निहित छ । यमपञ्चकका पाँच दिन यमराज यमुनाको घरमा बास गर्छन् भन्ने धार्मिक विश्वास छ ।