महोत्तरी: बर्षौंदेखि अर्काको घरमा भाडामा बस्दै आएको बर्दिबास नगरपालिकाको आफ्नै प्रशासनिक भवन बन्ने भएको छ । बर्दिबास–१४ स्थित रामजानकी गुठीको जग्गा एक बिगाह १३ कठ्ठामा संघीय सरकारको ६ करोड र बाँकी नगरपालिकाको लगानीमा चारवटा भवन बनाइने नगरप्रमुख बिदुर कार्कीले जानकारी दिए ।
सबै जातजातिको अपनत्व महसुस हुने गरी मौलिक संस्कृतिको संरक्षण गर्ने उद्देश्यसहित करिब २३ करोडको लगानीमा चारवटा भवन तीन तल्लाको बनाइने गरी निर्माण परियोजना तयार गरिएको छ ।
पारम्भिक चरणमा नगरपालिकालाई पुरानो ठाउँबाट आफ्नै प्रशासनिक भवनमा सार्ने उद्देश्यले ६ महिनाभित्रै निर्माण कार्यसम्पन्न गर्नेगरी टेण्डरमार्फत ठेक्का प्रक्रिया अगाडि बढेको छ ।
सबै भवन निर्माण गर्न २४ महिनाको समय निर्धारण गरे पनि अत्यावश्यक भवन निर्माण छिट्टै तयार गर्ने ठेक्का पाएको ठेक्केदारी कम्पनी ए.एम पाइन्स ओम निलकण्ठेश्वरका प्रमुख कृष्ण खत्रीले जानकारी दिए ।
अहिले उक्त कम्पनीलले चारवटा दुई तलासम्म सम्पन्न गर्न नौ करोड ३७ लाखमा ठेक्का लगाएको छ । सम्झौताअनुसार कम्पनिले २४ महिनासम्म चारवटै भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गर्नुपर्नेछ ।