ताप्लेजुङ: चारैतिर सडक सञ्जाल जोडिएसँगै ताप्लेजुङका पदमार्गहरूमा मासिन थालेका छन् । पर्यटकीय पाटी पौवाहरू भत्किदै गएका छन् । सडक सञ्जाल विस्तार भएपछि चौताराहरूमा बस्न आउनेकाे संख्या हराएकाे छ ।
बरपिपलको छहारीमा बसेर चराचुरुङ्गीको संगीतमय आवजको आनन्द लिदै शितल ताप्ने आन्तरीक तथा बाह्य पर्यटकहरू हराउँदै गएका छन् । चारैतिर सडक सञ्जाल जोडिएसँगै विगतमा पर्यटकीय पदमार्गमा खोलिएका पर्यटन लक्षित बस्तीहरू विस्थापित हुदै गएका छन् ।
फुङलिङ नगरपालिका- ११, लालीखर्कका राजकुमार विष्ट ३५ वर्षका भए । उनलाई सामान्य होटलमा बच्चा हुँदादेखि कञ्चनजंघा हिमाल हेर्न जाने पर्यटकहरू आएर बस्ने गरेको सम्झना छ । उनी भन्छन्, 'लगभग मेरो बाजे, बाबाले गरेको पेशा हो यो क्षेत्रको होटल व्यवसाय । यहीबाट त्यतिखेर उनीहरूको जीविकोपार्जन हुन्थ्यो । बालबच्चालाई राम्रो शिक्षा र उचित रहनसहन र लत्ताकपडाको व्यवस्था हुने गर्दथ्यो । अहिले भने पर्यटककाे संख्या घटेकाले आम्दानी पनि घटेकाे छ ।'
अहिले उनका बुवाआमा उमेरले पाका भइसकेका छन् । अबको जिम्मेवारी राजकुमारको काँधमा आएको छ । उनले पनि ५-७ वर्ष अगाडीसम्म राम्रै आम्दानी गरिरहेकाे बताए । 'होटल व्यवसाय राम्रै चल्थ्यो तर अहिले दोधारमा छुँ, पर्यटक आउँन छाडे कसरी जीविका चलाउने भन्ने चिन्ताले सताइरहेको छ' उनले सुनाए । विष्टकाे परिवारले यस क्षेत्रमा पर्यटककाे सेवामा लगभग ४० वर्ष गुजारी सकेकाे छ ।
लालीखर्क सुन्दर एक बस्ती हो । समुन्द्री सतहबाट २ हजार २ सय मिटरको उचाईमा अवस्थित यो स्थान सुकेटार विमास्थलबाट मात्रै करिव ३ घण्टाको पैदल दुरीमा रहेको छ । नेपाल सरकारले तोकेको कञ्चनजंघा साउथ बेसक्याम्पको बाटो अन्तर्गतको पहिलो क्यापको रुपमा रहेको यो स्थानमा एक दशक अघिदेखि नै विदेशी पर्यटकहरूको ओइरो लाग्ने गर्दथ्यो ।
पर्यटकहरू बासबस्न नपाएर नजिकैको बारीमा टेन्ट टाँगेर बस्थे र स्थानीय रूपमा उत्पादन भएका खाद्यवस्तुहरू किनेर खान्थ्ये । नियमित रुपमा आन्तरिक तथा बाह्य पर्यटकहरूको आवातजावत भएपछि त्यस क्षेत्रको चेतनास्तरमा समेत विकास भएको पाइन्छ ।
कञ्चनजंघा संरक्षण क्षेत्रको तथ्याङकमा यस क्षेत्रमा ५ वर्षअघि औसतमा वार्षिक ७ सय पर्यटक पदर्माग हुदै आउँथे भने अधिकांशले कञ्चनजंघाको दुवैतर्फबाट पदयात्रा गरेर मात्रै फर्कने गर्दथ्ये। यो हिसाबमा लालीखर्कको रुट भएर जाने पर्यटक तमोरखोला तर्फबाट फर्कन्थे भने तमोरखोला तर्फबाट जाने पर्यटक यही बाटो भएर फर्कन्थे ।
१२ वटा घर रहेको यो स्थानमा अहिले ४ घर मात्रै छन् । प्राय सरुदेखि यो स्थानमा व्यवसाय गर्ने मानिसहरूले अहिले लालीखर्क छाडिसकेका छन् । धेरैले व्यवसाय बदलेका छन् भने कतिपय वैदेशिक रोजगारीमा हिँडेका छन् ।
लामो समयदेखिको पुर्खेउली व्यवसायलाई अझै कुरेर बसेका राजकुमार एक्ला पात्र हुन् । धेरै चिसो हुने, कृषिको सम्भावना कम, आयआर्जनको अरु श्राेत कम र विभिन्न सेवासुविधा पनि कम हुदै गएकाले यो स्थान अहिले सुनसान बनेकाे छ ।
पुराना घरहरू जीर्ण हुदै गइरहेका छन् धेरै घरहरू खाली देखिन्छन् । मानिसहरूको आवतजावत पनि कम हुने भएकाले सामान्य चियापसल पनि चल्न गाह्रो रहेको विष्ट बताउँछन् । बाँकी रहेका ४ घर पनि बसाइसराई भएर यहाँबाट विस्थापित हुने चरणमा पुगेका छन् ।
ताप्लेजुङको एकमात्र सुकेटार विमानस्थल र मोटर बाटोबाट सदरमुकाम फुङलिङ भएर उत्तरी र दक्षिणी तर्फको कञ्चनजंघा हिमाललाई अवलोकनको पदयात्रा र हिमाल आरोहणको लागि आउने पर्यटकहरू दुई फरक बाटो भएर जाने गर्दछन् । कुना कन्दरामा सडक यातायात पुग्न थालेपछि यो पदमार्ग भएर हिड्ने विदेशी पर्यटकहरूको संख्या ह्वात्तै घटेकाे स्थानीय होटल तथा होमस्टे व्यवसायीहरू बताउँछन् ।
सदरमुकामबाट साउथ तर्फको बाटोमा सुकेटारबाट लालीखर्क, सिञ्चेपु भञ्ज्याङ, फुम्पे डाँडा, याम्फुदिन हुँदै लासे, तोरोङ्देन, चेराम, राम्जेर र ओक्ताङ बेसक्याम्प सम्म रहेकोमा हाल याम्फुदिनसम्म सडक सञ्जाल पुगिसकेको छ । यस्तै नर्थ बेसम्याम्प तर्फको बाटो सुकेटार वा सदरमुकामबाट मित्लुङ, छिरुवा, सेकाथुम, अम्जिलेसा, ग्याब्ला, घुन्सा, खम्बाचेन, लोनाक र पाङ्पेमा बेसक्याम्पको बाटोमा हाल सेकाथुम नजिकसम्म सडक सञ्जाल पुगिसकेको छ ।
कुनै समय झलमल बनेको लालीखर्क मात्रै होइन अहिले सिरीजंघा ३ र ४ को सिमानामा अवस्थित सुन्दर बस्ती काँडे भञ्ज्याङ पनि सुनसान बनेको छ । त्यहाँ सञ्चालन भएको ५ वटा होटलहरू स्थानीयस्तरका पदयात्रीहरूलाई सामान्य सेवा दिएर दिन कटाइरहेका छन् ।
४० वर्ष अघिदेखि होटल र पसल गरेर बसिरहेका स्थानीय सुवास बस्नेत पर्यटककाे संख्या निकै घटेकाे बताउँछन् । 'पहिल] पर्यटक आउँदा निकै परसम्म लिन गइन्थ्यो र ल्याएर कसकाेमा राख्ने होडबाजी चल्थ्यो, कहिले पर्यटक बस्ने ठाउँ नपाएर भौतारिन्थे तर अहिले वर्षमा १०-१५ जना बाहेक पर्यटक हिँडेको देखेको छैन' उनी भन्छन् ।
सिरीजंघा-६ को फुम्पे डाडाका पुराना होटल व्यवसायी गोपी भट्टराई र मामाङ्खेका विशाल माबो पनि अब हाेटल व्यवसायबाट केही गराैंला भन्ने आश मरेकाे बताउँछन् । मावो भन्छन्, 'ठूलाे लगानीमा होटल सञ्चालन गरियो तर आम्दानी लिने बेलामा पर्यटकहरू अर्को सडकको बाटो भएर सिधै याम्फुनि पुग्छन् । भोलि अझ सडक राम्रो भएपछि त झन् यहाँ हिड्ने कुरै छैन, बैकल्पिक व्यवसायमा लाग्नुको विकल्प नै छैन ।'
स्थानीय मानिसहरूको पनि कम आवातजावत हुने यस स्थानमा होटल व्यवसाय नै गरेर बस्ने अवस्था नहेको भट्टराईले सुनाए । सुकेटारबाट याम्फुदिनसम्मको ४ दिनको पैदल यात्रा अचेल पर्यटकले पाँचथरको गणेशचोक हुँदै सिनाम, आम्वेगुदिन हुँदै एकदिन हिँडेर २ दिनमै पुरा गर्दछन् । त्यस्तै ताप्लेजुङबाट ३ दिनको पैदल दुरी कायम गरिएको फुङलिङदेखि लेलेप सेकाथुमसम्मको पैदल दुरी पर्यटकहरूले गाडीमार्फत एकैदिनमा पूरा गर्दछन् ।
यता फुङलिङ नगरपालिका-१० को मित्लुङमा पर्यटकका लागि बनाएका होटलका संरचनाहरू क्रमश: अन्य प्रयोजनमा प्रयोग भइरहेका छन् भने छिरुवामा रहेका होटलहरूले स्थानीयरुपमा आवतजावत गर्ने यात्रीहरूलाई सेवा दिइरहेका छन् । करिब २३-२४ दिनको कञ्चनजंघा राउण्ड पदयात्राका लागि धेरै लामो दिन भएको गुनासो पर्यटकबाट आउने गरेकाे र सडक यातायात भएपछि थप सहजता भएकाले पर्यटकहरू गाडीको यात्रा राेज्ने गरेकाे पर्यटक गाइड मिङ्मा तामाङ बताउँछन् ।
उनी भन्छन्, 'सुकेटारबाट साउथ र नर्थ तर्फको दुवै बाटो म विगतमा धेरै हिँडेको छु, यात्रा एकदम लामो छ, अहिले पर्यटकलाई छोटो समयका कारण छोटो यात्रा गर्न मन पराउँछन् त्यसैले पैदलमार्ग कमै पर्यटकको रोजाईमा पर्ने गरेकाे छ ।'
सडक यातायातका कारण यस क्षेत्रमा करिब २० प्रतिशत विदेशी पर्यटक मात्रै यस क्षेत्रमा पैदल यात्रा गर्ने र सडकको स्तर सुधार भएर नियमित सवारी साधन चलेमा यसमा पनि कमि आउने पर्यटन व्यवसायी बताउँछन् ।