खोटाङ: खाेटाङ यातायात प्रालिले वर्षाका कारण अवरुद्ध सडक मर्मतका लागि स्थानीय सरकार समक्ष माग गरेको छ । दशैँ, तिहार र छठ जस्ता चाडवाड नजिकिँदै गर्दा कच्ची सडकको अवस्था दयनीय बनेपछि यातायात प्रालिले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र हलेसी तुवाचुङ नगरपालिकासहित ६ स्थानीय तहलाई सडक मर्मतका लागि आग्रह गरेको हो ।
वर्षाका कारण भत्किएका सडकहरू मर्मत नगरेसम्म सञ्चालनमा आउन नसकिने र त्यस्ता सडकमा सवारी साधन सञ्चालन गर्दा जनधनको क्षती हुनसक्ने भएकाले सम्वन्धित स्थानीय तहभित्रका सडक मर्मतका लागि लिखित माग राखिएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए ।
खोटाङ यातायात प्रालिले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाभित्रका हुर्लुङ–जालपा, दिक्तेल–पाथेका, दिक्तेल–खार्मी, दिक्तेल–दोर्पाचिउरीडाँडा, दिक्तेल–अस्पतालचोक–लफ्याङ, दिक्तेल–हाटडाँडा–खाल्ले आहाले, दिक्तेल–बाम्राङ डल्लेदोभान–दम्कु बुईपा र अस्पतालचोक–आचार्य गाउँ बसपार्क सडक मर्मतको माग गरेको छ ।
यस्तै, हलेसी तुवाचुङ नगरपालिकाको जयरामघाट–च्यास्मीटार–हलेसी–अर्खौले, हलेसी–धितुङ भाडबेँसी–रेग्मीटार, बिजुले–बुईपा र बुईपा–राजापानी–पुरानोगाउँ–रेग्मीटार सडक मर्मतको माग राखिएको यातायात प्रालिले जनाएको छ ।
दिप्रुङ चुईचुम्मा गाउँपालिकाको पञ्चमी–टेम्मा, साप्सु–टेम्मा छितापोखरी, साप्सु–रातमाटा–पञ्चमी, खोटेहाङ गाउँपालिकाको रसुवा–सिमपानी–खोटाङबजार, सिमपानी–रोक्सिङभञ्ज्याङ, ऐसेलुखर्क गाउँपालिकाको ऐसेलुखर्क–माक्पा–फेदी तथा साकेला गाउँपालिकाको साप्सु–मात्तिमविर्ता–मानेभञ्ज्याङ–खिदिमा, मानेभञ्ज्याङ–दिप्रुङ र तावाखोला–रतन्छा मानेभञ्ज्याङ सडक यथाशिघ्र मर्मतको माग राखिएको महासचिव हिङमाङले बताए ।