बुटवल-रुपन्देहीको तिलोत्तमा नगरपालिकामा २७ वर्षीया सीता भण्डारीको हत्या भएको भन्दै स्थानीयले आन्दोलन जारी राखेका छन्।
तिलोत्तमा कफी कम्पनी नजिकै गत भदौ १९ गते २७ वर्षीया सीता भण्डारीको शंकास्पद मृत्यु भएको थियो।
घटनापछि मृतकका माइती पक्षले घर पक्षबाट ‘हत्या’ भएको भन्दै थालेको आन्दोलन २५ दिनदेखि जारी छ। दिनहुँजसो आन्दोलन भएपनि सरकारी पक्षबाट सुनुवाई भएको छैन।
सीताको मृत्यु हत्या नभई आत्महत्याबाट भएको लुम्बिनी प्रादेशिक अस्पतालको पोस्टमार्टम रिपोर्टले भने पनि माइती पक्ष भने यो मान्न तयार छैन। परिवारकै मिलेमतोमा सीताको हत्या गरी आत्महत्याको बाहना बनाइरहेको उनीहरुको दावी छ।
पोस्टमार्टममा आत्महत्या भएको भन्दै सुरुमा जाहेरी लिन नमानेको प्रहरी प्रशासनले माइती पक्षको विरोध र चर्को दबाबपछि मृतक सीताका श्रीमान् र उनकी दिदीलाई हिरासतमा लिई आत्महत्या दुरुत्साहन सम्बन्धी मुद्दा चलाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख मनोज केसीले घटनाका बारेमा सूक्ष्म रुपमा अनुसन्धान गरिरहेको बताए।
सिआइवीको टोली समेत अनुसन्धानका लागि रुपन्देहीमा बसेर फर्केको छ। तर अनुसन्धानमा के भेटियो भन्ने जानकारी दिइएको छैन। प्रहरी प्रमुख केसीले पक्राउ परेकाहरुलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको बताए।