दमौली: तनहुँको भिमाद नगरपालिका स्थित जिदी खोलामा पक्की पुल नहुँदा वर्षेनी सर्वसाधारणले जोखिम मोलेरै खोला तर्नुपर्ने बाध्यता छ । पुलका अभावमा सर्वसाधारणले वर्षौँदेखि सास्ती खेप्दै आएका छन् ।
सर्वसाधारणको सास्तीमा मल्हम लगाउन उक्त ठाउँमा पक्की पुलको योजना परे पनि लामो समयसम्म पुल अलपत्र भयो । विसं २०७३ मा सम्झौता भएर विसं २०७५ मा सम्पन्न भइसक्नुपर्ने पुल लामो समयदेखि अलपत्र हुँदा सर्वसाधारण थप मारमा परे ।
अलपत्र पुल हेर्दै खोला तर्नुपर्ने बाध्यता हटेन । अहिले भने पुल निर्माणले गति लिएको छ । निर्माणाधीन मोटरेबल पुलको कामले तीव्रता पाएसँगै स्थानीयवासी खुशी भएका छन् । अलपत्र परेको पुल पछिल्लो समय तीव्रगतिमा काम हुन थालेपछि निर्माणको अन्तिम चरणमा पुगेको छ ।
पुलको ८५ प्रतिशत काम सकिएको सडक डिभिजन कार्यालय दमौलीका इञ्जीनियर दीपेन्द्र पन्थले जानकारी दिए । उनका अनुसार अहिलेकै गतिमा काम भए बाँकी १५ प्रतिशत छिट्टै सम्पन्न हुनेछ ।
“पुल ढलानको काम भइसकेको छ । पुलमा फुटपाथ, दुईतर्फको सडक, नदी कटान रोक्न तारजाली गर्ने र फिनिसिङको काम बाँकी छ”, उनले भने ।
निर्माण कम्पनीले भने झण्डै ९५ प्रतिशत काम सकिएको दाबी गरेको छ । दैनिक २०÷२२ जना कामदार खटाएर काम भइरहेको निर्माण कम्पनी शान्ति निर्माण सेवा काठमाडौंका प्रतिनिधि कमल दाहालले बताए ।
उनका अनुसार तिहार अगाडीसम्म पुलको काम सम्पन्न हुनेछ । “रेलिङ हालिसक्यौ, फुटपाथको काम बाँकी छ । थोरै काम तारजालीको पनि छ,” उनले भने, “तिहार अगाडीसम्म पुलको काम सक्छौ ।”
पाँच वर्षदेखि पुल निर्माणाधीन रहेको छ । एक वर्ष अगाडीसम्म पुल निर्माणको काम निकै सुस्त थियो । समयमै पुल निर्माण नहुँदा यातायातका साधन र सर्वसाधारणले जिदी खोला वारपार गर्न सास्ती निकै सास्ती भोग्नुपरेको छ ।
केही दिनअघि मात्रै सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित केदार सिग्देलले पुलको निरीक्षण गर्दै छिटो भन्दा छिटो काम सम्पन्न गर्न सरोकारवालालाई निर्देशन दिएका छन् ।
विसं २०७३ असार २९ गते पुल निर्माणका लागि ठेकेदार कम्पनीसँग सम्झौता भएको थियो । दुई वर्षभित्र सम्पन्न गर्नुपर्ने पुलको काम समयमा नसकिएपछि विसं २०७५ साउन ६ गते म्याद थप गरिएको थियो ।
थप गरिएको म्याद पनि नगत असार १२ गते सकिएको छ । कोरोना कहर र निषेधाज्ञाका कारण निर्माणाधीन आयोजनाको म्याद स्वतः छ महिना थप भएको छ । थपिएको म्याद अनुसार आगामी पुसमा सम्पन्न गर्नुपर्ने भए पनि तिहारअगाडि सक्ने गरी काम भइरहेको कम्पनीले जनाएको छ ।
खोलाको दुवैतर्फ सडक कालोपत्र छ । पुल नहुँदा कालेपत्र सडक अर्थ नभएको स्थानीयवासी बताउँछन् । दुई स्पानको पुलको लम्बाई ५० मिटर र चौडाई ११ मिटरको हुनेछ । पुलको लागत रु चार करोड ९० लाख ८२ हजार ९१३ रहेको छ ।
पुल निर्माण भएपछि भिमाद बजारबाट मिर्मी भीममार्ग हुँदै जिल्लाका विभिन्न क्षेत्र र छिमेकी जिल्ला स्याङ्जा, पाल्पासम्म आउजाउ गर्ने सवारीसाधन र सर्वसाधारणलाई सहज हुनेछ ।
खरको छानो फेरेर दशैं मनाउँदैछन् विपन्न
व्यास नगरपालिका–५ चिन्तुटारका चन्द्रबहादुर दरैको खरको छाना भएको घर छ । वर्षौँदेखि उहाँले सोही खरको छानामुनि जीवन निर्वाह गर्दै आएका छन् ।
खरको छाना जोखिमपूर्ण भए पनि आर्थिक अवस्थाकै कारण छाना फेर्न नसकेको दरैले बताए । “सबैभन्दा बढी डर आगलागीबाट हो, छाना फेर्न नसक्दा वर्षौँदेखि खरको छानामै ओत लागियो”, उनले भने, “पानी पर्दा पनि चुहिने समस्या त छँदैछ ।”
सोही वडाको चुँदेर निवासी अनिता थापाको पनि खरले छाएको घर छ । वर्षात्का समयमा खरको छाना चुहिएर समस्या हुने गरेको उहाँले गुनासो गर्नुभयो “ठूलो पानी पर्दा चुहिएर साह्रै समस्या छ, आगलागीको जोखिम पनि हुने सुनिन्छ”, उनले भने ।
मजदुरी गरेर घरखर्च चलाउँदै आउनुभएका चिन्तुटारका सुकबहादुर दरैले जस्ताको पाताले घर छाउने हैसियत नभएको बताए । “दैनिक काम नगरे छाक टार्नै मुस्किल हुन्छ, जसोतसो जे छ त्यही अनुसार नै जीवन निर्वाह गर्दै आएका छौँ”, उनले भने ।
अब उनीहरु खरको छानामुनि बस्नुपर्दैन । उनीहरुले अब नयाँ जस्तापाताले घर छाएर दशैँ मान्न पाउने भएका छन् । खरको छानामुक्त अभियानअन्तर्गत व्यास –५ ले विपन्न परिवारलाई जस्तापाता प्रदान गरेको छ ।
वर्षौँदेखि खर र फुसको छानामुनि बसोबास गर्दै आएका विपन्न परिवार पहिचान गरी खरको छानामुक्त अभियान सुुरु गरिएको व्यास –५ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए । “खरको छाना जोखिम भएकाले सर्वसधारणलाई सुरक्षित बनाउन नगरपालिकाले जस्ताको छाना छाउने काम सुरु गरेको छ”, उनले भने ।
व्यास –५ ले विनियोजन गरेको बजेटबाट सर्वसाधारणलाई जस्तापाता वितरण सुरु गरिएको श्रेष्ठले जानकारी दिए। वडाबाट विनियोजिन गरिएको रु १० लाखको बजेटबाट जस्तापाता वितरण थालिएको छ । खरको छानामुक्त बनाउन वडामा रु १९ लाख २७ हजार २६९ बजेट आवश्यक पर्ने र बाँकी रकम भने नगरपालिकाले विनियोजन गरेको छ ।
“खरको छानामुक्त वडा बनाउने अभियानअन्तर्गत खरको छानामुनि बस्दै आएका नागरिकको तथ्याङ्क सङ्कलन गरी जस्तापाता वितरण सुरु गरेका छौँ”, उनले भने, “यही वर्षभित्र वडा खरको छानामुक्त बनाउँछौँ ।”
वडा कार्यालयले पहिलो चरणमा २८ घरधुरीलाई जस्तापाता वितरण गरेको छ । खरको छानामुक्त बनाउनका लागि प्रदेश सरकारबाट पनि लाभग्राही छनोट भइआएकाले दोहोरो नपर्ने गरी वितरण गरिने जनाइएको छ ।
नगर प्रमुख वैकुण्ठ न्यौपानेले नगरवासीको सुरक्षा नगरपालिकाको दायित्व भएकाले खरको छाना भएका सबै घरलाई जस्तापाताले छाउने जानकारी दिए । खरको छानामुक्त बनाउन नगरपालिकाले बजेट विनियोजन गरेको र त्यसको सुरुआत व्यास–५ बाट भएको उनले बताए ।
“खरको छाना हुँदा आगलागी लगायतका जोखिम हुन्छ, सोहीबमोजिम खरको छानामुक्त बनाउने नगरपालिकाको अभियान हो”, उनले भने, “सबै वडामा यो अभियान सञ्चालन हुन्छ ।” नगरपालिकाले बोलपत्र प्रक्रियाबाट जस्तापाता खरिद गरिसकेको उनले बताए ।रासस