बुटवल-सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडकखण्ड अवरुद्ध छ। तानसेन–८, गौडेपुलमा ठूला ढुङ्गा सहितको पहिरो हटाउने प्रयास भइरहेको भएपनि पहिरो खस्ने क्रम रोकिएको छैन। अवरुद्ध सडक खुल्न केही दिन लाग्ने जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
पहिरो हटाउने काम भइरहेको भएपनि माथिबाट पहिरो खस्न नरोकिएकाले वैकल्पिक बाटो अपनाउन जिल्ला प्रहरी कार्यालय पाल्पाले आग्रह गरेको छ। प्रहरीले सडक सामान्य रुपले सञ्चालनमा नआउँदासम्म बुटवल-तानसेन सडकखण्डको विकल्प प्रयोग गर्न र सुरक्षित भएर आवतजावत गर्न आग्रह गरेको छ।
सडकको ‘बेस’लाई नै पहिरोले बगाएकाले पूर्ण रुपमा पहिरो हटाइ बाटो सञ्चालन हुन केही दिन लाग्ने प्रहरीको भनाइ छ।
गौडेपुलमा गएको पहिरो हटाउने काम भैरहेको बेला आइतबार बिहान फेरि दोभान बजार नजिक पैठेडाँडामा ठूला ढुङ्गा सहितको पहिरो झरेको प्रहरीले जनाएको छ।
अपडेट : पहिरो हटाएपछि साउन ४ गते आइतबार बेलुकादेखि एकतर्फी गाडी चल्न थालेका छन्।