कञ्चनपुर: केही दिन अघिको बेमौसमी वर्षाले गर्दा ठाउँठाउँमा आएको पहिरोले सडक अवरुद्ध भएपछि भीमदत्त नगरपालिका–९ खल्ला मुसेट्टीका बासिन्दालाई आवतजवत गर्न निकै अप्ठ्यारो परेको छ । सडक अबरुद्ध भएपछि पैदल हिँडनसमेत यस क्षेत्रका बासिन्दालाई असहज भएको हो ।
पहिरोको माटो, ढुङ्गा सडकमा थुप्रिँदा जोखिम मोलेर स्थानीय बासिन्दा आवतजावत गर्दै आएका छन् । गतवर्ष मात्रै नगरपालिका कार्यालयले ठूलो बजेट खर्च गरी यहाँसम्म पुग्ने सडक निर्माण गरेको थियो ।
निर्माण गरिएको सडकको केही ठाउँमा भत्किएको छ भने केही ठाउँमा भासिएको छ । सडक मर्मत गरी सञ्चालन गर्न निकै समय र खर्च लाग्ने नगरपालिकाका कर्मचारीको भनाइ छ ।
मुसेट्टी क्षेत्रमा पहिरोले बाटो भत्किएको छ । मुसेट्टी खोला आसपासका क्षेत्रमा पहिरो गएको छ । केही स्थानमा बाटोमा रुख र बिजुलीका खम्बा ढलेका छन् । तार भूइँमा खसेका छन् ।
खल्लाका नारदसिंह मडैले वर्षापछि खल्ला, टुँडिखेल र मुसेट्टी बाटोघाटो, विद्युत्, टेलिफोन सबै बन्द भएको बताए । “वर्षाको बाढीले केही बाँकी राखेन । अहिले त ब्रह्मदेवसम्म हिँडेर जान पनि समस्या छ”, उनले भने,“सबै कुरा अवरुद्ध छन । जनता मारमा छन ।”
भीमदत्त नगरपालिका– ९ का अध्यक्ष रामनाथले बाटो बन्द भएपछि पैदल हिँड्न र बोकेर समान ब्रह्मदेवसम्म पुर्याउन बाहेक अन्य विकल्प नभएको बताए ।
“विकट बस्तीमा हिँडेर आउनु र पिठ्यूमा बोक्न बाहेक अरु कुनै विकल्प छैन”, उनले भने,“वर्षाले बस्तीमा बेहाल बनादियो ।”वर्षाले भत्किएको बाटो पुनःमर्मत गरी सञ्चालनका लागि कार्य थालिएको अध्यक्ष नाथले बताए । रासस