बागलुङ: दुरावस्थाबाट गुज्रेका यहाँका दुई उद्यानको पुनर्निर्माण थालिएको छ । संरक्षण अभावमा बिरूप बनेको वीरेन्द्र–ऐश्वर्य र शहीद स्मृति उद्यानको मुहार फेरिने भएको हो ।
सदरमुकाममा रहेका पुराना उद्यानको सौन्दर्य फर्काउन बागलुङ नगरपालिका लागिपरेको छ । सहरी आकर्षण थप्न बनाइएका ती उद्यान वर्षौंदेखि अलपत्र थिए ।
उद्यानको कन्तबिजोग देखेका सर्वसाधारण र मिडियाले राज्य संयन्त्र उदासीन बनेकामा आलोचना गर्दै आएका थिए । गत वर्ष साउनमा ‘मानिसलाई गिज्याइरहेका उद्यान’ शीर्षकमा आलेख सम्प्रेषण गरेको थियो ।
नगरप्रमुख जनकराज पौडेलले यही वर्षभित्र दुवै उद्यानलाई हेर्न लायक बनाइछाडिने बताए । उनका अनुसार वीरेन्द्र–ऐश्वर्य उद्यान बोलपत्रमार्फत पुनर्निर्माणको प्रक्रियामा गइसकेको छ । ‘एए कन्स्ट्रक्सन’ले रु एक करोडमा कामको जिम्मा लिएको हो ।
नगरपालिकाका इन्जिनियर मनोज शर्माले सो उद्यानमा दसैँअगावै देखि काम नलाग्ने संरचना हटाउने, झाडी सफाइलगायत काम सुरु भएको बताए । “निर्माण कम्पनीले चार महिनाभित्रैमा काम सक्ने प्रतिबद्धता जनाएको छ,” उनले भने ।
उद्यानमा पानीको फोहोरा (वाटर फाउन्टेन), बालबालिका खेल्ने/रमाउने स्थल, विश्रामपाटी, बगैँचा, फुटपाथलगायत संरचना बन्ने इन्जिनियर शर्माले बताए ।
“उद्यानको बीचमा कलात्मक वाटर फाउन्टेन बन्छ, रातको समयमा पनि आकर्षण दिन त्यही किसिमले बत्तीको प्रयोग हुन्छ,” उनले भने, “सबै संरचना कलागत र पर्यटनमैत्री हिसाबले बन्छन्, उद्यान चिटिक्कको देखिनेछ ।”
उद्यान रहेको जमिन सडकभन्दा तल रहेकाले वर्षायाममा पानी जम्ने समस्या हटाउन एक हात माथिसम्म माटो थपेर तहसमेत मिलाइने भएको छ । नगरपालिकाको आफ्नै बजेटबाट सो उद्यानको पुनर्निर्माण र सौन्दर्यीकरण गर्न लागिएको हो ।
बागलुङ बजारको मुटुमा रहेको उक्त उद्यान तत्कालीन राजा वीरेन्द्र र ऐश्वर्यको नाममा विसं २०३२ मा बनेको थियो । ०६२/६३ को जनआन्दोलनमा त्यहाँ रहेको राजा–रानीको सालिक तोडिएपछि उद्यान लथालिङ्ग अवस्थामा पुगेको थियो । त्यसबेला निर्मित कला, कौशलयुक्त संरचना जीर्ण भई अलपत्र परेका थिए । रेखदेख नहुँदा बगैँचा झाडीमा फेरिएको थियो ।
अब उद्यानले नयाँ स्वरुप ग्रहण गरेपछि त्यसको संरक्षण र व्यवस्थापनमा कमी हुन नदिइने नगरप्रमुख पौडेलले बताए । “दसैँमा कामदार घर गएकाले केही दिन निर्माण रोकिएको थियो, अब फटाफट काम हुन्छ,” उनले भने, “बढीमा चार महिनाभित्रमा उद्यानको मुहार फेरिन्छ, हेर्नलायक बन्छ ।”
विसं २०५७ मा निर्मित शहीद स्मृति उद्यानको सौन्दर्यीकरण योजनालाई पनि नगरपालिकाले गति दिएको छ । गत आवमा वन तथा वातावरण मन्त्रालयको सहरी वन विकास कार्यक्रममार्फत रु ४२ लाख खर्चेर उद्यानमा पूर्वाधारको काम गरिएको इन्जिनियर शर्माले बताए ।
मन्त्रालयको रु २४ लाख, नगरपालिकाको १० लाख र बाँकी उपभोक्ता समितिको लगानीबाट शहीदका सालिक रहेको संरचना सुधार, पर्खाल निर्माण, घेराबार, दुबो रोपण, बगैँचा विस्तारलगायत काम भएको थियो ।
सहरी क्षेत्रमा हरियाली प्रवद्र्धन तथा रमणीय वातावरण विकासका लागि मन्त्रालयले स्थानीय तहसँगको साझेदारीमा सो कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
चालु आवमा पनि नगरपालिकाले सोही कार्यक्रमका लागि रु एक करोडको योजना प्रस्ताव गरेको छ । प्रस्ताव स्वीकृत भएमा नगरको ७० र मन्त्रालयको ३० प्रतिशत लगानीमा उद्यान विकास र व्यवस्थापनको काम हुने इन्जिनियर शर्माको भनाइ छ ।
यसअघि नियमित रेखदेख तथा संरक्षण नहुँदा उद्यान अलपत्र परेपछि नगरपालिकाले माली र कर्मचारी नियुक्तिका लागि पनि प्रक्रिया अगाडि बढाएको छ । उद्यानमा शहीद धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, शुक्रराज शास्त्री, दशरथ चन्द र थीरबम मल्लको सालिक छ । उद्यान अलपत्र परेपछि शहीदका सालिक पनि जीर्ण बनेका थिए ।
सुधारको काम थालिएपछि उद्यानको स्वरुप केही बदलिएको छ । संरक्षण र व्यवस्थापन नभएपछि सो उद्यानमा वर्षौं अघिदेखि नगरपालिका र अन्य सरकारी निकायले गरेको लगानी खेर गइरहेको थियो ।
२९ रोपनी क्षेत्रफलमा फैलिएको उद्यानमा पछिल्ला वर्षमा मात्रै नगरपालिकाले सहरी शासकीय क्षमता सुधार कार्यक्रममार्फत झण्डै रु एक करोड र प्रभु बैङ्कले रु १५ लाख खर्चेको थियो ।
दुवै उद्यान नगरको सम्पत्ति भएकाले त्यसको संरक्षण र व्यवस्थापनमा नगरपालिका नै बढी जिम्मेवार हुनुपर्ने वीरेन्द्र–ऐश्वर्य उद्यानका पूर्वाध्यक्ष एवं संरक्षक शैलेन्द्रकुमार श्रेष्ठले बताए ।
उनले जनस्तरबाट सहयोग जुटाएर जग्गा खरिद गरी उद्यान बनाइएको स्मरण गरे । सो उद्यान संस्थाअन्तर्गत जिल्ला प्रशासन कार्यालयमा दर्ता रहेको उनको भनाइ छ । वीरेन्द्र–ऐश्वर्य उद्यानका नाममा लालपुर्जासमेत छ ।
भताभुङ्ग अवस्थामा पुगेको उद्यान पुनर्निर्माणमा नगरपालिकाले लगानी र चासो लिएकामा श्रेष्ठले खुसी व्यक्त गरे । नगरपालिकाले उद्यान व्यवस्थापन र संरक्षणको दीर्घकालीन योजना बनाउनुपर्ने उनको सुझाव छ ।
बागलुङ बजारमा आवदी बढेका बेला स्वच्छ हावा दिने सार्वजनिक उद्यानको व्यवस्थित विकास गरिनुपर्नेमा संरक्षक श्रेष्ठको जोड छ ।
यी दुई उद्यानको सौन्दर्यीकरण योजनाले गति लिइरहेका बेला सदरमुकामकै अर्को अलपत्र मदन–आश्रित स्मृति उद्यानको संरक्षण र व्यवस्थापनका लागि सरोकार भएका पक्षमाथि दबाब बढेको छ ।रासस