बैतडी: दसैँमा समेत अवरुद्ध रहेका बैतडीका ग्रामीण सडक पुनः अवरुद्ध भएका छन् । वर्षाको समयदेखि बन्द रहेका ग्रामीण सडक दसैँमा पनि खुलेका थिएनन् । गत असोज ३१ गतेदेखि यही कात्तिक ३ गतेसम्म भएको अविरल वर्षाका कारण फेरि यहाँका अधिकांस ग्रामीण कच्ची सडक अवरुद्ध भएका हुन् ।
वर्षाले अवरुद्ध जिल्लाको छेला दुर्गाभवानी सडक, ढोल्यामोड–हाट सडक, सतबाँझ–सुर्नया, दुदिलाखान गाँजरी सडक, अनारखोली कैलपाल सडक, सिल्लेगडा–कटौजपानी सडक, ढुङगाड–गर्जे, सिल्लेगडा–रिमलगायतका सडक अझै सुचारु हुन सकेको छैन् । सडक सञ्चालनमा नआउँदा सवारीसाधन सञ्चालन र खाद्यान्न ढुवानीमासमेत समस्या भएको छ ।
सडक अवरुद्ध तथा हिलाम्य हुँदा जीप सञ्चालनमा समस्या भएको जीप चालक वीरेन्द्र महराले बताए । सतबाँझ–सुर्नया सडकको कतिपय ठाउँमा हिलोका कारण यात्रुलाई जीपबाट उतारेर धक्का लगाइ अगाडि बढाउनुपर्ने बाध्यता रहेको छ ।
सडक अवरुद्ध भएपछि अत्यावश्यक सेवा, खाद्यान्न सामान ढुवानी गर्न र आवतजावतमा समस्या भएको छ । ग्रामीण सडक सञ्चालनमा ढिलाइ हुँदा दसैँ मान्नका लागि गाउँ आएकालाई फर्किन समेत सकस भएको छ ।
सम्बन्धित निकायले समयमै सुचारु गर्ने प्रयास नगरिदिँदा स्थानीयवासीलाई सास्ती हुने गरेको छ । स्थानीय तहले डोजर लगाएर खनेका अधिकांश सडक अवरुद्ध बनेका स्थानीयवासीले बताएका छन् । सडक खुलाउन अझै कहीँकतैबाट प्रयास नभएको समेत स्थानीयवासीको गुनासो छ ।
सडक बन्द ग्रामीण भेगका बजारमा व्यापारीले हरेक सामानको मूल्य वृद्धि गरी बिक्रीवितरण गर्ने गरेका छन् । यातायातका साधन बन्द हुँदा खच्चर तथा भरियामार्फत व्यापारीले सामान ढुवानी गर्ने गरेका र हरेक सामानमा महँगी भएको नागरिकले गुनासो गरेका छन् । ग्रामीण क्षेत्रमा दैनिक उपभोग्य सामग्रीको मूल्यसमेत महगिएको दोगडाकेदार गाउँपालिका– १ रिमका स्थानीय बासिन्दा कृष्ण साउदले जानकारी दिए ।
वर्षात्का कारण उक्त सडकखण्ड विभिन्न ठाउँमा भत्किएको छ, भने कुनै ठाउँमा माथिबाट पहिरो आएको छ । स्थानीय व्यापारीले भरियामार्फत सामान ढुवानी गर्ने गरेका छन् ।
उनले भने, “सडक सञ्जाल विस्तार भए पनि रिमवासीले अहिले पैदलयात्रा गर्नुपर्ने बाध्यता छ भने दसै तिहारका लागि गाउँ फर्किने सिल्लेगडाबाट झण्डै ५ घण्टाको पैदलयात्रा गरी घर पुग्ने गरेका छन्,सामानको मूल्य पनि बढेको छ । ”
स्थानीय तहले आफ्नो मातहत रहेका कच्ची सडक सञ्चालन गर्न ढिलाइ गरेका हुन् । यता जनप्रतिनिधिले भने ग्रामीण सडक खुलाउने कार्य भइरहेको बताएका छन् । शिवनाथ गाउँपालिकामा अवरुद्ध रहेका सडक खुलाउनका लागि डोजरको प्रयोग गरिएको गाउँपालिका उपाध्यक्ष कुस्मा चन्दले बताए ।
यस्तै अन्य स्थानीय तहले पनि सडक खुलाउने कार्य भइरहेको जनाएका छन् । असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्म अविरल वर्षाका कारण बैतडीमा चार जनाको मृत्यु भएको छ भने करोडौंको धनमालमा क्षति पुगेको छ । रासस