कपिलवस्तु- मध्यरातमा प्रहरीको अगुवाईमा लक्ष्मी मूर्ति बिसर्जन भएपछि कपिलवस्तुको कृष्णनगरमा उत्पन्न विवाद साम्य भएको छ ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी दिपशमशेर राणाले दुई पक्षबीच सहमति भएको र असमझदारी हटाउन सबै पक्ष सकारात्मक रुपमा प्रस्तुत भएको बताए ।
लामो छलफलपछि समस्याको शान्तिपूर्ण समाधानका लागि दुवै पक्ष सहमत भएका हुन् ।
तर स्थानीय प्रशासनले कर्फ्यू हटाएको छैन । अवस्था पूर्ण रुपमा शान्त भएपछि कर्फ्यू हटाउनेबारे तयारी गरेको उनले बताए ।
बिहीबार राती कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रसाद शाहको घरमा जिल्ला सुरक्षा समिति, सुरक्षा अधिकारीहरुको उपस्थितिमा दुई पक्षबीच ११ बुँदे सम्झौता भएपछि प्रहरीको निगरानीमा लक्ष्मीमूर्ति बिसर्जन गरिएको थियो ।
११ बुँदे सम्झौतामा दोषीमाथि कारवाही गर्ने, घटनाको छानविन गर्ने, मृतकका परिवारलाई क्षतिपूर्ति दिने, सदभाव कायम राख्ने लगायतका विषय रहेको एसपी राणाले बताए ।
सहमतिपछि शव तौलिहवास्थित कपिलवस्तु अस्पतालमा पोष्टमार्टमका लागि ल्याइएको छ ।
बुधबार बेलुका लक्ष्मीपूजाको मूर्ति विसर्जन गर्ने विषयमा हिन्दू र मुस्लिम समुदायबीच विवाद भएको थियो । विवादकै क्रममा बिहीबार स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो । बिहीबार नै कर्फ्यूको अवज्ञाका क्रममा सुरज पाण्डेको ज्यान गएको थियो । अन्य केही सर्वसाधारण र प्रहरी समेत घाइते भएका छन् ।
हिन्दू समुदायले लक्ष्मीपूजाको मूर्ति बुधबार साँझ विसर्जन गर्न लैजाँदै गर्दा बाटोमा मुस्लिम समुदायसँग विवाद भएको थियो । बुधबार नै अवस्था असामान्य बनेपछि प्रहरीले २० राउण्डभन्दा बढी अश्रुग्यास प्रहार गरेको थियो । स्थानीय प्रशासनले विवाद उग्र बन्दै गएपछि विहीबारदेखि अर्को आदेश नभएसम्मका लागि कृष्णनगर भन्सार कार्यालयदेखि उत्तरतर्फ ७ सय मिटर, पश्चिमतर्फ ७ सय मिटर, पूर्वतर्फ ३ सय मिटरमा कर्फ्यू आदेश जारी गरेको छ ।