भोजपुर: भोजपुरको टेम्केमैयुङ गाउँपालिका–६ कोट फुसको छानोमुक्त बनेको छ । वडाका आर्थिक अवस्था कमजोर भएका नागरिकलाई लक्ष्य गरेर १०८ घरलाई जस्तापाता वितरण गरेसँगै वडा फुसको छानोमुक्त बनेको हो ।
वडाले रु २० लाख बजेट विनियोजन गरेर ४३ र सहरी विकास कार्यालयअन्तर्गत ६५ विपन्न घरपरिवारले जस्तापाताको छानो पाएको जनाएको छ ।
वडा क्षेत्रको सुन्दरतासँगै बस्तीमा एकरुपता ल्याउनका लागि फुसको छानो हटाउने अभियान सञ्चालन गरेको वडाध्यक्ष सूर्यप्रसाद नेपालले जानकारी दिए ।
सुरुमा वडा कार्यालयले आफैँ बजेट विनियोजन गरेर कार्यक्रम थालेको भए पनि सरकारले नै फुसको छानो हटाउने अभियान सञ्चालन गरेपछि थप सहज भएको उहाँको भनाइ छ ।
उनले भने, “मैले जनतालाई निर्वाचनका बेला दिएको बचनअनुसार अभियान थालेको थिएँ । वडा कार्यालयले रु २० लाख विनियोजन गरेर ४३ घरलाई जस्तापाताको छानो दिएका छौँ । पुनः सहरी विकास कार्यालयबाट थप ६५ गरी यहाँका १०८ घर गरिब तथा विपन्न परिवारको फुसको छानो हटाउन सफल भएका छौँ ।”
आर्थिक अवस्था कमजोर भएका कारण वर्षौँदेखि चुहिने फुसको छानोमा बस्दै आएका घरपरिवारका लागि आभियान सञ्चालनमा ल्याइएको उनले बताए । वडाध्यक्ष नेपालले भने, “वडाले स्थानीयवासीको समस्यालाई सुक्ष्मरूपमा अध्ययन गरेर कार्यक्रम सञ्चालन गरेको छ, हुन त हामीसँग धेरै ठूला–ठूला योजना तथा कार्यक्रम सञ्चालन गर्ने बजेट छैन, तर पनि स्थानीयवासीको स–साना समस्यालाई बुझेर काम गर्न सकियो भने जनतालाई खुशी बनाउन सकिँदोरहेछ ।”
वडाले स्वास्थ्य, शिक्षा, यातायात, विद्युत्, कृषिका क्षेत्रमा पनि योजनाबद्धरूपमा काम गरिरहेको छ । “वडाको सक्रियतामा वडाको सबै ठाउँमा विद्युत् विस्तार भएको छ भने कृषिमा लाग्नेहरुका लागि आर्थिक सहयोग गरिरहेका छौँ, धेरै कृषकलाई अनुदानको व्यवस्था गरेको छौँ ।
सबै टोलमा कृषि सडक खनेका छौँ । पानीको समस्या समाधान गरिएको छ भने सिँचाइको समस्या समाधानका लागि सिँचाइ आयोजना निर्माणको तयारीको अन्तिम चरणमा छौँ”, उनले भने ।
गरिब तथा विपन्न परिवारको आर्थिक अवस्था सुधार गर्न विपन्न लक्षित अन्य कार्यक्रमसमेत सञ्चालन भइरहेको जनाइएको छ । आफ्नो क्षेत्रलाई नमूनासँगै व्यवस्थित बनाउन योजनाबद्धरूपमा अभियान सञ्चालन गरेको वडाको भनाइ छ ।
उसले अभियानका रूपमा फुसको छानो हटाउने कार्यक्रम सञ्चालनमा ल्याएसँगै स्थानीयवासी नागरिक हर्षित भएका छन् । स्थानीयवासी कृष्ण गिरीले भन्नुभयो, “वडा कार्यालयले सञ्चालन गरेका धेरै कार्यक्रम प्रभावकारी छन् ।
वडाको सक्रियतामा वर्षौँदेखि फुसको चुहिने छानोमा बस्दै आएका परिवारलाई लक्ष्य गरेर जस्तापाताको छानो लगाइदिएको छ । यो निकै राम्रो काम हो । यसले वडावासीको मुहारमा उत्साह थपेको छ ।”
वडाले थोरै बजेटमा भए पनि स्थानीयवासीको औचित्य र आवश्यकताका आधारमा योजना तथा कार्यक्रम सञ्चालन गरेकामा सन्तुष्ट रहेको अर्की स्थानीयवासी चिनीमाया भारतीले बताए ।
उनले भने, “थोरै बजेटमा भए पनि वडास्तरमा सञ्चालन भएका काम प्रभावकारी छन् । हाम्रा वर्षौँदेखिका धेरै समस्या थिए । ती काम अधिकांश पूरा भएका छन् । वडा कार्यालयले जनताको समस्या तथा आवश्यकताका आधारमा योजना सञ्चालन गरेको छ ।
हाम्रो सबै टोलमा कृषि सडक विस्तार भएको छ । कृषि उपजलाई सहजरूपमा बजारसम्म बिक्रीका लागि लैजान सकेका छौँ । यो भन्दा ठूलो आशा के गर्नु र हामी सन्तुष्ट छौँ ।”
सबैको घरमा बिजुली
वडाको सबै घरमा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार भएको छ । साविकमा एक मात्र वडा रहेकामा देश सङ्घीय संरचनामा गएसँगै यस ठाउँलाई दुईवटा वडामा विभाजन गरिएको हो ।
नयाँ वडा कार्यालय स्थापना गरेर पनि जनतालाई चाहेअनुसारको सेवा दिएको वडाध्यक्ष नेपालको भनाइ छ । अहिले वडा परिसरमा स्वास्थ्य कार्यालयको स्थापना भएको उनको भनाइ छ ।
उनले भने, “यो निकै ठूलो भूगोल भएकाले दुईवटा वडामा विभाजन गरेर जनतालाई सेवा दिएका छौँ । अहिले नयाँ संरचना भएकाले स्थापनाकालमा धेरै चुनौती थिए । तर अहिले एउटा व्यवस्थित वडा स्थापना गर्न सफल भएका छौँ ।”
भौगोलिक विकटताका कारण विद्युत् विस्तारका लागि एक परिवारको लागि रु पाँच लाखसम्म खर्च भएको उनको भनाइ छ । वडाका सबै घरमा विद्युत् विस्तार भए पनि नियमित विद्युत् नआउँदा भने स्थानीयवासीले समस्या भोग्नुपरेको थियो ।
“हामीले वडामा विद्युत् विस्तार गर्न सफल भएका छौँ । विद्युत् विस्तार भएपछि यो ठाउँ प्रविधिमैत्री भएको छ । तर विद्युत् प्राधिकरणको लापरवाहीका कारण जनता सेवाबाट बञ्चित हुनुपर्ने बाध्यता छ ।
वडावासीले ठूलो त्याग गरेर दुईवटा विद्युत्गृह सञ्चालनमा ल्याउन सहयोग गरेका छन् । उनीहरुको खेत बाँझिएको छ”, उनले भने, “तर ती विद्युत्गृहबाट उत्पादन भएको विद्युत् हाम्रा जनताले किन उपभोग गर्न नपाउने ? यसका लागि सरोकारवाला पक्षले ध्यान दिन आवश्यक छ ।
यो समस्याको विषयमा जानकारी गराउन मेरो वडा क्षेत्रको गुम्बामा सर्वपक्षीय भेलाको आयोजना गरेर जनताले भोगेका समस्याका विषयमा जानकारी गराउने तयारीमा छु ।”
हालसम्म वडा नं ६ कोट, वडा नं ४ नागी र वडा नं ३ अन्नपूर्ण पूर्णरूपमा फुसको छानोमुक्त भएका छन् भने वडा नं ५ खावा, वडा ७ कोट र ८ गोगनेमा पनि अभियान सञ्चालन भइरहेको टेम्केमैयुङ गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष ध्रुवराज राईले भन्नुभयो, “हामीले जनताको आवश्यकतानुसारका आयोजना सञ्चालनमा ल्याएका छौँ । तीनवटा वडा पूर्णरूपमा फुसको छानोमुक्त भएका छन् । अन्य तीन वडामा पनि फुसको छानो हटाउने अभियान चलिरहेको छ ।
हाम्रो गाउँपालिकाको नौवटै वडामा विद्युत् विस्तार भइसकेको छ । यो भनेको मेरो नेतृत्वमा रहेको गाउँपालिकाको सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीको मेहेनतको फल हो । हामी प्रदेश नं १ मा पूर्ण उज्यालो गाउँपालिका घोषणा गर्न सफल भइसकेका छौँ ।”रासस