चितवन: ठूलो सभाहल र खानाका कारण चितनमा आफूलाई चिनाएको दियालो फुडल्याण्डले चाैँथो शाखा काठमाडौँका बालाजुमा सञ्चालनमा ल्याएको छ ।
दश वर्षको बेलायतको अनुभवलाई उपयोग गर्दै यहाँका जनप्रकाश चापागाईले चेन होटल सञ्चालनमा ल्याएका हुन् । उनकै नेतृत्वको समूहले बालाजुमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
दियालो शेषमति बालाजुको नामबाट नयाँशाखा सञ्चालनमा आएको हो । सो शाखाका प्रबन्ध निर्देशक मिलन पाण्डेका अनुसार रु ६ करोड भन्दा बढीको लगानीमा शाखा खोलिएको हो ।
दश रोपनि भाडाका जग्गामा एक हजार ३०० अट्ने दुईवटा बैंकेट हल छन् । उनका अनुसार १५० क्षमताको रेष्टुरराँ छ । उनले भने, “हाम्रो दियालोको चार वटै शाखामा एकै प्रकारका उच्च गुणस्तरका खाना खुवाउँछौं ।” ट्राभल र टुरिजम क्षेत्रमा २५ वर्षको अनुभव सगाल्नु भएका पाण्डेले स्थानीयवासीको आवश्यकता अनुसार बालाजुमा दियालोको चाैँथो शाखा खोलिएको जानकारी दिए ।
शाखाको सांसद भीमसेनदास प्रधान र पूर्व सांसद सुरेन्द्रराज पाण्डेले संयुक्तरुपमा शुभारम्भ गरेका थिए। माछा पोखरी बाइपासबाट करिब ६०० मिटर टाढा अवस्थित सो दियालो फुडल्याण्ड कोभिड अगाडिनै सञ्चालन गर्ने गरी काम गरिएकोमा महामारिका कारण अहिले सञ्चालमा ल्याइएको हो ।
दियालो समूहको पहिलो बैंकेट बसुन्धरा, दोस्रो बुटवल र तेस्रो चितवनमा छ । चितवनमा १९ कोठासमेत छन् । समूहको नेतृत्व गर्दै आएका चापागाईले निकट भविष्यमानै पोखरामा नयाँ शाखा खोल्ने बताए ।
देशका प्रमुख शहरमा बैंकेटको शाखा विस्तार गर्ने तयारी छ । चितवनमा दियालोको दुई हजार २०० जना अट्ने सुविधा सम्पन्न सभाहल रहेको छ । यो जिल्लाकै ठूलो हल हो । यसलाई दुई भागमा बाँढेर विवाह, भोजसँगै कार्यक्रम गर्न सकिन्छ ।
उनी रेष्टुरेन्ट र खानामा आफ्नो बैंकेट उत्कृष्ठ भएको दाबी गर्छन् । चापागाईंकै नेतृत्वको समूहले बत्तीसपुतलीमा अनुपम फुडल्याण्ड र सामाखुशीमा गोधुली फुडल्याण्ड सञ्चालन गर्दै आएको छ ।
भरतपुर महानगरपालिका–५ स्थायी घर भएका उनी यहाँको बालकुमारी कलेजबाट कानूनमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेसँगै बेलायत पुगेका थिए ।
बेलायतमा समेत त्यहाँको तारे होटलका सेफ चापागाईले नेपाल फर्किएर बैंकेट क्षेत्रमा हात हालेका हुन् । नेपालमा चापागाईले बैंकेट क्षेत्रमा परिचित नाम हो । उनका सबै शाखामा एउटै मेनु र दररेट राखिएको छ ।रासस