बुटवल नै थर्किने गरी एकाबिहानै ठूलो आवाजले गर्जियो। म झस्किएर ब्यूझिएँ। घडी हेरेँ। ६ बजेको थियो। आकाशबाट रातभर दर्केको पानी अहिले रोकिएको छ।
राती ईङ्गलिश प्रिमियर लिगका खेलहरु हेरेर सुतेको थिएँ। लकडाउन पछि अन्तिम चरणका खेलहरु भइरहेकाले एउटा पनि छुटाएको थिइनँ। खेल सकिदाँ ३ बजेको थियो। त्यसो त लकडाउन सुरु भएयता समयमै सुत्ने बानी हराएको छ। किताब, गीत र खेलले रातहरुलाई निकै छोट्याएका छन्। यसको असर बिहानै उठ्न नसक्ने भएको छु। सधैं १० बजे उठेर आँखा मिच्दै चिया बनाउने बानी परेको छ।
त्यसदिन ६ बजे नै आँखा खुलेपनि फेरि निन्द्रा परेन। कोल्टे फेरेँ। केहीबेर फेरि निदाउने प्रयास गरेँ। सकिनँ। मन नलागी–नलागी गह्रौं शरीर लिएर उठेँ। अधकल्चो निन्द्राले ‘मुड’ बेचैन बनाएको थियो। मन असन्तुष्ट थियो। त्यसैमाथि आज मर्चवारसम्म गर्नुपर्ने यात्राको झल्यास्स सम्झना आयो। अनि आफैसँग झनक्क रिस उठ्यो। मनमनै सोँचे–आज रातीदेखि १० बजे नै सुत्छु। तर, आज त म्यानचेष्टर युनाइटेडको खेल! तत्काल अर्को प्रण गरेँ–‘भोलिदेखि त पक्का १० बजे नै सुत्छु।’
केही फ्रेस भएर चिया बनाएँ। हातमा चियाको कप लिएर बाहिर पेटीमा बसेर पत्रिका हेर्न थालेँ। मेरो ध्यान पत्रिकाका अक्षरबाट फुत्किएर अघि नै मर्चवारतिर हान्निइसकेको थियो। किनभने आज त्यहाँ पुगेर कोरोना संक्रमणमुक्त भएर घरमै बसिरहेका कृष्ण कुमार पाशवान (कन्हैया)को संक्रमणको भोगाईलाई दस्तावेजीकरण गर्नु थियो।
प्रदेश ५ मा पहिलोपटक कोरोना भाइरस देखिएका दुईजनामध्ये उनीपनि एक भएकाले सम्पूर्ण भोगाईलाई नजिकैबाट नियाल्ने मौका खोजिरहेको थिएँ। त्यसैले कन्हैयालाई भेट्न उनकै गाउँ कोटहीमाईको पूर्वी गाउँ पुर्नीहवासम्म जाने योजना बनाएको थिएँ।
चीनको बुहानदेखि दक्षिण नेपालको देहातसम्म कोरोना आईपुग्दा विश्व नै एउटा ठूलो परिवर्तनको तरङ्गमा तैरिरहेको थियो। सोही तरंगको एक हिस्साका रुपमा कन्हैयाको ‘कोरोना कथा’लाई मैले उतार्नु थियो। त्यो भन्दा त धेरै दिल्लीदेखि घरसम्मको यात्राका बारेमा पनि जान्न मन लागेको थियो। त्यसैले अघिल्लो राती नै कन्हैयाका दाईलाई फोन गरेर समय मागिसकेको थिएँ।

रुपन्देहीमा पहिलो कोरोना संक्रमित फेला पर्दा आएको एउटा तरङ्ग मैले अझैं बिर्सेको छैन। अपरान्ह ५ बजेतिर मलाई थाहा खबरका सम्पादक ज्ञानेन्द्र खड्काले फोन गरे। ‘तपाइँको जिल्लाको कोटहीमाईमा कोरोना संक्रमित भेटिएको भनेर स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ, उनको ट्राभल हिस्ट्री र पारिवारिक डिटेल समेटेर समाचार बनाउनुस् है’–उनले भनेका थिए।
म घरमा थिएँ। सिधैं कोटहीमाई गाउँपालिकामा फोन गरेँ। अध्यक्ष चन्द्रभूषण यादवसँग कुरा भयो। उनले संक्रमण भेटिएको पुष्टि गर्दै ‘लकडाउनमा लुकिछिपी दिल्लीबाट हिडेँरै यहाँसम्म आएको र सिधै क्वारेन्टिन’मा राखिएको जानकारी दिए।
दिल्लीबाटै हिडेँर नेपाल आउनु चानेचुने कुरा थिएन। दुई देशमा कडा रुपमा कार्यान्वयनमा रहेका लकडाउनका बाबजुत पनि दिल्लीबाट हिडेरै यहाँसम्म आउनु आफैमा कथा भएकाले त्यसलाई मैले ‘स्टोरी’ बनाउने उतिबेलै सोचिसकेको थिएँ। त्यसैले आजको भेटका लागि म केही उद्देल्हित थिएँ।
चिया सकेर स्कुटी स्टार्ट गर्ने बेलातिर एकैचोटि दरर पानी वर्षियो। रातभर पनि पानी परेकाले मर्चवारका ती कच्ची सडकहरुको स्वरुप मनमनै आँकलन गरेर बाटो लागेँ। झोला र आफूलाई पानीबाट बचाउन रेनकोट ओढेको थिएँ।
हाटी वनगाईदेखि दक्षिणतर्फ केही वस्तीविहीन क्षेत्र पार गरेपछि सुरु हुन्छ मर्चवार क्षेत्र। मर्चवार अर्थात् रुपन्देहीको ‘कर्णाली’! रुपन्देहीलाई सम्मुन्नत मानिएपनि जिल्लाको सुदूर दक्षिणमा रहेको मर्चवार सधैं बत्तीमुनिको अध्यारो नै रह्यो। आधारभूत आवश्यकता यस देहातका स्थानीयको लागि सधैं आवश्यकताको विषय रहिरह्यो।
यहाँका आधाजसो स्थानीयलाई दुवै छाक हातमुख जोड्ने ‘लक्जरी’ छैन। उनीहरुले छाप्रामा रात गुजारिरहेका छन्। हाटीवनगाईदेखि मझगाँवा पुग्दासम्म त्यहाँबाट देखिएका वस्तीका छाना र मान्छेका पहिरनले यस्तै संकेत गर्थ्यो।
मझगाँवादेखि पूर्व मोडिएर सिपुवा पुग्दा तिनाउ र दानवको संगमस्थलमा जलमग्न थियो। रातभर पानी परेकाले बाटो हिड्न लायक थिएन। स्कुटीको एक्सिलेटर बटार्दै खोलाको तिरैतिर केहीबेर हिडेपछि दक्षिणतिर मोडिएँ। त्यहाँ पूर्निहवा गाउँ देखियो।
गाउँको मुखैमा एउटा किराना पसल थियो। पसल कुरिरहेको भाईलाई कन्हैयाको घर कता हो भनेर सोधेँ। उसले नदेखेको भन्ने भावमा टाउको हल्लायो। फेरि सोधेँ–‘कोरोना लागेको मान्छेको घर कता हो?’
पसलभन्दा तीन वटाजति घर छाडेर पश्चिमतर्फ गएको एउटा सानो गोरेटोतर्फ इसारा गर्दै औला तेर्स्यायो।
गोरेटो हुँदै केही अगाडि गएपछि बाटो सिद्धियो। स्कुटीलाई त्यहीँ बिसाए र घर खोज्न थालेँ। कन्हैयाको घर त्यहीँ रहेछ। नयाँमान्छे देखेपछि ‘पक्कै पत्रकार नै हो’ भनेर कन्हैयाका दाईले ईसारा गरे र घरभित्र बोलाए।
कन्हैयाको घर अर्थात् एक कोठे छाप्रो। जसले गरिबीलाई ढाक्न सकेको छैन। पक्कीघरसँगै जोडेर बनाइएको एउटा छाप्रो छ। पक्कीघर कन्हैयाको काकाको हो। छाप्रोमा एउटा कोठा छ।

कोठाको तीनतिर बाँस, अडहरको सिठा र खरलाई बाँधी बाहिरबाट माटोले लिपेर बनाइएका भित्ता छन्। एकातिर भने काकाको घरको पक्की भित्ता छ। कोठाको ठीक बाहिर खाली ठाउँ छ। बीचमा रहेको अर्को एउटा भित्ताले यो खाली ठाउँलाई दुई तिर पारेको छ। एकातिर खाना पकाउन भान्छा बनाइएको छ। अर्कोलाई पिँढी बनाइएको छ।
घर नपुग्दै पिढीँको खटियाबाट ‘हँह..हँह.’ को चर्को आवाज आइरहेको छ। खटियामा एक वृद्ध शरिर लम्पसार परेको छ। अनुहारको नाममा धर्से मुजा परेको छालालाई अड्याएको हड्डी र हड्डीभित्रै गडेका ठूल–ठूला आँखा छन्। उनी कन्हैयाकी ५५ वर्षकी आमा हुन्। पाठेघरको क्यान्सरका कारण उनको पेट फूलिएका कारण दुःख खप्न नसकेर उनी बर्बराइरहेकी छिन्। घरमा आउने जो कोहीलाई पनि उनको ‘हँह...हँह...’ले नमिठो स्वागत गर्छ। लाग्छ, उनी आफ्नो उपचारका लागि पीडादायी आह्वान सुनाउँछिन्।
पिढीँमा पुगेपछि कन्हैयाले आफू र मेरा लागि अर्को खटिया बिछ्याउँछन्। केही अनौपचारिक कुरापछि आमाको बरर्वरराहटकै बीच खटियामा बसेर मैले कन्हैयालाई बोल्न लगाउँछु। उनले भनेका कुराहरुलाई ‘ट्रान्स्कृप्ट’ गर्न मोबाइलमा रेकर्ड गरिरहेको छु।
उनले घरको वर्णन गर्न सुरु गर्छन्।
‘बाबाले बनाएको छाप्रोमा म, आमा र दाइको परिवार बस्छौं। पिढीँमा रहेका दुई खटियामध्ये एउटामा दाइ र भाउजु सुत्छन्। अर्कामा आमा सुत्नुहुन्छ’–उनी भन्छन्–‘म दाइका दुई छोरी र दुई छोरालाई लिएर खाना पकाउने ठाउँको भुईँमा नै सुत्छु।’
कन्हैयाले घरको बारेमा बताउँदैं थिए। आमा उता अझै जोडले बर्बराइन्। उनी बोल्दा बोल्दै रोकिए । खटियाको मुनि रहेको पानीको बोतल झिके र धारातिर लागे । बोतलको घाँटीसम्म पानी भरेपछि ढकन लगाउँदै उनी फर्किए । टियाको मुनी उसैगरी बोतल राखे जसरी थोरै अघि झिकेर लगेका थिए। आमाको खुट्टातिर फालिएको चम्चा टिपे र त्यसमा पानी भरे । पोखिएला कि झैं गरेर आमाको ओँठ नजिकै चम्चा पुर्याए। आमाले पूरा मुख खोल्न नपाउँदैं खन्याइदिए। केही थोपा पानी ओठको काप हुँदैं कानतिर धर्सो बनाएर बग्यो। उनले चम्चा फेरि खुट्टातिर मिल्काइदिए र हतारहतार म छेउँ अघिकै अवस्थामा बस्न आइपुगे। हामी बसेको पछाडितिर अझैं उनकी आमाको बर्वराहट रोकिएको छैन।
म छेउमा आएर यस्सो के बसेका थिए, उनी फेरि उठे । आमाको सिरानतिर गए । त्यहाँ ठड्याइएको टेबुल पंखाको तीन नम्बरको बटन दबाए ।
धिमा गतिमा घुमिरहेका पंखाका पाता एकैपटकमा बतासिन्छन्। हावाले आमाले ओढिरहेको मजेत्रो उडाइदिन्छ। उनले फेरि २ नम्बरको बटन थिचे । पाताहरु केही थामिन्छन्। अघि खसेको मजेत्रो पहिलेकै जसरी घुँडासम्म ओढाइदिन्छन्। अनि फेरि म छेउँ आएर बस्छन्।
पंखातिर नजर लगाउदै उनी भन्छन्–‘यो पंखा पनि अंकलको नै हो, आमा रहुञ्जेल प्रयोग गर्न भनेर ल्याएका हौं, त्यसपछि बुझाइदिनु पर्छ।’
म दिल्लीदेखि नेपालसम्मको यात्राका बारेमा थाहा पाउन आतुर छु तर, अहिले कन्हैयाले भने त्योभन्दा निकै अगाडिको कुरा गरिरहेका छन्। सानैदेखि भारतको नयाँ दिल्लीमा काम गर्न किन गए भनेर उनले सुनाइरहेका छन्।

कन्हैयाका २५ वर्ष मिर्गीसँग जुध्दाजुध्दै बितेको रहेछ। उनले नियमित औषधी खाइरहेका रहेछन्। तर, कहिलेकाँही खाएनन् भने मुर्छा पर्ने रहेछन्। होसमा आउन कम्तीमा ३ घण्टा लाग्छ रे! त्यो समयमा उनलाई केही थाहा नै नहुने रहेछ। ‘औषधी भने निकै महंगो छ, कहिलेकाहीँ चाहेर पनि नियमित रुपमा खान सक्दिन’ –वाक्य टुङ्गयाउदै उनी भन्छन्।
नियमित औषधि र घरको खर्च चलाउन दाईसँग मिलेर उनले सानैदेखि काममा होमिएका रहेछन्। तीन कक्षासम्म मात्र पढेकाले अन्य कयौं अदक्ष कामदारहरुले जस्तै अनौपचारिक क्षेत्रमा दैनिक ज्यालादारीको रुपमा काम गर्दै आइरहेका रहेछन्।
‘घरमा आमा र भाउजुलाई छाडेर म पनि दाईसँगै दिल्लीको एउटा पुरानो सिलाईकटाईको दोकानमा काम गर्न गएँ, यो केही वर्ष अगाडिको कुरा हो,' उनी भन्छन्,'नयाँ दिल्लीको रेल्वे स्टेशन देखि ५ किलोमिटर पूर्व सिलमपूरमा रहेको एउटा टेलरमा दाईसँग मैले सिलाई कटाईका धेरै कुरा सिकेँ, अब दोकानमा मैले अरुले भन्दा छोटो समयमा धेरै ‘नाईट गाउन’ सिलाउन सक्ने भएको छु।’
कन्हैया र उनका दाई मिलेर त्यसरी नै घर खर्च चलाउँदै आइरहेका रहेछन्। तर, त्यति नै बेला चीनको बुहानमा नयाँ भाइरसले जन्म लिइरहेको थियो। त्यो बारेमा दिल्लीमा काम गरिरहेका कन्हैयालाई थाहै रहेनछ। उनले त चीनमा मान्छे मर्न थालेपछि साहुले सुनाएको भरमा कोरोनाको बारेमा थाहा पाएका रहेछन्।
तर, भाइरस फैलिन कत्ति पनि बेर लागेन। चीनमा देखिएको केही महिना मै पहिलोपल्ट भारतमा पनि देखियो।
त्यसको केही हप्तामा लकडाउन भयो। पहिलो चरणको लकडाउन सकिनै लाग्दा नरेन्द्र मोदीले भाषण गर्दै अर्को लकडाउन थपेपछि ‘दिल्लीमा बस्न नसकिने बरु आमाकै काखमा भएपनि मर्ने’ ठानेर उनी बाटो लागेका रहेछन्।
बल्ल मैले खोजेको दिल्ली यात्रा सुरु हुँदैं थियो। तर, उनले आमाको नाम लिएपछि भने एकछिन आमाकै बारेमा बुझ्न चाहेँ–‘आमालाई क्यान्सर भएको कहिले थाहा पाउनुभयो ?’
भित्तातिर कोल्टे फेर्न खोजिरहेकी आमालाई हेर्दै उनी भन्छन्–‘कोरोना देखिएपछि मलाई जब बुटवल आइसोलेसनमा लगियो, यहाँ घर नै खाली पारेर आमा, दाई भाउजु र छोराछोरीहरु सबैलाई मझगाँवाको क्वारेन्टिनमा राखिएको थियो, त्यतिबेलादेखि आमालाई क्यान्सरको लक्षण देखापरेको थियो।’
क्वारेन्टिनमा लगेपछि आमाको तल्लो पेट दुख्ने र रगत बग्ने समस्या देखिएको भएपनि पैसा नहुँदा दाईले क्वारेन्टिनबाट निकालेर अस्पताल लिएर जान नसकेको कुरा सुनाइरहँदा कन्हैयाको आवाज केही मधुरो बनिसकेको हुन्छ।
आँखामा असन्तोषको भाव झल्किरहेको देखिन्छ। कुरा रोकेर केहीबेर उनले आमालाई हेर्छन्। अनि भन्छन्–‘छोराहरुसँग उपचार गर्ने पैसा छैन भनेर आमाले रगत लुकाउन खोज्नुभएको रहेछ, पछि भाउजुले भनेपछि थाहा भयो ।’
एकछिन उनी चुप बस्छन्। अर्को खटियाबाट आएको बर्बराहट टड्कारो सुनिन्छ। केहीबेरको मौनतापछि मेरो आखाँमा हेर्दै फेरि आफ्नो कुरा सुरु गर्न थाल्छन्। मैले भने उनले जहाँ रोकेका थिए, त्यहीँबाट कुरा सुरु गरेहुन्थ्यो भनेर थप केही प्रश्न गरेको छैन। उनको अगाडि मोबाइल तेस्र्याएर बसिरहेको छु।
तर, मेरो आशाविपरित कन्हैया आफ्नो बाल्यकालमा पुग्छन्। सानैदेखि नै उनकी आमाले उनलाई कन्हैया नाम दिएकी थिइन्।
‘मेरो नाम कृष्ण भएपनि गाउँमा आजसम्म कसैले त्यो नामले बोलाएको छैन, सबैले कन्हैया नै भन्छन्, आमाले सानो छँदा कन्हैया भनेर बोलाउने भएकाले गाउँलेहरुले सिको गरेका रहेछन्, आमाले राखिदिएको नाम भएर होला कृष्ण भन्दा कन्हैयासँग नै म धेरै जोडिएको छु’–उनले भने।

कन्हैयाले बाल्यकालका कुराहरु सकेपछि म फेरि उनकी आमाको रोगको बारेमा जान्न चाहन्छु। फेरि अघिकै प्रश्न दोहोर्याउछु–‘आमालाई क्यान्सर नै भएको भनेर कहिले थाहा पाउनुभयो?’
प्रश्न सकिन नपाउँदैं पछाडिबाट उनकी आमा चिच्याउँछिन्। चिच्याहटले हामी सबैको ध्यान उतै खिच्छ। कन्हैया त्यहाँबाट आफ्नो स्थानबाट जुरुक्क उठ्छन् र आमा सुतेको खटियामा चढ्छन्। उनले आमाका खुट्टालाई एकतर्फ सार्छन्, अब त्यहाँ उनलाई बस्न मिल्ने ठाउँ बन्यो। उनी त्यहीँ टुक्रुस्स बसेर आमाका गोडा दबाउन थाल्छन्। यति गरेपछि आमाको आवाज चिच्याहट बर्बराहटमा झरेको थियो।
गोडा दबाउँदै त्यहीँबाट उनी बोल्न सुरु गर्छन्। उनलाई आमाको स्याहार गर्नुछ, अनि मलाई आफ्ना कथा सुनाउनुछ। पीडा व्यथा अरुलाई सुनाउँदा, मनको बह पोख्दा मन केही हल्का हुन्छ भन्ने उनले बुझेका छन्। मेरा लागि उनले आफ्ना कथाहरु बताइरहेछन्, म उनको पीडाको कथाको साक्षी बनेको छु। म उनको पीडा सुन्नमात्रै सक्छु, अरुलाई बताउन सक्छु, म निरिह छु, उनको पीडामा मल्हम लगाउने कुनै उपाय मसँग छैन।
आईसोलेसनबाट दुईभाई जो निस्केपछि हजुरबुवाको नाममा रहेको तर आफ्नो भागमा परेको १० कठ्ठा जमीन धितो राखेर दुई लाख ८० हजार ऋण लिएका रहेछन्। पैसा लिएर आमालाई उपचार गराउन भरतपुर क्यान्सर अस्पताल लग्दा डाक्टरहरुले क्यान्सर झाङ्गिइसकेकाले उपचार नहुने भन्दै फर्काइदिएका रहेछन्।
‘गएको फेब्रुअरीमा आमा र भाउजुलाई सँगै पेट दुखेको थियो, हामीसँग पैसा थिएन, त्यसैले दाईले दिल्लीबाटै केही पैसा खोजेर नेपाल फर्कनु भयो, तर, त्यो पैसाले दुवैको उपचार गर्न पुगेन, त्यो थाहा पाएर आमाले उपचार गर्न मान्नुभएन। उहाँले भाउजुको उपचार गर्न भनेर आफूले रोग लुकाउनुभएको थियो’–उनी भन्छन्।
कन्हैयाकी आमाको क्यान्सर फैलिएर पाठेघरबाट मुत्रथैली र मृगौलासम्म पुगिसकेकाले डाक्टरहरुले घरमै राखेर उपचार गर्न सुझाव दिएका रहेछन्। त्यसको अर्थ कन्हैयाले आमाको मृत्युको दिन कुरिरहेका छन्। डाक्टरहरुले पनि यही संकेत गरेरै घर पठाइदिएको कन्हैयाको कुराकानीको आशय थियो। कुराकानीका क्रममा बेलाबेलामा मृत्यु भए बरु आमाको ज्यानले दुख नपाउने कुरा दोहार्याइरहन्छन्।
‘यस्तो लाग्छ आमा हामीसँग अब दुईतीन दिनको लागिमात्रै हुनुहुन्छ, कहिलेकाँही त भर्खरै बित्नुहुन्छ कि जस्तो लाग्छ, मलाई थाहा छ मेरो आमासँग साथ छुट्दै छ।’ गोडा दबाइरहँदा केही एकसोरे शैलीमा कन्हैया बर्बराए–‘झ्याप्पै गइहाले बरु आमाको ज्यानले दुःख त पाउने थिएन।’
त्योभन्दा केही गल्ती बोलेजस्तो महसुस गरेर उनले पीडाबोधको भावमा मलाई हेरिरहेका थिए। मैले उनी केही अघिभन्दा निकै सुस्त बर्बराइरहेकाले सबैकुरा रेकर्डरले छोप्न नसकेको जस्तो लागेर मोबाईल केही नजिकै लैजान्छु।
उनी भन्छन्–‘अभावले मायामा समेत सम्झौता गर्नुपर्ने बनाउदो रहेछ।’
आमाको मृत्युलाई सम्झेर होला उनले एकाएक आफ्ना बाबुलाई पनि सम्झन्छन्। कन्हैया ३ वर्षको हुँदा उनका बाबुको मृत्यु भएको रहेछ। उनी पनि मिर्गीका दीर्घरोगी रहेछन्। कन्हैयाले बाबुकै रोग बोकेका रहेछन्।
बाबुको याद आयो भने कन्हैयालाई दाईको सानो छोराले सुत्नेबेलामा कहिलेकाँही सोध्ने एउटा प्रश्न पनि टाँसिएर आउने रहेछ। ‘कहिलेकाँही बाबा बाँचिरहेका भए कहाँ सुत्थे होलान् भनेर दाइको सानो छोराले सोध्छ। तर, यस्ता प्रश्नको मसँग जवाफ नै हँुदैनन्’–उनी भन्छन्–‘म चुपलागेर सुत् भन्छु, ऊ उता फर्केर सुत्छ।’
बाबु बितिसकेका अनि आमा पनि डाँडामाथिको घाम बनेको देख्दा कन्हैयालाई संसारमा अब एक्लो बन्न लागेको अनुभूत हुदोँ रहेछ। लकडाउनमा दिल्लीबाट फर्कदाँ आमासँगै बस्ने रहर लिएर आएका रहेछन्। तर, घर नपुग्दै बाटैबाट क्वारेन्टिन र संक्रमण देखिएपछि क्वारेन्टिनबाट आइसोलेसन अस्पताल जानु परेकाले घर हिडेँको ३० दिनसम्म पनि उनी घर पुगेका थिएनन्।
‘म सञ्चो भएर घर फर्किएँ, तर, यहाँ आमासँगको साथ छुट्दैछ’–यति भनेर उनी मौन बस्छन्।
एकछिन बोल्न सक्दैनन् । सायद उनको गला अवरुद्ध हुन्छ। केहीबेर आँखालाई यता उता घुमाउँछन्। आँखाको डिलमा आँशु भरिएर आयो। उनले त्यो पीडाको आँशुलाई छचल्किन दिएनन्। भित्रभित्रै लुकाए। एकछिनको मौनतापछि थोरै आँखा उठाएर मतिर हेर्दै भन्छन्–‘तपाईलाई थाहा छ, मलाई मिर्गी भएकाले विवाह हुन सकेको छैन, दाई भाउजुले आफ्नो घर सम्हालेका छन्, मेरो संसार भनेकै आमा थिइन्।’
यति भनेर रसाएर राता भएका आँखा फेरि तलतिर हेर्छन्। ओँठ भने हल्लिरहेको देखिन्छ।
अहँ मलाई थाहा थिएन। कन्हैया हुर्केको समाजको रिवाजलाई हेर्ने हो भने उनको विवाह आजभन्दा ८–१० वर्ष अगाडि नै हुनुपर्ने हो। तर, उनी विवाहित हुन् या अविवाहित भनेर मैले अझैं सोधेको छैन।
त्यहाँ केहीबेर शुन्यता छाउँछ। अहिले मैले केही सोधेको छैन। उनले पनि केही भनेका छैनन्। पंखाको एकोहोरो आवाज र आमाको बर्बराहट भने एक आपसमा जुधिरहेका छन्।
अब केहीबेर कुरा नहुने छाँट देखिएपछि मैले रेकर्डर बन्द गर्छु। कन्हैया आमाको गोडा मिच्न छाडेर धारातिर जान्छन्। धाराको छेवैमा भित्ता नभएको ट्वाइलेटको ‘फाउण्डेशन’ मात्रै रहेछ। मैले बल्ल ख्याल गर्छु।
संस्थाले ‘फाउण्डेशन’ बनाइदिने तर भित्ता भने घरधनी आफैले हाल्नुपर्ने भएपनि त्यहाँ भित्ता नहुनुले एउटै कुरा प्रष्ट पारिरहेको थियो–भित्ता बनाउन कन्हैयाका परिवारसँग पैसा छैन।
केहीबेरमै कन्हैया मुख धोएर आउँछन्। सायद उनले आँशुका टाटा पखालेर आए। मसँग पीडाको कथा त भन्न चाहन्छन्, तर त्यो पीडाका कारण झर्ने आँशु लुकाउन खोज्दैछन्। सायद, त्यस्तो चाहन्छन् उनी।

म खटियामा उनलाई कुरेर बसिहेको थिएँ। लकडाउनकै बीच दिल्लीदेखिको यात्रालाई उनकै आवाजमा रेकर्ड गर्न मोबाइल उस्तै तयार नै थियो। करिब डेढ घण्टामा उनले दिल्लीदेखि आइसोलेसन अस्पतालबाट डिस्चार्ज भएर कोटहीमाईसम्मको यात्राको बेली विस्तार लगाउँछन्।
उनका कुरा सुनेपछि उनीसँगको अन्तर्वार्ता सकिन्छ। मैले मोबाइलमा रेकर्ड सेभ गर्छु र घडी हेर्छु। दिउसोको २ बजेको छ। बिहान चियामात्रै खाएर हिडेँकाले भोक पनि लागिरहेको छ। त्यसैले बुटवल नै पुगेर खाने विचार गर्दै कन्हैया र उनका दाईसँग बिदा मागेर त्यहाँबाट निस्कन्छु। उनको पीडाको कथा मैले मोबाइलमा रेकर्ड गरेर ल्याएँ। पीडा उनीसँगै रह्यो। मैले न ल्याउन सक्थेँ, न लिन सक्थेँ।
यी मानिसको पीडा कम हुने केही उपाय भए त म गर्थेँ होला नि भनेर निस्किएँ। सायद, राज्यले यस्तो वर्गको लागि केही गर्नुपर्थ्यो। तर खै के गरिरहेछ।
दिउँसोको समय भएर होला, लकडाउन खुलिसकेको भएपनि भैरहवादेखि उत्तर लाग्दा सडकमा त्यति धेरै गाडीहरु चलेका छैनन्। बिहानभर पानी परेर भिजेको सडकमा लडिबुडी गर्दै आएका हावाका झोक्काले मध्यम गतिमा कुदिरहेको स्कुटरलाई ठक्कर दिन्छन्। मेरो ध्यान भने निकै परको क्षितिजमा छ। त्यहाँ बुटवललाई काखमा लिएर बसेका चुरेमा निकै निला देखिएका छन्।
त्यति नै बेला मेरो मनमा एउटा ताराको याद आउँछ। यो तारा मध्यरात आकाशमा सप्तऋषि तारामण्डलबाट एक्लिएर बस्छ। पृथ्वीबाट हेर्दा लाग्छ, सप्तऋषिका सात वटै तारा जत्तिकै यो पनि चम्किरहेको छ।
तरपनि, तारामण्डलमा समावेश हुन सकिरहेको छैन।

केही पर फरक गतिमा यसले ब्रह्माण्डको चक्कर काटिरहेको छ। रुपन्देहीका पहिला कोरोना भाइरस संक्रमित कन्हैयालाई भेटेर फर्किदा बाटोमा मैले यही तारालाई सम्झिरहन्छु। ताराजस्तै कन्हैया पनि केही दूरीमा बाँचिरहेका छन्। राज्यभन्दा केही पर। सायद, राज्यले उनको पीडालाई चिन्दैन।
भारी मन लिएर म बुटवल फर्कन्छु। आएर सधैं खाजा खाने होटेलमा बसेर चिया पिइरहेको थिएँ। केही बेरमा मोबाइल बज्छ। कन्हैयाको रहेछ।
‘हेलो।’
‘आमाले भर्खर छाड्नुभयो, तपाईं निस्केको केहीबेरमा नै यस्तो भयो,’ उताबाट आवाज आउँछ। उफ्ऽऽऽऽ
उनको बारेमा लेखिएको कथा यहाँ पढ्नसकिन्छ :
.