रुपन्देही । रुपन्देहीका विभिन्न स्थानीय तहले किसानको खेतमा धान रोपेर असार १५ अर्थात धान दिवस मनाएका छन् ।
बुटवल उपमहानगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह लगायतका स्थानीय तहले धान दिवसको अवसरमा किसानको खेतमा रोपाइँ गरे ।
नगरका प्रमुख, उपप्रमुख तथा विभिन्न दलका नेता कार्यकर्ताहरुले किसानको खेतमा पुगेर रोपाइँ गरेका थिए ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेको नेतृत्वमा वडाध्यक्षसहितका जनप्रतिनिधि, राजनीतिकदलका नेता, कार्यकर्ता, किसानको टोलीले बुटवल १९ का तिलक थारुको खेतमा रोपाइँ गरेका हुन् ।
रोपाइँ कार्यक्रमअघि आयोजित कार्यक्रममा नगरप्रमुख खेलराज पाण्डेले बुटवल १८ र १९ को क्षेत्रलाई हरियाली क्षेत्रका रुपमा विकास गर्ने बताउनुभयो ।
यस्तै ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ भन्ने मुल नाराका साथ तिलोत्तमामा पनि राष्ट्रिय धान दिवस मनाइएको छ । नगरप्रमुख रामकृष्ण खाण र उपप्रमुख जागेश्वरीदेवि चौधरीले तिलोत्तमाको वडा नं १० मा रहेको कृषि सञ्जालले राखेको कार्यक्रमा धान रोपाइँ गर्नुभयो ।
यसैगरी देवदह नगरपालिकाले पनि किसानको खेतमा रोपाइँ गरी धान दिवस मनाएको उपप्रमुख विद्यालक्ष्मी गुरुङले जानकारी दिनुभयो ।
वि.सं २०६१ सालमाविश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्राष्ट्रिय धानवर्ष घोषणा गरेपछि नेपालमा वि.सं २०६१ मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धानदिवस मनाउन सुरु गरिएको हो ।