रुपन्देही । रुपन्देहीको तिलोत्तमामा एक युवती मृत अवस्थामा फेला परेकी छन् । तिलोत्तमा–३ शंकरनगर बस्दै आएकी अन्दाजी २३ वर्षीया अस्मिता पटहरा शर्मा पश्चिम पहुनी स्थित तिनाउ नदीमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिनुभयो ।
गत शुक्रबार ब्युटिपार्लर जान्छु भनी घरबाट हिँडेकी शर्मा घर नफर्किएपछि शनिबार अस्थायी प्रहरी चौकी ड्राईभरटोलमा आफन्तले खोज तलासका लागि निवेदन दिएका थिए । खोजी गर्नेक्रममा तिनाउ खोलाको बिचमा घोप्टो परेको अवस्थामा अस्मिताको शव फेला परेको प्रहरीको भनाइ छ ।
गुल्मी दरबार गाउँपालिका –४ घर भई हाल तिलोत्तमामा सासुसँगै भाडामा बस्दै आएकी अस्मिताको दुई महिनाअघि विवाह भएको हो । अस्मिताका श्रीमान रोजगारीका लागि भारतमा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक केसीले बताउनुभयो ।