रुपन्देही । बुटवलको एक होटलमा बुटवल उपमहानरपालिका– २ की एक किशोरी मृत अवस्थामा फेला परेको घटनामा अनुसन्धानका लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
मृतक १६ वर्षीय किशोरी सुदिक्षा गुरुङका बुवा सन्दिपले दिएको जाहेरीका आधारमा बुटवल — ३ निवासी २० वर्षीय असिम श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यसैगरी अनुसन्धानका लागि होटलका सञ्चालक ४३ वर्षीय रामप्रसाद अर्याललाई पनि प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालयका प्रमुख ठगबहादुर केसीले जानकारी दिनुभयो ।
गत शनिबार दिउँसो बुटवल उपमहानरपालिका–३ गोलपार्कस्थित होटलको कोठामा १६ वर्षीया सुदिक्षा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । शुक्रबार साँझ अहिसमसँगै होटलमा गएकी सुदिक्षालाई झुण्डिएको अवस्थामा देखेपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।
मृतकका परिवारजनले असिम श्रेष्ठ विरुद्धमा जवरजस्ती करणी र आत्महत्या दुरुत्साहन कसुरमा जाहेरी दिएपछि श्रेष्ठ र अर्याललाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको प्रमुख केसीले बताउनुभयो ।
यसअघि इलाका प्रहरी कार्यालयले दिएको सूचनामा मृतकको नाम समिक्षा र उमेर १७ वर्षको भएको उल्लेख गरिएपनि मृतकका बुवाले दिएको जहेरीमा भने मृतक किशोरीका नाम सुदिक्षा गुरुङ रहेको र उमेर १६ वर्षको रहेको उल्लेख छ ।