रुपन्देही । तानसेन–रिडी–तम्घास सडक खण्ड अन्तर्गत पाल्पाको लघुवामा बस दुर्घटना हुँदा छ जना यात्रुको मृत्यु भएको छ ।
वाग्लुङको बुर्तिवाङदेखि गुल्मी, पाल्पा हुँदै बुटवलतर्फ आउँदै गरेको लु १ ज ५९५२ नम्बरको बस आज दिउँसो ४ः३० बजे रिब्दिकोट गाउँपालिकाको लघुवास्थित भीरबाट तल खस्दा तीन महिला र तीन पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरी कार्यालय लुम्बिनीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाणका अनुसार दुर्घटनामा चालक सहित १६ जना यात्रु घाइते भएका छन् । जसमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । दुर्घटनामा पाँच जनाको अवस्था मध्यम र नौ जनाको अवस्था सामान्य रहेको छ ।
घाइते घाइतेमध्ये ७ जनाको मिसन अस्पताल र अन्यको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मृतकको शव जिल्ला अस्पताल पाल्पामा राखिएको र अझै सनाखत हुन नसकेको ट्राफिक प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक खाणले बताउनुभयो । बस सडकबाट झण्डै सय मिटर तल खसेको थियो ।