काठमाडौं । काठमाडौंमा एकै परिवारको चारजनाको शव विभत्स अवस्थामा फेला परेको छ ।
सोमबार बिहान तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली, पदमसालस्थित घरमा दिनेश पाण्डे, उनकी श्रीमती सुनिता काप्री पाण्डे, १३ वर्षकी छोरी आशिका र ८ वर्षका छोरा आशिक मृत भेटिएका थिए ।
बिहान विद्यालयको गाडी लिन आएको बेला कोही पनि बाहिर ननिस्किएपछि घटनाको रहस्य सार्वजनिक भएको हो ।
विद्यालयको गाडीले हर्न बजाउदा बाहिर कोही पनि ननिस्किएपछि छिमेकीले मूल ढोका ढकढक्याए तर कसैले पनि ढोका नखोलेपछि छिमेकीले प्रहरीले खबर गरेका थिए । पछि प्रहरी आएर ढोका खोल्दा चारजानको शव विभत्स अवस्थामा फेला परेको छिमेकीले बताएका छन् । मृत भेटिएका चार जनाको शव पोस्टमार्टमका लागि लगिएको छ ।
प्रहरी तथा शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक टोलीले घटनास्थलमा आवश्यक अनुसन्धान सकेर शव उठाएको हो । उनीहरुको शवको शिक्षण अस्पताल महाराजगञ्जमा पोस्टमार्टम गरिने छ । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।