काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभरका विमानस्थल भित्र सुर्ती, चुरोटसहितका वस्तुको सेवनमा पूर्ण प्रतिवन्ध लगाएको छ । भरतपुर विमानस्थलमा ई–सिगरेट पिएको पाइएपछि प्राधिकरणले देशभरका सबै विमानस्थलमा यस्ता वस्तुको सेवनमा पूर्ण निषेध लगाउने निर्णय गरेको हो ।
प्राधिकरणले हालै देशभरका नागरिक उड्डयन कार्यालय र वायुसेवा सञ्चालकहरुलाई पत्र लेख्दै विमानस्थल क्षेत्र भित्र सुर्तीजन्य पदार्थलगायत कुनै पनि प्रकारका वस्तु (ई–सिगरेट) समेतको प्रयोग गरी धूम्रपान गर्न पूर्ण निषेध लगाएको जानकारी गराएको हो । यस्ता गतिविधिको अब विमानस्थल प्रशासनले नियमित अनुगमन गर्नुपर्नेछ । विमानस्थल क्षेत्र भित्र खटिने सरोकारवाला र सर्वसाधारणलाई चेतानामुलक प्रचार–प्रसार सामग्री प्रदर्शनको व्यवस्था गर्न प्राधिकरणले सबै कार्यालयलाई सूचित गरेको छ ।