रुपन्देही । कालिका मानव ज्ञान विद्यालय परिसरमा नेपाल स्वयंसेवी रक्तदाता समाज, तिलोत्तमा शाखा र रुपन्देही नागरिक समाजको संयुक्त आयोजनामा पन्ध्रौं नियमित रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश महासचिव कृष्ण पंगेनीले रक्तदातालाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्दै रक्तदान अभियान सबैको साझा अभियान भएको बताउनुभयो ।
नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले ७४ पटक रक्तदान गर्दै युवाहरुलाई रक्तदानमा अग्रसर गराउने लक्ष्यका साथ कार्यक्रम चलाइरहेको बताउनुभयो ।
नेपाल स्वयंसेवी रक्तदाता समाज तिलोत्तमा शाखा अध्यक्ष गोविन्द भुसालले संस्थागत रुपमा रक्तदान अभियानलाई चलाउँदै आएको बताउनुभयो ।
नागरिक समाजका सल्लाहकार टेकबहादुर थापा, कालिका माविका अध्यक्ष होमबहादुर गलामीले रक्तदानको महत्व समुदायमा बुझाउन पनि चोकचोकमा रक्तदान कार्यक्रम गर्न आवशयक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा १ सय २ पोइन्ट रगत संकलन भएको संयोजक शंकर गौतमले जानकारी दिनुभयो ।