रुपन्देही । बुटवलमा भूमिहिन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण गर्न जग्गा नापजाँचको काम सुरुआत भएको छ ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले आज बुटवलको वडा नं १७ बाट नापजाँचको उद्घाटन गर्दै भूमिहीन तथा सुकुम्बासीको समस्या समाधानका लागि कामको शुरुआत गरिएको बताउनुभयो ।
प्रक्रिया पूरा भएका बुटवल क्षेत्रका सबै भूमिहिन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीलाई लालपूर्जा दिइने उहाँको भनाइ छ ।
उहाँले जग्गा नापजाँचका लागि खटिएका नापी अधिकृत र अमिनलाई सघाउन र सहकार्य गर्न पनि आग्रह गर्नुभयो ।
राष्ट्रिय भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्य क्षेत्रीले बुटवल उपमहानगरपालिकाको सहकार्य र समन्वयकै कारण बुटवलमा नापजाँचको काम शुरु गर्न सम्भव भएको बताउनुभयो ।