रुपन्देही । बुटवलको एक होटलमा एक जोडी मृत अवस्थामा फेला परेका छन् । बुटवल उपमहानगरपालिका – २ मा फूलबारीचोकमा रहेको कारीकोट होटलको कोठामा एक जोडी मृत फेला परेका प्रहरीले जनाएको छ ।
धादिङ्ग घर भएका अन्दाजी ३५÷३६ वर्ष उमेरका सिताराम भुजेल र पहिचान नखुलेकी अन्दाजी २५ वर्षीया युवती सोमबार मृत फेला परेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेले जानकारी दिनुभयो ।
युवतीको नाम पुष्पा भनिएपनि थर र घरको पूरा ठेगाना पूरा खुल्न नसकेको उहाँको भनाइ छ । युवक कोठाको पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
होटलको कोठमा तन्ना र टावेलमा रगत लत्पतिएको अवस्था रहेकाले युवतीको हत्या गरी आफूले आत्माहत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ ।
उनीहरु आइतबार राति होटलमा बस्न आएका थिए । उनिहरुको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।