बुटवल-बाँके राष्ट्रिय निकुञ्जका दुईजना कर्मचारी श्रोत नखुलेको रकमसहित पक्राउ परेका छन्।
बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकाया करिब ९ लाख रुपैयाँ घुससहित रुपन्देहीबाट पक्राउ परेका अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए। भुसालका अनुसार उनीहरु नगद ३ लाख ४८ हजार घुस रकम र ५ लाख ५० हजारका विभिन्न बैँकका चेकसहित पक्राउ परेका हुन्।
अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई निकुञ्जकै बा.२ झ १८७३ को गाडीमा यात्रा गरिरहेको अवस्थामा पक्राउ गरेको उनले बताए।
उनीहरु सोमबार दिउँसो सैनामैना नगरपालिका–१० बाट पक्राउ परेका हुन्। उनीहरुसँग आएको रकम र उनीहरुले कहाँ लैजाँदै थिए भन्नेबारे अनुसन्धान थालिएको भुसालले बताए।