रुपन्देही । बुटवलका अधिकांश मासु पसल फोहर र अव्यवस्थित रहेको पाइएको छ । बुटवल उपमहानगरपालिकाका उपप्रमुख साबित्रादेवी अर्यालको नेतृत्वमा आज भएको अनुगमनका क्रममा वधशाला सरसफाइमा ध्यान नदिएको पाइएको हो ।
चाडपर्वमा सबैभन्दा बढि उपभोग हुने मासुजन्य पदार्थमा हुने कालोबजारी तथा गुणस्तरहीन वस्तुको विक्रीवितरण नियन्त्रण गर्न बुटवल उपमहानगरपालिकाले मासु पसलमा अनुगमन गरेको थियो ।
बुटवलको इँटाभट्टी, तीनकुने, होराइजन चोक, देवीनगर लगायतका क्षेत्रमा सञ्चालनमा रहेका बिभिन्न क्षेत्रमा सञ्चालित ११ मासु पसलमा गरिएको अनुगमनमा वधशालामा सरसफाइमा ध्यान नदिइएको पाइएको हो ।
अनुगमनका क्रममा तीनवटा पसलमा अखाद्य मासु विक्री गरेको पाइएको छ भने अधिकांशमा वधशाला सरसफाइमा ध्यान नदिको पाइएको उपप्रमुख अर्यालले बताउनुभयो । अखाद्य मासु भेटिएकालाई उपमहानगरपालिकामा बोलाइएको छ भने अन्यलाई मापदण्ड अनुसार काम गर्न निर्देशन दिइएको उहाँले जानकारी दिनुभयो ।
बुटवलको इँटाभट्टीको कुरैशी मासु पसल र स्माइली मासु पसल तथा देविनगरमा रहेको श्रेष्ठ मासु पसलबाट अखाद्य मासु जफत गरिएको छ । यी मासु पसलबाट २२ किलो बढि अखाद्य मासु फेला पारि नष्ट गरिएको बुटवल उपमहानगरका बरिष्ठ अधिकृत ठगिश्वर शर्माले बताउनुभयो । वधशाला तथा मासु पसल सफा राख्न निर्देशन दिइएको उहाँको भनाइ छ ।
देविनगरमा रहेका दिनेश फ्रेस हाउस र नमस्ते गाउँले मासु पसलले सडक क्षेत्रमा वधशाला बनाएको पाइएको छ भने तिनकुनेमा रहेको निमेस मासु पसलको बधशाला निकै फोहर पाइएको छ ।
यस्तै इँटाभट्टीको माइला मासु पसल, ज्योति माइला मासु पसल र मेहेदी मासु पसल तथा होराइजन चोकको मामा मासु पसल र राजनफ्रेस हाउसमा अनुगमन गरी पलस सफा र व्यवस्थित बनाउन सचेत गराइएको छ ।
अनुगमनका क्रममा बोल्दै उपप्रमुख अर्यालले चाडपर्वको समयमा मासुको प्रयोग बढि हुने भएकोस्वच्छ र स्वस्थ्य मासुको विक्रीवितरण हुनुपर्ने बताउनुभयो ।
मासुलाई तापक्रम व्यवस्थापन गरी राख्नुपर्ने भएपनि त्यो अनुसार सञ्चालन नभएका कारण व्यवसायीहरुलाई उपमहानगरपालिका कार्यालयमा बोलाइएको पशु चिकित्सक झबिन्द्र बन्जाडेले बताउनुभयो ।
अनुगमनमा उपप्रमुख अर्यालसहित उपमहानगरका कर्मचारी, पशु चिकित्सक, बुटवल उद्योग वाणिज्य संघका प्रतिनिधि, उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि, पत्रकार, नगर प्रहरी लगायतको उपस्थिती रहेको थियो ।