काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध दर्ता भएको किशाेरी बलात्कारसम्बन्धी उजूरीमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ। बलात्कारसम्बन्धी उजुरीमाथि प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले संयुक्तरुपमा अनुसन्धान सुरु गरेको हो।
प्रहरीले उजूरीमा उल्लेख गरिएको होटलका सीसीटीभी फुटेजको समेत अनुसन्धान गर्ने प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिनुभयो।
मैनालीका अनुसार लामिछानेमाथि किशाेरीमाथि बलात्कार गरेको आरोपमा प्रहरी वृत्त गौशालामा उजूरी दर्ता भएको हो। उजूरीमा स्याङ्जाको आरुचौर गाउँपालिका स्थायी घर भएर काठमाडौं बूढानीलकण्ठ बस्ने लामिछानेले भदौ ५ गते काठमाडौं र भक्तपुरका विभिन्न होटलमा पीडितलाई लगेको उल्लेख छ। होटलमा लगेर भदौ ६ गते राति पटक–पटक बलात्कार गरेको उजुरीमा उल्लेख गरिएको छ।
लामिछानेविरुद्ध उजूरी दर्ता भएपछि पीडितलाई एकद्वार संकट व्यवस्थापन केन्द्र (वान डोर क्राइसिस म्यानेजमेन्ट सेन्टर) मा लगेर स्वास्थ्य परीक्षण गराएको प्रहरीले बताएको छ।
भदौ २१ गते प्रहरी वृत्त गौशालाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तान सन्दीप लामिछानेले भदौ ५ गते भक्तपुरका विभिन्न स्थानमा घुमाएर काठमाडौं ल्याएर रातको २३ः ५५ बजे काठमाडौं–९ स्थित एक होटलको कोठा नं. ३०५ मा भदौ ६ गते रातिको १२ः२५ बजे पटक पटक जबर्जस्ती गरेको छ।’
कप्तान लामिछानेमाथि लागेको बलात्कार आरोपको अनुसन्धानको क्रममा प्रहरीले थप प्रमाण खोज्न थालेको छ। उजूरीमा नाम उल्लेख गरिएका होटलका सीसीटीभी फुटेज चेक गर्ने जनाएको छ।
‘