बुटवल । उपभोक्ता हित संरक्षण मन्च लुम्बिनी प्रदेशले उपभोक्ताका पिता(फादर अफ कन्जुमर)नर्बु लामा नथाकको स्मरण गर्दै आफनो स्थापना दिवस मनाइएको छ ।
उक्त कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपमेयर सावित्रा अर्यालले आफू नर्बु लामा नथाकको प्रेरणाबाट यो अभियानमा जोडिएको भन्दै आफ्नो विशेष जिम्मेवारी छ भन्नुभयो । उपमेयरको हैसियतले बजार अनुगमन गर्ने कामको पनि जिम्मेवारी पाएको समयमा आफनोे पालामा उपभोक्ताको विषयमा स्मरणीय काम गर्ने अठोट गर्नुभयो । उहांले वक्ताहरुले राखेका जिज्ञासाको उत्तर दिदै बजारलाई स्वच्छ र स्वस्थ राख्न आफू जिम्मेवारीका साथ लाग्ने बताउनुभयो । उहांले फलफूल, मासु र दूधजस्तो संवेदनशील खाद्यवस्तुको अनुगमन गर्दे आलीदेखि थालीसम्म, गोठदेखि ओंठदेखि स्वच्छ राख्न निरन्तर लाग्ने अठोट गर्नुभयो । बजार सुधारको लागि आफूहरु राजनीतिक दबाबमा नपर्ने भन्दै आफ्नो कार्यकालमा स्मरणीय काम गरेरै छोड्ने बताउनुभयो । विशेष गरी फलफूल, दूध र मासुजन्य उत्पादन र वितरणमा स्वच्छता ल्याउन सघन रुपमा अनुगमनको खाँचो छ, उक्त काम हाम्रो उपमहानगरपालिकाले गर्नेछ भन्नुभयो ।
कार्यक्रममा व्यापार संघका पूर्व अध्यक्ष यमलाल लोहनीले बजारमा नियामक निकायको अभावको कारण बजार अस्तव्यस्त रहेको स्वीकार गर्दै यसलाई नियामक निकायले तत्काल अनुगमन गरी उपभोक्तालाई न्याय दिनजरुरी रहेको बताउनुभयो ।
उहांले शिक्षा, स्वास्थ्य क्षेत्रमा तत्काल अनुगमनको खाँचो रहेको भन्दै विशेषगरी कमदार मजदूरहरुको हक हितमा कुनै काम नगरेको र उनीहरु शोषणमा परेको बताउनुभयो । वस्तु र सेवामा गुणस्तर कायम गर्नका लागि अझै धेरै लाग्नु पर्ने बताउनुुभयो । उहांले कोभिडको समयमा भएको जीवन बिमाले बिमाकर्ताहरुलाई ठगेको भन्दै अक्रोश पोख्नुभयोे ।
कार्यक्रममा आर्थिक अनुसन्धान केन्द्रका अध्यक्ष हुमराज भुसालले निजी तथा सामुदायिक विद्यालयहरुका क्यान्टिनहरु तुरुन्त अनुगमन गर्नुपर्ने भन्दै त्यहाँ क्यान्टिनको नाममा शोषण भएको बताउनुभयो । उहांले क्यान्टिनहरुले विद्यार्थीको स्वास्थ्यमा खेलबाड गरेको बताउँदै पाठ्यपु्स्तकमा शोषण भएको छ यसलाई अनुगमनबाट तुरुन्त नसच्याएविद्यार्थी अभिभावकहरु मारमा पर्ने बताउनुभयो । यस्ता कुराहरुमा सामुदायिक विद्यालयहरु पनि कम नरहेको भन्दै आलोचना गर्नुभयो ।
रुपन्देही उद्योग संघका अध्यक्ष माधव अर्यालले उपभोक्ता हित संरक्षणको लागि आफू पूर्ण रुपमा लाग्ने बताउँदै बजारलाई स्वच्छ र स्वस्थ बनाउन उपमेयर लाग्नु पर्ने बताउनुभयो । बजारमा म्याद नाघेका वस्तुहरुको रिप्याकेजिङ्ग र रिलेबलिङ्गको समस्या रहेको भन्दै सबैलाई वैधानिक रुपमा मूल्य मान्यताको व्यापार गर्न अनुरोध गर्नुभयो । उहांले उपभोक्ता हित संरक्षण मन्चलाई आर्थिक रुपमा सबल बनाउन उपमहानगरपालिकाको ध्यान जाओस् भन्नुभयो ।
इन्सेक प्रतिििनधि रिमा बिसीले बजारमा शोषण हुनु मानवअधिकार विरुद्ध हो भन्नुभयो । उपभोक्ता अधिकार मौलिक अधिकारभित्र पर्ने हुँदा यसको सशक्त कार्यान्वयनको लागि हामी लाग्नु पर्ने बताउनुभयो । मानिस स्वार्थी प्राणी हो भन्दै उसले नाफाबाट प्रेरित भएर विभिन्न तरिकाले उपभोक्तालाई शोषण गर्न ठग्न सक्ने भएको हुनाले हामी अनुगमनमा कठोर रुपमा लाग्नु पर्ने बताउनुभयो । अब प्रादेशिक व्यापार तथा व्यवसायिक ऐनको आवश्यता रहेकोले प्रदेश सरकारलाई ध्यानकर्षन गर्न सुझाउनुभयो ।
रुपन्देही डेरी व्यवसायी संघका अध्यक्ष गणेश सिंह भण्डारीले बजारमा मिल्क टेस्टिङ्ग कीटको अभाव छैन तर दूग्ध व्यवसायीहरुले स्वच्छ तथा स्वस्थ्य दूध आपूर्तिको लागि अझै इमान्दार नभएको भन्दै वृद्धवृद्धा, बिमारी तथा बालबालिकालाई शुद्ध र स्वच्छ दूध खुवाउन इमान्दारपूर्वक लाग्नुपर्ने बताउनुभयो । उहांले कन्जुमर कोर्ट चाहियो भन्दै उपभोक्ता हित संरक्षण मन्च त्यसको लागि लाग्नुपर्ने बताउनुभयो । थुनेलो भएको पशुको दूध पाश्चाराईजेशन प्रक्रियाबाट शुद्ध बनाउन सकिन्छ भन्दै दूधलाई फाट्न नदिनका लागि अस्वाभाविक रुपमा काष्टिक सोडा लगायतका रसायनिक पदार्थ घोलेर अस्वस्थ्य बनाएको बताउनुभयो । उहांले बजारमा दूधको अत्यधिक खपत हुने भएको र बाल वृद्धवृद्धा र बिमारीहरुलाई दूध खुवाउने प्रचलन भएकोले अनुगमनमा ध्यान दिन आग्रह गर्नुभयो ।
खुद्रा किराना व्यवसायी संघ रुपन्देहीका अध्यक्ष मोहनप्रसाद बस्यालले ठूला व्यापारीहरुले समय समयमा गरिने स्टकबाट कृतिम अभाव देखाएर मूल्य बढाउने प्रक्रियालाई रोक्न सरकार लाग्नुपर्ने बताउनुभयो । हामी उपभोक्तासँग सिधै जोडिने हुँदा सबै दोषको भारी हामीले बोक्नु परेको बताउँदै अब उपभोक्तामैत्री वातावरण बनाउन ठूला व्यापारीतिर अनुगमन सोझ्याउन आग्रह गर्नुभयो ।
मानवअधिकार निगरानी समूहका अध्यक्ष कमला भण्डारी ज्ञवालीले विद्यालयले चर्को फि लिने, सफा शौचालय नहुने, स्वच्छ खानेपानीका अभाव हुने विषयमा निरन्तर निगरानी गरिरहेको बताउनुभयो । सेवा र वस्तुको गुण्स्तरमा ध्यान दिनुपर्ने भन्दै फोहरमैला, सडक पेटी, व्यापार, छाडा चौपायाका कुराहरु पनि उठाउर्ने बताउनुभयो । यसको लागि हामी उपभोक्ता हित संरक्षण मन्चसँग सहकार्य गर्न तत्पर छौ भन्नुभयो ।
घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष कन्हैयालाल कसौधनले हामी पा्रकृतिक बाटो हिंड्नुपर्ने बताउनुभयो । विषादीमुक्त रासायनिक मल नहालेको उत्पादनमा जोड दिने हो भने मानव स्वास्थ्यमा असर पार्दैन । बोटलमा भन्दा प्रकृतिमा रहेको स्वच्छ पानी खाँदा रोगको असर कम हुन्छ भन्दै हरेक कुराहरुमा प्रकृतिको नजिक भएर हिंड्नुपछ,उहांले भन्नुभयो ।
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका अध्यक्ष रामप्रसाद गौतमले ग्रिन र एलो गरी दुबै तरिकाले ग्रेडङ्गि गरिएको भन्दै होटलहरुमा असाध्य राम्रो सुधार आइरहेको बताउनुभयो । बाथरुम, भाँडा माझ्ने ठाउँ स्वच्छ र सफा गरिएको छ । बालश्रमले बेवारिसे बच्चाहरुको संरक्षण भएको उनीहरुले वात्सल्य पाएका र पढाइमा पनि राम्रो व्यवस्था भएकोले बालश्रमलाई नयाँ ढङ्गले सोच्नु पर्ने बताउनुभयो ।
लुम्बिनी फलफूल तरकारी थोक व्यवसायी संघका अध्यक्ष बाबुराम भुसालले फलफूल तथा तरकारी क्षेत्रमा मूल्यदेखि गुणस्तरको समस्या भएको बताउनुभयो ।
उपभोक्ता हित संरक्षण मन्च बुटवल उपमहानगरपालिकाका सचिव लिलाधर लुइँटेलले प्राविधिक क्षेत्रमा निकै ठगी भएको बताउँर्दै त्यो क्षेत्रमा हाम्रो कम ध्यान गएको बताउनुभयो । हामी त्यतातिर पनि जानुपर्छ भन्दै ध्यान तान्नुभयो ।
उपभोक्ता विज्ञ भक्तबहादुर केसीले बजार कन्ट्रोल गर्न धेरै काम गर्न बाँकी रहेको चर्चा गर्दै सरकारी प्रयाश कमजोर रहेको बताउनुभयो ।
उपभोक्ता हित संरक्षण मन्चका केन्द्रीय सदस्य ऋषि आजादले मानिस, प्राणी र वनस्पतिमा दानवीय शूष प्रवृत्ति हुन्छ भन्दै हाम्रो पारिस्थितिक प्रणाली बलियाले कमजोरलाई खाने र शोषण गरेर बाँच्ने क्रूर नियतिमा अडिएकोले यसलाई सुधार गर्नुपर्ने बताउनुभयो । जसले शोषण गरेर जति धेरै संग्रह गर्छ त्यो त्यति नै हृष्टपुष्ट धनी पनि हुन्छ । त्यसैले यस शक्तिशाली राष्ट्र, मनिसको शोषणबाट कमजोर राष्ट्र र व्यक्ति परिवारलाई बचाउन र न्यायसंगत रुपमा समाज सन्चालन गर्न उपभोक्तावादको स्थापना भएको हो । गुणस्तरीय वस्तु र सेवाको व्यवस्थापनबाट शोषणरहित समाज बनाउँदै समाजवादमा जान सकिने हुँदा हामीले यो क्षेत्रमा काम गर्न थालेका हौं भन्नुभयो ।
प्रदेश अध्यक्ष तेजकुमार पाठकले प्रत्युत्तरमा सबै गाउँ नगरपालिकाले ऐन बनाउन जरुरी भन्नुभयो । प्रदेशले व्यापार तथा व्यवसायिक ऐन बनाएको छैन । मुलुकभर बल्ल करिव चालीस गाउँनगर पालिकाले ऐन बनाएर अनुगमन गरिरहेका छन् । हाम्रो प्रदेशमा अझै पनि केही जिल्ला बाँकी छन् । गाउँ नगरपालिकामा सोंचेजत्तिको प्रगति भएको छैन ता पनि अहिले रुपन्देही जिल्लाका देखिएको उत्साहजनक उपलब्धिले हामी निकै उत्साहित भएका छौं ,भन्नुभयो । उपभोक्ता हित संरक्षण मञ्च प्रदेश कमिटीले निरन्तर खबरदारी गरिरहेका छौं । अब संगठित रुपमा लाग्नुको विकल्प छैन उहांले भन्नुभयो ।
कार्यक्रम लुम्बिनी प्रदेश उपभोक्ता हित संरक्षण मञ्चका सचिव दुर्गा गौतमको सञ्चालन, उपभोक्ता हित संरक्षण मन्च बुटवल उपमहानगरपालिकाका अध्यक्ष समुद्र जिसी र मोहन पाण्डेको व्यवस्थापन, सरस्वती ढकालको स्वागतमा सम्पन्न भएको थियो ।