बुटवल-रुपन्देहीको देवदहमा आफ्नै शरीरमा आगो लगाएका युवाको मृत्यु भएको छ। देवदहको एक क्वारेन्टिनमा सुरक्षा गार्ड बसेका उनको थप उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार देवदह नगरपालिका वडा नम्बर ७ शित्तलनगर स्थित क्वारेन्टिनमा सुरक्षा गार्ड बसेका २४ वर्षका विपिन बस्यालले शरीरमा मट्टीतेल खन्याएर आगो लगाएका थिए।
इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी प्रतीतसिंह राठौरले युवालाई थप उपचारका लागि पाल्पाको मेडिकल कलेजमा लैजाने क्रममा स्वासप्रश्वासमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल ल्याएको र त्यहीँ मृत्यु भएको लुम्बिनी टाइम्सलाई बताए।
आत्मदाहको प्रयास गरेका युवाको बिहान देवदह मेडिकल कलेजमा उपचारका लागि भर्ना गरिएको थियो ती युवाले राति करिब ३ बजे आफ्नै शरीरमा मट्टीतेल खन्याएर आत्मदाहको प्रयास गरेका थिए।
देवदह वडा नम्बर ५ मितेरीटोल घर भएका विपिन कोरोना भाइरसको महामारी फैलिएसगै वडा नम्बर ७ शित्तलनगर स्थित मगर संघको भवनमा बनाइएको क्वारेन्टिनमा सुरक्षागार्डको काम गर्दै आएका थिए।
प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।