रुपन्देही । अन्तराष्ट्रिय बालिका दिवस आज बुटवलमा मनाइएको छ ।
‘अब हाम्रो पालो हाम्रो अधिकार, हाम्रो भविष्य’ भन्ने नारा सहित किशोरी अधिकार मञ्च रुपन्देहीको आयोजना तथा ओरेक नेपाल, सञ्चारिका समूह, माहुरी होम, युएनएफपिए लगायतका संस्थाकोे समन्वयमा बुटवलमा कार्यक्रम गरी दिवस मनाइएको हो । कार्यक्रममा रुपन्देही सहित विभिन्न जिल्लाका बालिका तथा किशोरीहरु सहभागी भएका थिए ।
कार्यक्रममा कपिलवस्तुुकी सुन्दरी कुर्मीले तराइमा दाइजो प्रथाका कारण छोरी जन्माउन नचाहने र जन्माए पनि हेला हुने गरेको बताउनुभयो ।
लुम्बिनी साँस्कृतिक नगरपालिकाकी सिता हरिजनले प्रदेश सरकारले ११। १२ पढ्ने छात्रालाई मात्रै नभइ विद्यालय तहमा पनि आर्थिक अभाव भएकालाई पढ्न पाउने वातावरण बनाइदिन आग्रह गर्नुभयो ।
मर्चवारी गाउँपालिकाकी उर्मिला अग्रहरीले विवाहको निम्ता मान्न जाँदा पनि कतै बालविवाह भइरहेको छ की भनेर हेक्का राख्नुपर्ने धारणा राख्नुभयो ।
रुपन्देहीको ओमसतीयाकी सोनम कुर्मीले जातका आधारमा नभइ वर्गका आधारमा छात्रवृत्तिको व्यवस्था गर्न माग गर्नुभयो ।
तिलोत्तमाकी लक्ष्मी गुप्ता, एलेक्स पाण्डे, मनिषा ज्ञवाली, सुनिता हरिजन, गुञ्जा थारु लगायतले बालिका तथा किशोरीहरु सुरक्षित भएर बाँच्न पाउने वातावरण सृजनाका लागि सरकारसँग आग्रह गर्नुभयो ।
किशोरी अधिकारकर्मी बबिता विकले बालिकामाथि हुने हिंसाका घटनामा कमी नआएकाले यसलाई रोक्न सम्बन्धित निकायले प्रभावकारी योजना बनाएर कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशको आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयका सचिव कोमलप्रसाद धमलाले छोरीलाई हेर्ने समाजको दृष्टिकोण केही परिवर्तन भए पनि विभेद अझै कायमै रहेको बताउनुभयो । “पहिलेको तुलनामा धेरै फरक छ । पहिले छोरो नभएकामा दुःख मान्ने समाज थियो भने छोरी नभएकामा दुःख मान्ने हामी छौँ । ” हिंसा भइहालेमा तत्काल प्रतिकार गर्न आग्रह गर्दै उहाँले दरिलो आत्मविश्वासका साथ अघि बढन बालिकाहरुलाई आग्रह गर्नुभयो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिपकप्रसाद नेपालले समाजमा रुढिवादी परम्पराका कारण छोरा र छोरीमा असमानता कायमै रहेको बताउनुभयो । ग्रामिण भेगमा छोरालाई सामुदायिक र छोरालाई नीजि विद्यालयमा पढाउने प्रचलन र तराईमा बालविवाह र दाइनजोप्रथाको समस्या रहेकाले सामाजिक रुपान्तरण आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा अभिभावक संघ रुपन्देहीका उपाध्यक्ष नित्यानन्द ज्ञवालीले बालिका तथा किशोरीहरुले नै परिवारलाई सचेत बनाउने काममा भूमिका खेल्नुपर्ने बताउनुभयो ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक प्रकाश खत्रीले घर परिवार तथा आफन्तबाटै बालबालिकामाथि हिंसाका घटना हुने गरेको बताउनुभयो । परिवारबाट भएका घटना बालिकाले अरुलाई बताउन समेत नसक्ने हुँदा मानसिक समस्या झेल्नुपरेको र अन्ततः डिप्रेसनका कारण ज्यान गुमाउनु पर्ने परिस्थिती आउने उहाँको भनाइ छ ।
कार्यक्रममा मधेश मानव अधिकार गृहका अध्यक्ष प्रेमचन्द जैसवाल, कार्यकारी निर्देशक लक्ष्मी श्रेष्ठ, सञ्चारिका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोल लगायतले बालबालिकाको अधिकार संरक्षणका लागि तिनै तहका सरकार जिम्मेवार हुनुपर्ने धारणा राख्नुभयो ।