भैरहवा–रुपन्देही प्रहरीले संगठनको उद्देश्य र लक्ष्यविपरीत काम गर्ने प्रहरीलाई कारबाही गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आव २०७६/०७७ मा भ्रष्टाचार, संगठनको आचारसंहिता उल्लंघन, कामकारबाहीमा लापरबाही, गैरव्यवसायिक कार्य र अनुशासनहीन काम गरेका ४० प्रहरीलाई कारबाही गरेको हो।
कार्यालयले गलत काम गर्नेलाई कारबाही र राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने गरेको छ। जसअन्तर्गत ४० जनालाई कारबाही, १ सय जनालाई पुरस्कृत र एक सय अठार जनालाई बढुवा गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरिक्षक तथा प्रवक्ता खड्ग बहादुर खत्रीले बताए।
कार्यालयका अनुसार गत आर्थिक वर्षको सो अवधिमा एक प्रहरी निरिक्षक, ५ प्रहरी नायब निरिक्षक सहित ४० प्रहरीलाई कारबाही गरिएको छ। २ प्रहरी जवान र एक प्रहरी हवल्दार गरी ३ जनालाई सेवाबाट नै हटाईएको छ भने २ प्रहरीलाई कारबाही स्वरुप ग्रेड घटुवा गरिएको छ।
त्यस्तै ४ प्रहरीलाई निलम्बन, १५ जनालाई नसिहत, २ जनाको पदोन्नति रोक्का, १३ जनालाई सख्त चेतावनी र १ जनालाई कारबाही स्वरुप तलब कट्टी गरिएको छ। गम्भीर किसिमको भ्रष्टाचारमा संलग्नलाई नोकरीबाट हटाउने तथा बर्खास्तीको कारबाही हुने गरेको छ। कारबाहीमा पर्नेहरुलाई बढुवा र पदोन्नतिमा असर पर्छ। कारबाही पर्नेमध्ये सबैभन्दा नसिहत, सख्त चेतावनी र निलम्बनमा पर्ने गरेका छन्।
सय प्रहरी पुरस्कृत, ११८ प्रहरीको बढुवा
प्रहरी संगठनले गलत काम गर्नेलाई कारबाही मात्र नगरी राम्रा काम गर्नेलाई पुरस्कृत पनि गर्दै आएको छ। संगठनले उत्कृष्ट कार्य गरेबापत जिल्ला प्रहरी कार्यालय रुपन्देही अन्तर्गतका प्रहरी प्रमुख सहित १ सय जनालाई पुरस्कृत गरेको छ।
कार्यालयका अनुसार एक प्रहरी उपरिक्षक, २ प्रहरी नायब उपरिक्षक, २१ प्रहरी निरिक्षक, १० जना प्रहरी नायब निरिक्षक, १४ प्रहरी सहायक निरिक्षक, १४ प्रहरी हवल्दार, ३७ प्रहरी र एक प्रहरी कार्यालय सहयोगीलाई पुरस्कृत गरेको छ। उनीहरुलाई नगद सहित पुरस्कृत गरिएको हो।
त्यस्तै एक वर्षको अवधिमा जिल्ला प्रहरी कार्यालय मातहत रहेका एक सय अठार प्रहरीलाई बढुवा गरिएको छ। विभिन्न समयमा गरी २ प्रहरी निरिक्षक १४ प्रहरी नायब निरिक्षक १७ प्रहरी सहायक निरीक्षक र ८५ प्रहरी हवल्दारको बढुवा गरिएको हो।
कार्यालयको प्रस्तावमा प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा अन्तर्गत प्रहरी महानिरीक्षकको निर्णय अनुसार पदोन्नति हुने गरेको छ। पदोन्नति भएका सबैलाई जिल्ला प्रहरी कार्यालयले दर्ज्यानी चिन्ह प्रदान गर्ने गरेको छ।
हरेक महिना उत्कृष्ट प्रहरी अवार्ड
रुपन्देही जिल्लामा खटिएर उत्कृष्ट कार्य गर्ने प्रहरीलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले महिनैपिच्छे पुरस्कृत गर्दै आएको छ। प्रहरी उपरिक्षक हेम कुमार थापाले जिल्लाको कार्यभार सम्हालेदेखि जिल्ला प्रहरी र मातहत कार्यरत प्रहरी कर्मचारीलाई कामको मूल्यांकन गरेर हरेक महिना उत्कृष्ट प्रहरी अवार्ड र पुरस्कार दिन लागिएको हो।
सधै गलत गर्नेलाई प्रहरीलाई कारबाही गर्नु मात्र नभई उत्कृष्ट काम गर्नेलाई पुरस्कृत गरेर पनि सुधार ल्याउन सकिन्छ भनेर प्रोत्साहन स्वरुप यो अवार्ड सुरु गरेको थापाले बताए।
ठूलो परिमाणमा लागूऔषध बरामद गर्ने, संगठित प्रकृतिको अपराधको अनुसन्धान तथा प्रहरी कार्वाहीमा प्रभावकारी भूमिका निर्वाह गर्ने, विध्वंसात्मक गतिविधिमा संलग्न व्यक्तिहरुलाई पक्राउ गर्ने, आदेश–निर्देशनको पालना गर्ने, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रहने, आम सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति दिने, कर्तव्य ज्यान वा पुराना प्रतिवादीहरुलाई पक्राउ गर्न सहयोग पुर्याउने उत्कृष्ट प्रहरीलाई सम्मान गर्ने गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक हेम कुमार थापाले बताए ।
‘प्रहरीको कदर स्वरुप प्रदेश ५ को रुपन्देहीबाट यो अवार्डको सुरुवात गरेका छौं, अवार्ड सुरुवात गरेसँगै रुपन्देही प्रहरीमा धेरै परिवर्तन आएको छ’–थापाले भने-अवार्डले प्रहरी बीच कामको प्रतिस्पर्धात्मक विकास, मनोबल बढ्नुका साथै चेकजाँचमा दुरुस्तता, सबै प्रहरी सूचनामा अपडेट पनि हुने गरेको पाएका छौ यसले सकारात्मक उर्जा मिलेको छ।'
रुपन्देही प्रहरीले हाल सम्म उत्कृष्ट प्रहरीको रुपमा ५ जना प्रहरीलाई सो अवार्ड प्रदान गरेको छ। विश्वव्यापी कोरोना भाइरसको जोखिमले हाललाई सो अवार्ड स्थगित गरेपनि प्रहरीहरुको मुल्याङकन भइरहेको उनले बताए।
असोजबाट सुरुवात गरिएको सो सम्मानबाट अहिले सम्म प्रहरी चौकी कालीदहमा कार्यरत प्रहरी जवान नारायण खत्री, इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी हवलदार कृष्ण सिंह ओली, प्रहरी चौकी ओडवलियाका प्रहरी सहायक निरिक्षक जीतेन्द्र राय यादव, प्रहरी चौकी श्रवण पथका प्रहरी जवान भोजराज गौतम र इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी सहायक निरिक्षक नुराराज सारुलाई नगद सहित अवार्ड प्रदान गरिएको छ।
सर्वोत्कृष्ट हुने प्रहरीलाई नगद सहित पुरस्कृत गरी फोटो सहित उत्कृष्ट कार्यको विवरण कार्यालय परिसरमा सबैले देखिने गरी अर्को अवार्ड नहुँदासम्म राखिदै आएको छ।