बुटवल । लैङ्गिक हिंसा नियन्त्रणका लागि सामाजिक सचेतना र आर्थिक आत्मनिर्भरतामा जोड दिनुपर्ने आवश्यकता औँल्याइएको छ ।
लैङ्गिक हिंसाविरुद्धको १६ दिवसीय अभियानका अवसरमा फ्री मिडिया नेटवर्क रुपन्देहीको आयोजना तथा नेपाल पत्रकार महासंघ रुपन्देहीको संयोजनमा बुटवलमा गरिएको अन्तरक्रिया कार्यक्रमका वक्ताले स्थानीय पालिकाले निति कार्यक्रम मार्फत समुदायका व्यक्तिलाई हिंसा विरुद्ध सचेत बनाउने र बेरोजगारलाई रोजगारी सृजना गर्न सके हिंसा कम हुने बताउनुभयो ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले हिंसा नियन्त्रणका लागि महिलालाई आयआर्जनसङग जोड्नुपर्ने बताउनुभयो । उहाँले स्थानीय तहबिचको समन्वयमा नीति तथा कार्यक्रम तय गरेर महिलामैत्री नगर बनाउनुपर्ने धारणा राख्नुभयो ।
बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले शिक्षा र आर्थिक रुपमा समानता भए कसैमाथि हिंसा नहुने बिचार राख्दै सबैलाई आय आर्जनसङ्ग जोड्नुपर्ने बताउनुभयो ।
लिङ्गका आधारमा कसैलाई पनि विभेद गर्न नहुने धारणा राख्दै उहाँले पीडितको न्यायको पक्षमा सबैले आवाज उठाउनुपर्ने बताउनुभयो । अर्यालले मिडियामा महिलासङ्ग जोडिएका विषयले कम प्राथमिकता पाउने गरेक सुनाउनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी ध्रुब कुवरले हिंसा नियन्त्रणका लागि साझा प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख रबिन्द्र रेग्मीले मदिरा सेवनका कारण सबैभन्दा बढी घरेलु हिंसा हुने गरेकाले उचित मापदण्ड बनाएर मदिरा बेचबिखन गर्ने नीति बनाउनुपर्ने धारणा राख्नुभयो ।
संविधान सभाका सदस्य विनोद पहाडीले दिवसीय कार्यक्रमलाई प्रभावकारी बनाउन सकेमात्रै परीणाम देखिने बताउनुभयो ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै पत्रकार महासंघका सल्लाहकार इन्दिरा अर्यालले पछिल्लो समयमा राजनितीक हिंसाका साथै अनलाइन तथा समाजिक सन्जालबाट गरिने हिंसा र बिद्यालय र क्याम्पसमा विभिन्न बहानामा शिक्षकले छात्रामाथी गर्ने दुर्व्यवहार बढेको बताउदै यसका बिरुद्ध स्थानीय तहले अभियान चलाउनुपर्ने बताउनुभयो ।
पत्रकार महासंघका अध्यक्ष रामराज पोखरेलले लैङ्गिक हिंसा नियन्त्रणमा मिडियाको भुमिका महत्वपूर्ण हुने बताउनुभयो ।
कार्यक्रममा सञ्चारिका समूहका अध्यक्ष निरा गौतम, प्रेस युनियनका अध्यक्ष रेखा भुसाल, गैर सरकारी सस्था महासंघका सल्लाहकार सुमित्रा शर्मा, इन्सेक प्रतिनिधि रिमा बिसी, दलित महिला संघका अध्यक्ष मनु खड्का लगायतले लैङ्गिक हिंसाका सवालमा संवेदनशील हुन आग्रह गर्नुभयो ।