काठमाडौँ । काभ्रेको बेथानचोक गाउँपालिकाको वडा नं ४ स्थित चलाल गणेशस्थानमा मंगलबार साँझ भएको दुर्घटनामा १७ जनाको मृत्यु भएको छ । साथै १४ जनालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।
काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार साँझ ६ बजेतिर बनेपा नगरपालिका वडा नं ११ बाट ब्रतबन्धका लागि बेथानचोकको वडा नं ५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।
मृतकको संख्याबारे औपचारिक पुष्टि हुन भने बाँकी रहेको उहाँले बताउनुभयो । घटनास्थलमा प्रहरी पुगिसकेको छ
घाइतेहरुको शिर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बसमा सवार कति थिए भन्ने यकिन नभएको र घटनास्थलबाट नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजर समेत प्रयोग गरी उद्धार कार्य जारी राखेको प्रजिअ पाण्डेले बताउनुभयो । अहिलेसम्म १४ जना घाइतेलाई उपचारका लागि अस्पताल पु¥याइएको प्रहरीले जनाएको छ ।